|

पर्सा : यो वर्षको मनसुन सुरु भएसँगै तीन दिनदेखिको लगातार वर्षाका कारण पर्सामा फेरि एक बालकको ज्यान गएको छ। घर नजिकैको सिंघिया खोलामा आएका दाउरा बटुल्ने क्रममा बालकलाई नदीले बगाएर मृत्यु भएको हो।

नदीले एक किलोमिटर भन्दा पर पुर्‍याइसकेका बालकको उद्धार गरी वीरगन्ज गण्डक अस्पतालमा उपचारका लागि लगिए पनि उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

ज्यान जाने बालक पर्सागढी नगरपालिका वडा नम्बर १ को मेघराज पटेलका १० वर्षीय छोरा निखिल पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए। दुई दिन अगाडि पनि शौच गर्न जाने क्रममा घर नजिकैको नहरमा डुवेर पर्साको वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुरका ६ वर्षीय बालक रोशन साह तुराहको मृत्यु भएको थियो।

लगातारको बर्षाले अहिले पर्साको सुदूर पश्चिममा रहेको ठोरीको सम्बन्ध सदरमुकाम वीरगन्जसँग टुटिसकेको पर्साका स्थानीय प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए।

३ नं प्रदेशको चितवनसँगको सम्बन्ध पनि ठोरी माडी सडकखण्डमा पर्ने एकदर्जन खोलामा शुक्रबार आएको बाडीका कारण सम्पर्क टुटेको स्थानीय बताए। ती सबै खोलामा पुल नहुँदा बाडी आएपछि शुक्रबारबाटै भूसतहबाट ठोरी चारैतर्फ सम्पर्क विहिन भएको ठोरीका स्थानीय प्रेम लामाले बताए।  ठोरीको ओडार र ठुटे खोलामा पुल भएर पनि पुल सञ्चालनमा नआउँदै बर्षात्ले सम्बन्ध विच्छेद बनाइदिएको उनको भनाइ छ। 

ठोरीका ढेडु, ओडार खोला हुँदै जिल्लाका सिंघिया, नवरंगिया, सिर्सिया,  भुताहा खोलामा आएको बाडी नदिको सतहभन्दा माथि आइपुगेको छ। सबैभन्दा प्रभावित हुने ठोरी पछि हालको पटेर्वा सुगौली गाउँपालिकामा पर्ने मोर टोलका बासिन्दा नजिकैको निचुटा गाउँमा सरिसकेको पोखरिया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनियारले बताए।

पोखरिया नगरपालिकाका क्षेत्रमा भने वडा नम्बर १ को वनकटुवामा एक दुसाद परिवारको टाटीले बारेको घर भत्केको, वडा नम्बर ७ को रानीगञ्जमा केही घरमा पानी पस्न थालेको, वडा नम्बर ८ को जगतपुरका रमेश ठाकुरको घर भत्केको र वडा नम्बर २ को जगरनाथपुर नजिकमा रहेको नयाँटोल अरु क्षेत्रभन्दा प्रभावित

भएको नगर प्रमुख रौनियारले बताए। जगतपुरमा रहेका २५⁄३० घर बचाउन सानो सानो तटवन्ध गरे पनि त्यसले समस्या टर्न नसकेको उनको भनाइ छ। बर्षात्मा यो बस्ती बचाउन मन्त्रालयसम्म पनि आफूले पहले गरेको तर अझै सफलता प्राप्त गर्न नसकेको नगर प्रमुख रौनियारको तर्क छ। 

डुवान भएका क्षेत्रहरु मध्ये वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३० लालपर्सामा बाडीको उच्च जोखिम रहेको कारण पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराई र पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर सहितको टोली अहिले प्रभावित क्षेत्रको अनुगमन गर्न उता लागेको छ।

महानगरपालिकाको अन्य क्षेत्रहरुमा जिल्ला प्रशासन कार्यालयमा नै पानी पसेको छ भने आदर्शनगर, रानीघाट, नगवा, गहवा, भिस्वा, राधेमाई मुर्ली, पानीटंकी एरियाका धेरै घरमा पानी पस्न थालेको पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। समग्रमा अहिले सम्म एक बालकको मृत्यु वाहेक बाँकी धनजनको क्षति नभए पनि अधिकांश भूभाग डुवानमा पर्न थालेको उनको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.