|

  • मेगराज खड्का

रुकुम : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुरिल्ला पदमार्गको औपचारिक शुभारम्भ गरेका छन्।

जनयुद्धताकाको ऐतिहासिक स्थल रुकुमको चुनबाङ स्थित भेरिडाडा पुगेर प्रधानमन्त्री प्रचडले गुरिल्ला पदमार्ग तथा ऐतिहासिक जनयुद्ध संग्रालयको शुभारम्भ गरेका हुन्।

देशकै कार्यकारी प्रमुख बनेका प्रधानमन्त्री प्रचण्ड जनयुद्धक्रममा जनसेनाको सर्वोच्च कमाण्डर समेत थिए। उनको नेतृत्वमा १२ वष चलेको जनयुद्धताका रुकुम र रोल्पासहित केही जिल्लालाई माओवादीले आफ्नो आधारइलाका मानेको थियो।

जनयुद्धको आधार इलाका चुनबाङ पुगेका प्रचण्डले यहाँको जनताहरुको भावना बुझेर अघि बढ्दा मात्र देशमा आर्थिक समृद्धि र समाजवादको आधार तयार हुने बताए। 

यसअघि माओवादी गुरिल्ला हिडेंको बाटोमा अब आन्तरिक तथा बाह्य पर्यटकहरु हिड्ने उनले बताए। उनले देशकै पर्यटन क्षेत्रमध्ये गुरिल्ला ट्रेल आर्कषणको केन्द्र बन्‍ने दाबी गरे। जनयुद्ध क्रममा प्रचण्डको अध्यक्षतामा बैठक बसेको यहाँको एक घर जनयुद्ध संग्राहलयको रुपमा विकास भएको छ। 

के हो गुरिल्ला पदमार्ग 

गुरिल्ला पदमार्गलाई नेपालको पहिलो युद्ध पर्यटन पदमार्ग हुनेछ। यो जनयुद्धताका माओवादी जनसेनाहरु हिडेंको, सेल्टर बसेको र मुख्य–मुख्य घटनास्थलहरुको हेर्ने र जानकारी लिने पैदल पदमार्ग हो। यो पदमार्गमा सुगम भन्दा अत्यन्त दुर्गम र जंगली क्षेत्रको यात्रा रुट अली बढी छ। त्यसैले गुरिल्ला पदमार्गमा यात्रा गर्नेहरुले जनयुद्धकालमा माओवादी जनसेना र कार्यकर्ताहरुकै जस्तो अनुभव लिन पाउनेछन्।

अमेरिकी खोजकर्ता लियोन अलेञ्जोले नेपालमा सशस्त्र द्धन्द्धताका माओवादीले प्रयोग गर्ने पैदल रुट तथा राज्य पक्षका सुरक्षाकर्मी र माओवादीका लडाकुहरु बिच भिडन्त भएका स्थलहरु तथा त्यस रुटमा भेटिने पर्यटकिय स्थलहरु समेटेको ‘द गुरिल्ला ट्रेक’ नामक पुस्तक सार्वजनिक गरेका थिए। यस पुस्तक सार्वजनिक भएपछि गुरिल्लामार्ग हुदैं हिड्ने पर्यटकहरुको संख्या बढेको थियो। त्यसपछि सरकारले यस गन्तव्यलाई पैदलमार्गका विकास गर्‍यो।

जनयुद्धको प्रचार देखि स्थानीयको आर्थिक विकास
यो पदमार्ग रुकुम, रोल्पादेखि बाग्लुङसम्म फैलिएको छ। यस अन्‍तर्गत धेरै गन्तव्यहरु छन्। सबैभन्दा छोटो पदयात्रा १४ दिनको छ भने सबैभन्दा लामो पदयात्रा २७ दिनको छ। यो पदयात्राका क्रममा जनयुद्धताका जानकारी तथा युद्ध पर्यटन झल्कने ठाउँहरुसँगै हिमाल, जंगल, नदीनाला एवं अन्य मनोरम प्राकृतिक वातावरण अवलोकन गर्न पाइन्छ।

