|

विराटनगर : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले संविधान संशोधनका विरुद्धमा चलाएको आन्दोलन प्रतिगमनको स्वरुप भएको बताएका छन्। 

संघीय समाजवादी फोरम नेपाल मोरङको शनिबार आयोजित एकता अधिवेशनलाई उद्घाटन गर्दै यादवले एमालेले बुटबलमा आन्दोलन गरेर राजतन्त्र फर्काउने षड्यन्त्र गरेको आरोप लगाए। आफूहरु संसदीय बाटोबाट अगाडि बढ्न खोज्दा एमालेले संसद नै अवरुद्ध पारेर प्रक्रिया रोेकेको उनले गुनासो छ।  

‘हामी सडकमा हुँदा एमालेका साथीहरुले संसदमा आउन आग्रह गर्नुहुन्थ्यो,’ यादवले भने, ‘हामी संसदमा गएका मात्र के थियौं एमालेका साथीहरु सडकमा पुग्नु भयो, संसदबाट भाग्नु भयो।’ 

यादवले एमालेले मधेशी र जनजातिलाई विखण्डनकारी र साम्प्रदायिकताको आरोप लगाएर आफैंले विखण्डनको बिजारोपण गरेको बताए। यादवले आन्दोलनरत दलका भावना र मागहरुलाई सम्बोधन गर्नेगरी संविधान संशोधन गरेमात्र राजनैतिक गतिरोध अन्त्य हुने बताए। 

कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राईले आन्दोलरत  संघीय गठबन्धन लगायतका दलहरुको भावना र मागलाई समेटेर राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए। 

उनले जनताको हितको पक्षमा हुने जस्तो सुकै निर्णय आफूहरुले स्वीकार गर्ने बताए। राईले एमालेले गल्तिमाथि गल्ति गर्दै गएको बताए। उनलेअझै गल्ति नगर्न एमालेलाई सुझाव दिए। 

एमाले प्रतिगामी किल्लामा रुपान्तरित भएको र एकात्मक व्यवस्था फर्काउन लागिपरेको आरोप राईले लगाए।‘एमालेका अध्यक्ष केपी ओली अहिले तुलसी गिरी र किर्तिनिधि विष्टसँग हात मिलाउँदै हुनुहुन्छ,’ राईले भने, ‘यो केका लागि हो?’ फोरम नेपाल मोरङको अधिवेशन भोलिसम्म चल्ने छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.