|

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छायाको रुपमा सीमित हुँदै गएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसदभवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सरकारको छायाको रुपमा सीमित भएको संसदका सभामुखले पनि स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए। प्रतिपक्षी दललाई पेलेर जाने नियत सरकारले राखेको र त्यसैलाई सभामुखले अनुसरण गरेको टिप्पणी उनले गरे। उनले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताए।

उनले भने, 'एकपटक फेरि नेपालको संसद नेपालको सरकारको छायाको रूपमा सीमित रहेको छ। सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न सक्नुभएको छैन। संसदप्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिको भरोसा के रहन्छ? पेलेर जाने रवैया, नियत राख्नुभएको छ। यसले सभामुख दिन प्रतिदिन हाम्रो विश्वास गुमाउँदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ। जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा हाम्रो सहयोग रहदैन। सरकारे यसको सामना गर्न र सभामुख यो बनाउन तयार हुनुपर्छ।'

मंगलबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेका सभामुख सरकारको निर्देशनपछि पछि हटेको दाबी सांसद थापाले गरे। उनले भने 'संसदीय छानविन समिति बनाउने सवालमा सरकार पक्षका सांसदहरले हामी तयार छैनौ भन्नुभयो। कानुनमन्त्रीले तयार छैन भनेपछि उहाँहरुले जे कुरा भन्नुभो सभामुखले त्यही कुरा मान्नुभयो। कम्तिमा हामी एकजना सांसदले कुरा राख्छौ भन्दा कुरासमेत पनि राख्न नदिने । किनकि सरकारवालाको कुरा आज बोल्न पनि नदिने भनिसकेपछि त्यो चाही आदेश पालना गरे जस्तो भयो।'

उनले अगाडि थपे, 'हिजोको बैठकमा मन्त्रीले भन्नुभयो ‘म संसदीय समितिको सामना गर्न तयार छु ।’ सभामुखले भन्नुभयो ‘म पोजेटिभ छु। बनाछु।’ तर त्यसपछाडि उहाँ आज प्रमुख प्रतिपक्षी दल उठ्दै गर्दा संसद चलाउन तयार हुनुहुन्छ। आफैँ पोजेटिभ भएको छानविन समिति बनाउन तयार हुनुहुन्न भनेपछि यो संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैले संसद चलाइरहेको छ?'

उनले सर्लाहीका दुई भिन्नभिन्न घटना सामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविष्यमा लोकतन्त्रलाई नै खतरामा पार्न सक्छ भन्ने मानेर आफूहरूले संसदीय छानबिन समिति गठनको माग गरेको स्पष्ट पारे।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले हरेक कुरामा संसदीय छानबिन समिति गठन हुन नसक्ने प्रतिक्रिया दिए।

कांग्रेस र राजपाका सांसदले सर्लाहीका दुई घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेर उभिइरहेकै बेला सभामुखले बैठकको कार्यसूची अगाडि बढाएपछि सांसदले रोष्टम घेराउ गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.