विप्लवका दुई कार्यकर्ता पक्राउ

|
विप्लव र प्रहरीबीच गोली हानाहान भएको सिसुवाखोलास्थित गाउँ

संखुवासभा : नेत्रविक्रम चन्द विप्लवका कार्यकर्तासँग सोमबार गोली हानाहान भएपछि प्रदेश नं. १ का डिआइजी ठाकुरप्रसाद ज्ञवाली खाँदबारी पुगेका छन्। 

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ होयङ्लामा विप्लवका कार्यकर्तासँग सोमबार बिहान प्रहरीको गोली हानाहान भएपछि डिआइजी ज्ञवाली मंगलबार बिराटनगरबाट खाँदबारी पुगेका हुन्। 

आफूृसँगै केही प्रहरी अधिकृतहरु लिएर खाँदबारी पुगेका ज्ञवालीले सिलिचोङमा भएको गोलीकाण्डपछि विकसित परिस्थितिबारेमा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल र प्रहरी नायव उपरीक्षक मिम लामासहितका सुरक्षा अधिकारीसँग छलफल गरेका छन्। 

नियमित गस्तीमा रहेको प्रहरीको टोली र होयङ्लामा बास बसेका विप्लवका करिब ३० जना कार्यकर्ताको जम्काभेट हुँदा गोली हानाहान भएको थियो । सदरमुकाम खाँदबारीबाट २ दिन पैदल उत्तरमा भएको उक्त गोलीकाण्डपछि नेपाली सेनाका तीनवटा हेलिकोप्टर त्यहाँ उतारिएको थियो। 

सेनाको हेलिकोप्टरले काठमाडौँबा २५–२५ जना जनपथ र सशस्त्र प्रहरी जवान साविकको सिसुवाखोला गाविसमा उतारिएको थियो। स्रोतका अनुसार हेलिकोप्टरले ६ जना नेपाली सेनाका जवान पनि त्यहाँ लगेको थियो । 

अहिले पनि सिसुवाखोला क्षेत्रमा करिब एक सयजना सुरक्षाकर्मीेले गस्ती गरिरहेका छन्। गोली हानाहानपछि बेपत्ता भएका विप्लवका दुई कार्यकर्ताहरु पार्टी नेताहरुको सम्पर्कमा पुगेका छन्। 

दुई कार्यकर्ता पक्राउ

स्रोतका अनुसार गोली हानाहानपछि प्रहरीले विप्लवका दुई कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चैनपुर नगरपालिका–१० का १७ वर्षीय सञ्जम अधिकारी ‘विज्ञान’ र दोर्जी तामाङ रहेका छन्। दोर्जीको ठेगाना खुलिसकेको छैन। 

यसैबीच सोमबारै विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले एक विज्ञप्ति निकालेर बास बसेको ठाउँमा आफ्ना कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै आपत्ति प्रकट गरेका छन्। उनले सरकारले प्रहरी लगाएर दमन जारी राखे प्रतिरोधमा उत्रिन बाध्य हुने चेतावनी सरकारलाई दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.