|

जनकपुरधाम : धनुषाको नगराइन नगरपालिकाको नगरसभा विवादित बनेको छ। नगरप्रमुख प्रमेश्वर यादवले कांग्रेस उपसभापति विमलेन्द्र निधिका बुवा स्वर्गीय महेन्द्र नारायण निधिका नामबाट नगरपालिकाको नामकरण गर्ने प्रस्ताव गरेपछि नगरसभा विवादित बनेको हो।

विवादका कारण असार १० गते नै सुरु भएको नगरसभा अझै सम्पन्न हुन सकेका छैन। बिहीबार बिहान ११ बजे नगरसभाको अन्तिम बैठक बोलाएको थियो। तर, नगरपालिकाको नाम परिवर्तन गर्न बहुमत नपुग्दा फेरि स्थगित भएको छ। अब अर्को बैठक असार २४ गते गर्ने निर्णय गरिएको नगरप्रमुख यादवले जानकारी दिए।

नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख यादवले नगरपालिकाको नाम परिवर्तन गर्ने विषय गम्भीर रहेकाले छलफल गरी मात्र निर्णय लिने भनेर बैठक सारेको बताए। तर नेकपा र समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिले बहुमत नपुग्दा बैठक सारेको बताउँछन्। वडा ८ का अध्यक्ष संजय राउतले जनप्रतिनिधिलाई खरिद गर्ने प्रयास गरेको र असफल भएपछि बैठक सारेको आरोप लगाए।

नगरपालिकाको नाम परिवर्तन गर्न दुई तिहाइ बहुमत चाहिन्छ। यस नगरपालिकामा कुल ५९ कार्यपालिका सदस्य छन्। जसमध्ये करिब ३४ जना भएपछि मात्र नाम परिवर्तन हुन्छ। तर कांग्रेसको मात्र २९ जना छन्। नाम परिवर्तनका लागि ५ जना थप चाहिन्छ। ती ५ जना नेकपा र समाजवादी पार्टीका जनप्रतिनिधि सहमती नभए प्रस्ताव पास हुँदैन।

नगरप्रमुख यादवले आफूसँग बहुमत रहेको दावी गरे। कांग्रेसबाट निर्वाचित मात्र २९ जना छन् नी भन्ने जिज्ञासामा उनले केही बोल्न चाहेनन्। उनले प्रजातन्त्रका लागि महेन्द्र नारायण निधिको ठूलो योगदान रहेको र एउटा विभूती नै भएकोले सम्मानका लागि उनको नामबाट नगरपालिकाको राख्न चाहेको बताए।

यता, नेकपा र समाजवादी पार्टीका जनप्रतिनिधले शहीद दुर्गानन्द झा वा अन्य शहीदको नामबाट नगरपालिकाको नामकरण गर्दा मात्र सहमति जनाउने बताउँछन्। महेन्द्र नारायण निधिको नामबाट नगरपालिकाको नामकरण गर्दा कुनै पनि हालतमा स्वीकार नगर्ने र आन्दोलनमा उत्रने चेतावनी उनीहरूको छ।

गत वर्ष पनि नगरप्रमुख यादवले नगरपालिकाको नाम महेन्द्र नारायण निधि राख्ने प्रयास गर्दा नगरपालिकाको कामकाज ४ महिना अबरुद्ध पारिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.