|

काठमाडौँ : केही सातायता काठमाडौँ उपत्यकामा युवतीहरूमाथि शृङ्खलाबद्ध तिखो वस्तुले आक्रमणमा सग्लग्न भएको अभियोगमा प्रहरीले एकजना युकवलाई पक्राउ गरेको छ। 

राजधानीको महाराजगञ्जबाट बिहीबार राति पक्राउ गरिएका युवक हुन् ३० वर्षीय सन्तोष कार्की। उनलाई महानगरीय प्रहरी परिसरबाट खटिएको सादा पोशाकको टोलीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तम सुवेदीले एकजना युवक गएराति पक्राउ परेको पुष्टि थाहाखबरसँग गरेका छन्।

पक्राउ परेका कार्कीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। केही सातायता सिरिञ्ज जस्तो तिखो र धारिलो वस्तुले युवतीहरुको शरीरको तल्लो भागमा आक्रमण गर्ने क्रम बढेको छ। तर आक्रमणमा सिरिञ्ज नै प्रयोग गरिएको भन्ने एकीन भइसकेको छैनन।

काठमाडौँ परिसर प्रमुख एसएसपी सुवेदीले अहिलेसम्म सिरिञ्जबाटै आक्रमण भएको पुष्टि हुन नसकेको बताएका छन्। काठमाडौंसँगै भक्तपुर र काभ्रेपलाञ्चोकमा पनि युवतीहरुमाथि धारिलो र तिखो वस्तुले आक्रमण भएको थियो।

पछिल्लो पटक बनेपामा एक ३४ वर्षीया युवतीमाथि सिरिञ्जबाटै आक्रमण भएको प्रारम्भिक निचोड प्रहरीले निकालेको छ। काठमाडौं उपत्यकामा ५ वटा भन्दा धेरै आक्रमण भएका छन्।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले युवक पक्राउ परेको बताउँदै अनुसन्धान भइरहेकाले यसमा संलग्न अन्यको पनि खोजी भइरहेको जानकारी दिए।

यो पनि : काठमाडौंमा 'सिरिन्ज' आतंक? चिकित्सक र प्रहरीको एउटै स्वर : धारिलो वस्‍तु सिरिन्ज होइन  

बनेपामा आक्रमणमा परेकी युवतीलाई स्वास्थ्य जाँचका लागि टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा ल्याइएको छ। चिकित्सकले पनि अहिलेसम्म सिरिञ्ज आक्रमण भएको पुष्टि हुन नसकेको जनाएका छन्। 

टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार केही दिनअघिदेखि डल्लु, सीतापाइला र स्वयम्भूक्षेत्रबाट आएका पाँचजना महिलाहरुमाथि काँटी जस्तो तिखो वस्तु प्रहार भएको भन्दै उपचार गर्न आएका छन्। 

ती सबै युवतीहरुमा एउटै समयमा एकै खालको वस्नुले शरिरको तल्लो भागमा आक्रमण गरेको पाइएको छ। तर त्यो वस्तु सिरिन्ज नै हो भन्‍ने एकीन नभएको उनले बताए।  सिरिञ्ज आक्रमण भएको नभएको पुष्टि हुन कम्तीमा तीन महिना लाग्ने डा. बाँस्तोलाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.