|

तनहुँ : तनहुँको व्यास नगरपालिकाले ‘विविधतायुक्त गाउँ शहर र समृद्ध मेरो व्यास नगर’ बनाउने  दीर्घकालीन सोच लिएर आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सडक, खानेपानी, खेलकुद मैदान, कार्यालय भवन, पार्क निर्माण लगायतका पूर्वाधार, कृषि क्षेत्रको जैविक तथा आधुनिकीकरणमा विकास, पर्यटन क्षेत्रको एकीकृत विका, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको प्रत्याभूति, उत्पादनमुलक उद्योगमैत्री कार्यक्रम र मानव संसाधनको विकास र सुशासनको प्रत्याभूति दिलाउने गरी आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

नगरपालिकाको नगरसभामा आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मीरा जोशीले नगरपालिकाको समतामूलक विकास र समृद्धि हासिल गर्न योजनाको आधारपत्र, नेपाल सरकार, गण्डकी प्रदेश सरकारको समष्टिगत आर्थिक नीति, दिगो विकासको लक्ष्य प्राप्त गर्नका लागि अन्तर्राष्ट्रिय मान्यता र विषयगत गुरुयोजनाका प्रस्तावलाई मार्गदर्शनको रुपमा लिइएको बताइन्।

संविधानले प्रत्याभूत गरेका एकल तथा साझा अधिकारको सूचीको मर्म र मान्यताअनुसार कानूनी रुपमा तर्जुमा गरी संघ, प्रदेश र नगरपालिकाको आन्तरिक राजश्व तथा आयस्रोतका आधारमा सन्तुलित र पारदर्शी नीति तथा कार्यक्रम निर्माण गरिएको उपप्रमुख जोशीले बताइन्। ‘नगरपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, वन तथा वातावरण, पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम निर्माण गरेको छ,’ उनले भनिन् ‘नगरपालिकाले नगरस्तर र वडास्तरमा न्यूनतम एउटा कृषिउपज सङ्कलन केन्द्र निर्माणलाई प्राथमिकतामा राखेको छ।’

कृषि, कृषि उद्यमी, कृषक समूह र कृषि व्यवसायमा आधारित सहकारीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम सञ्चालन गरी नगरपालिकाभित्र उत्पादित वस्तु सहकारीमार्फत बिक्री हुने खसीबोका र दूधमा प्रोत्साहन स्वरुप कार्यविधि बनाएर आर्थिक सहयोग उपलब्ध गराइने नगरपालिकाको योजना छ।

आव २०७६/७७ का लागि एक अर्ब ३८ करोड तीन लाख २५ हजार

व्यास नगरपालिकाले आर्थिक वर्ष २०७६/७७का लागि पूँजीगत खर्चतर्फ ६० करोड १६ लाख ४६ हजार र चालु खर्चतर्फ ७७ करोड ८६ लाख ७९ हजार गरी एक अर्ब ३८ करोड तीन लाख २५ हजार रुपैयाँ बजेट विनीयोजन गरेको छ।

नगरपालिकाले सडक र नालातर्फ नगरस्तरीय आयोजनाहरु र वडास्तरीय आयोजनाका निम्ति २७ करोड २३ लाख ६५ हजार विनीयोजन गरेको छ। नगरपालिकाभित्रका केशवटार मार्ग, कलेस्ती मार्ग, माहेन्द्री मार्ग, पराशर रिङरोड, क्यामिन मार्ग, बैरेनी नयाँवस्ती सेवर मार्ग, खड्ककाली मार्ग, तालघरे दुम्सीचौर मार्ग, छाब्दी मार्ग, माथिल्लो भतेरी बैरेनी मार्ग, छिर्कने बेलघारी मार्ग, कमलबारी कर्लुङ, मालेबगर देउराली बुल्दी खोला करिडोर मार्गलाई नगरपालिकाले प्राथमिकतामा राखेर बजेट विनीयोजन गरेको छ।

नगरपालिकाले खानेपानीतर्फ चार करोड ४७ लाख २५ हजार, खेलकुदतर्फ एक करोड ३३ लाख र पर्यटनतर्फ चार करोड ९१ लाख विनीयोजन गरेको छ। कृषि सिञ्चाईतर्फ तीन करोड ४१ लाख ४५ हजार रुपैयाँ विनीयोजन गरी विभिन्न अनुदानका कार्यक्रम समावेश गरिएको छ। शिक्षातर्फ ३८ करोड ६० लाख ३६ हजार, सहकारी प्रवद्र्धनका लागि सात लाख ५० हजार, वित्तीय व्यवस्थापनका लागि १० लाख र उद्योग प्रवर्द्धनका लागि २१ लाख ५० हजार रुपैयाँ विनीयोजन गरिएको छ।

त्यस्तै स्वास्थ्य तथा सरसफाई तर्फ नौ करोड ७६ लाख ७० हजार र वन, वातावरण तथा विपद व्यवस्थापनमा दुई करोड पाँच लाख ५० हजार विनीयोजन गरिएको छ। विभिन्न सामुदायिक भवनका लागि चार करोड १३ लाख, नवीकरणीय ऊर्जा, बत्ती विस्तार एवं व्यवस्थापनका लागि ५२ लाख १० हजार, गाउँनगर साझेदारी कोष सञ्चालनका लागि एक करोड ६४ लाख विनीयोजन गरिएको छ।