विगत ३ वर्षदेखि नेपाल पर्यटन बोर्ड, प्रकृति संरक्षण कोष र जिल्ला विकास समिति रुकुमको पहलमा पदमार्गको स्तरवृद्धि र विभिन्न प्रचारप्रसारका काम भैरहेका छन्।

पदमार्गको रूट म्यादीको पश्चिम व्यापारिक केन्द्र दरवाङ, ताकम, धारापानी, मुना हुँदै बागलुङको सिमाना ढोरपाटन शिकार आरक्ष, रुकुमको तकसेरा, सिस्ने हिमाल र रोल्पाको सुलीचौरसम्म हुनेछ। द्वन्द्वप्रभावित क्षेत्रका बासिन्दाको आर्थिक स्तर उकास्न यस पदमार्गले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

विदेशी पर्यटकलाई युद्धकालिन अवस्था र विभिन्न जातजातिका संस्कृतिबारे जानकारी गराउन पनि पदमार्ग सञ्चालनमा ल्याइएको पदमार्गका विकास तथा प्रवद्र्धन योजनाकार स्थानीय भरतकुमार शर्माले जानकारी दिए। उनका अनुसार पदमार्गमा अधिकांश मगर बस्ती छन्।

मगर र अन्य समुदायको संस्कृति, प्राकृतिक सम्पदा, हिमश्रृङ्खला, ग्रामीण जीवनशैली, स्थानीयको द्वन्द्वकालीन अनुभव पदमार्गको मुख्य आकर्षण हुन्छ। पदमार्गको प्रचारप्रसारका लागि नक्सा र गाइड बुक यसअघि नै तयार भैसकेको छ। पदयात्रीले धौलागिरी, सिस्ने हिमाल, चुरेण र पुथालगायत हिमाल प्रत्यक्ष हेर्न पाउनेछन्। 

यस्ता छन् प्रमुख आकर्षण 

गुरिल्ला पदमार्ग अन्तर्गत विभिन्‍न २७ गन्तव्यहरु छन्। नेकपा माओवादीले जनयुद्ध सुरु गरेको पहिलो दिन २०५२ फागुन १ गते रुकुमको आठविसकोट गाविसस्थित प्रहरी चौकी कब्जा गरेको थियो। यो ठाउँ अहिले गुरिल्ला पदमार्गमा पर्छ। जनयुद्धताका पहिलो जनकम्यून स्थापना गरिएको रोल्पास्थित जेलबाङ गाँउ पनि पदमार्गमा पर्छ। 

राज्यपक्षबाट ६ जना खत्रीबन्धुको सामुहिक हत्या गरिएको रुकुम पीपलको मेलगैरी, एम्बुस आक्रमण गरि सरकारी सुरक्षा फौजको धेरै क्षति भएको मग्मा, भलाक्चा, कोल, पोखरा, सिस्ने, महत, चौरजहारी, तकसेरा र बाँफीकोट लगायतका ठाउँ पदमार्गमा पर्छन्। 

माओवादीले नेपाल बैंक लिमिटेड शाखा कब्जा गरेको रुकुमकोट, सशस्त्र जनयुद्धको अन्त्य गरि शान्ति प्रकृयामा आउन महत्वपुर्ण भुमिका खेलेको चुनबाङ बैठक आयोजनास्थल  रुकुमको चुनबाङ भेरिडाँडा, त्यहाँ स्थित प्रचण्ड बसेको घर, ऐतिहासिक रोल्पा थबाङ, माओवादीले पहिलो गणतन्त्र एफएम रेडियो प्रशारणमा आएको तिनबैनी लेख, राज्यपक्षबाट ५६ वटा भन्दा बढी गाउँलेको घरमा आगो लगाएको खारागाउँ र रिपिटर टावर आक्रमण स्थल रोल्पा रातामाटा लगायतका स्थान पदमार्गमा पर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.