मुख्यमन्त्री कप आयोजक कमिटीको आकस्मिक बैठक

|

विराटनगर : दुई दिनदेखि परेको अविरल वर्षाका कारण विराटनगरका कतिपय स्थान डुबानग्रस्त बनेको छ। निर्माणाधिन सडक तथा नाला निर्माणको क्रम जारी रहेका कतिपय स्थानमा डुबानका साथै हिलो र फोहोर थुप्रिँदा सहर कुरुप बनेको छ।

वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्रका अधिकांश भित्री सडक तथा बजार डुबानमा परेको छ। सानो वर्षापछि नै जलमग्न हुने विराटनगरमा दुई दिनसम्म परेको वर्षाले आक्रान्त बनाएको हो। विराटनगर–१५, १४, ७ नम्बर वडा तथा कोशी अञ्चल अस्पताल, भित्री सडकहरू डुबानमा परेका छन्।

यस्तै हाइवेभन्दा मुनिका सबै सडकको दायाँ बायाँका भित्री सडक तथा पसल डुबानमा परेको स्थानीयले बताएका छन्। डुबानग्रस्त क्षेत्रमा नगरपालिकाले नाला क्लियर पार्न डोजर परिचालन गरिएको छ। डुबानबाट पीडित बनेका विराटनगर ७ का स्थानीय सन्तन रेग्मीले नगरपालिकाले बेलैमा ध्यान दिन नसक्दा डुबान भएको आरोप लगाएका छन्।

विराटनगर ७ मा रहेको शनिमन्दिरको बिजुली बजार लाइन पूरै डुबानमा परेको छ। चिया पसल, इलेक्ट्रोनिक पसल तथा शैलुन, काठमिललगायतका स्थानमा पानीको ताल बनेको छ। दिउँसो पानी केही घटेको भए पनि बुधबार बिहानी पख २ फिटसम्म पानी जमेको सोही ठाउँका स्थानीय रन्जितकुमार गुप्ताको भनाइ छ।

स्थानीय सरकारले डुबान नहुने कारण खोजेर स्थायी समाधान खोज्नुपर्ने स्थानीय बताउँछन्। डुबानभएपछि डोजर लगाएर पानी खोल्ने र पछि चुपचाप बस्ने बानीका कारण पटकपटक समस्या भोग्नु परेको स्थानीय मोहन न्यौपानेको भनाइ छ।

यता, विराटनगर ७ की वडा सदस्य चित्रकला आचार्यले एडिबीको विकास निर्माणका कारण बजार पसल डुबानमा परेको बताइन्। कतिपय सन्दर्भमा सर्वसाधरणले पनि फोहोरको व्यवस्थापन उचित ढंगले नगर्ने र नालामै फोहोर फ्याँक्दा नाला जाम भएको दाबी उनले गरिन्। विकास निर्माणको काम एकैचोटी नहुने भएको भन्दै उनले यसको समाधान विस्तारै हुने बताइन्।

विराटनगर महानगरपालिकाका प्रमखु भीम पराजुलीले भने डुबानबाट पीडितहरुसँग क्षमा मागेका छन्। ‘विराटनगर निर्माणको अवस्थामा भएको हुनाले, केही असहजता र अफ्ट्यारो स्थिति छ यो समयमा भएको दुःखका लागि म सम्पूर्ण नगरबासीसँग क्षमा माग्न चाहान्छु। तपाईंहरू सबैको सहयोगले यो दुःखको अवस्था लामो समय रहने छैन,’ प्रमुख पराजुलीले सामाजिक संजाल फेसबुकमा स्टाटसमा उल्लेख गरिएको छ। वर्षाका कारण विभिन्न स्थानमा ब्लक भएका नालालाई खुलाउन आफैँ उपस्थित भएर महानगर प्रमुख पराजुलीले डोजर चालकलाई निर्देशन गरेका छन्।

०७४ साल साउन २८ र २९ गते आएको बाढीका कारण विराटनगर जलमग्न बनेको थियो। केशलिया र सिंघीया खोला थुनिएर बजार पसेको बाढीले विराटनगरको एयरपोर्ट एक हप्तालामो समय संचालन हुन सकेको थिएन भने हजारौं सर्वसाधरण विस्थापित भएका थिए। कतिपयको घर खोलाले बगाएको थियो र करोडौं धनसम्पत्ति नष्ट भएको थियो। त्यसपछि पनि विराटनगर महानगरपालिकाले आउनसक्ने सम्भावित बाढी तथा डुबानको समस्या समाधानका लागि कुनै ठोस पहल नगरेको स्थानीय बताउँछन्।

यता, मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा–२०७६ को अन्तिम चरणको लिग र फाइनल खेल भोलि उद्घाटन गर्नको लागि तयारी गरिएको विराटनगरस्थित शहीद रंगशाला जलमग्न बनेको छ। प्रतियोगितास्थल शहीद मैदानमा जमेको पानीको उचित निकास नहुँदा यस्तो दुर्दशा भएको हो। प्रतियोगितालाई नियमति गर्ने नगर्ने भन्ने विषयमा आवश्यक निर्णय लिन आयोजक कमिटीको आकस्मिक बैठक बसेको छ।

मौसम विज्ञान विभागका अनुसार विराटनगरमा गत २४ घण्टामा ४२ मिलिलिटर पानी परेको छ। बुधबार पनि देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली बदली रहने र देशका केहि स्थानमा भारी वर्षाको संभावना रहेको छ। यस्तै बिहीबार र शुक्रबार पनि भारी वर्षाको संभावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.