दलित उत्थान, आदिवासी जनजाति, अन्य विपन्न वर्ग, अपाङ्गता, मुस्लिम समुदाय, महिला नेतृत्व तथा सीप विकास, ज्येष्ठ नागरिक, लोपोन्मुख सीमान्तकृत वर्ग, बालबालिका, मेलमिलाप केन्द्र एवं न्यायिक समिति प्रवर्द्धनका निम्ति एक करोड ७० लाख विनीयोजन गरिएको छ। दुम्सीचौर स्थित नारेश्वर ताल निर्माणका लागि एक करोड र मादी नदी बहुद्देश्यीय विकास विकास आयोजनाको विस्तृत परियोजना प्रतिवेदनका निम्ति ४० लाख विनीयोजन गरिएको नगरपालिकाले जनाएको छ।

पर्यटन क्षेत्रलाई विशेष महत्त्व

व्यास जन्मभूमि, पराशर ऋषिको तपोभूमि, छाब्दी बाराही मन्दिर, अकला मन्दिर, तनहुँसुर दरबार, गलेखामकोट, कर्लुङकोट, क्यामिन कालिका, शहीद जङ्गलपार्क, मानहुँ, पुलिमराङको संरक्षण र विकास गरी पर्यटकीय क्षेत्रको विकासमा विशेष कार्यक्रम ल्याइने उपप्रमुख जोशीले बताइन्।

पर्यटकलाई दमौलीस्थित मादी नदीमा ताल निर्माण गरी जलविहारको व्यवस्था गर्ने र स्थानान्तरण हुन लागेको प्याराग्लाइडिङलाई व्यास नगरपालिकामा भित्र्याएर यस क्षेत्रको प्रवद्र्धन गर्ने नीति नगरपालिकाले लिएको छ। जीविकोपार्जन र रोजगारीको अवसर वृद्धि गर्न जल पर्यटन, कृषि पर्यटन, शैक्षिक पर्यटन, धार्मिक पर्यटन, खेल पर्यटन, ग्रामीण पर्यटन, सांस्कृतिक एवं प्राकृतिक पर्यटन व्यवसायको विविधकरण तथा विस्तारमा जोड दिने नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए।

भ्रमण वर्ष सन् २०२० लाई ध्यानमा राखी नगरपालिकाको सम्पूर्ण पर्यटकीय सम्पदा समेटिने भ्रमण पुस्तिका प्रकाशन गरी द ग्रेट हिमालय ट्रेलको सवट्रेलको रुपमा बुद्ध शान्ति पदमार्ग (मनाङको तिमाङ गाउँ–दमौली–लुम्बिनी)लाई नक्साङ्कन गरी व्यवस्थित गर्ने योजना छ। नगरपालिकाभित्र सञ्चालन भएका शैक्षिक संस्थाको व्यवस्थापन र गुणस्तर सुधारलाई प्राथमिकतामा राखी नगरपालिकालाई शैक्षिक हवको रुपमा विकासित गरिने नगरपालिकाको योजना छ। नगरभित्रका प्रत्येक वडामा एक/एक नमूना विद्यालयको छनोट गरी नमूना विद्यालय सञ्चालन गर्ने नीति लिएको नगरपालिकाले अन्य विद्यालयमा गुणस्तर वृद्धिका विभिन्न कार्यक्रममार्फत् सहयोग गर्नेछ।

जिल्लास्तरीय दमौली अस्पतालको स्तरोन्नति गर्नका निम्ति प्रदेश सरकारसँग सहकार्य गर्ने नीति नगरपालिकाले लिएको छ । अहिले १५ शैयाको अस्पताललाई न्यूनतम ५० शैयाको बनाउन पहल गरिने भएको छ। अस्पताल स्तरोन्नतिका लागि ३५ रोपनी जग्गा आवश्यक पर्ने भएपनि कूल १६ रोपनी क्षेत्रफलमा अस्पताल रहेको छ।

प्रत्येक वडालाई एक करोड

नगरपालिकाले प्रत्येक वडा कार्यालयलाई पूर्वाधार निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ । वडाले सिफारिस गरेका ठूला पूर्वाधारका आयोजनालाई नगरस्तरीय आयोजनामा राखी विकास गर्ने नीति लिएको नगरपालिकाले आगामी तीन वर्षभित्र सबै वडामा कालोपत्रे मार्ग पुर्‍याउने लक्ष्य लिएको छ।

नगरपालिकाबाट सञ्चालित योजनालाई व्यवस्थित बनाउन ‘एक वडा एक प्राविधिक’को व्यवस्था, नगर यातायात सञ्जाल विकास गर्न र नगर बस सञ्चालन गर्न सम्भाव्यता अध्ययन, काठेपोल विस्थापन गरी स्टिलको पोल व्यवस्थापन गरिने योजना बनाएको छ।

नगरपालिकाले लोकतन्त्र स्थापना र संवद्र्धन गर्ने अभियानमा सहादत प्राप्त गरेका स्व. गोवद्र्धन शर्माको सम्मानमा व्यास नगरपालिका–१० मा गोवर्द्धन शर्मा प्राङ्गारिक जैविक विविधता अध्ययन तथा विस्तार केन्द्र स्थापना गर्ने भएको छ। लोकतन्त्र स्थापनाको क्रममा शहीद भएका महत्वपूर्ण व्यक्तिको सम्मानका निम्ति विभिन्न स्मारक, अध्ययन केन्द्र, मार्ग र अन्य विकास आयोजनाको नामकरण गर्ने नीति छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.