|

उदयपुरः अविरल वर्षाका कारण उदयपुरमा दुई हजार घर डुवानमा परेका छन भने ४ जना पहिरोमा परी घाइते भएका छन।

जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार त्रियुगा, चौदण्डीगढी, बेलाका नगरपालिका लगायतका क्षेत्रमा डुवान  भएको छ भने उदयपुरगढी गाउँपालिकामा पहिरोमा परी गए राति चार जना घाइते भएका हुन। त्रियुगा नदीको तीन ठाउँमा बाँध फुटेको छ।

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बेलका नगरपालिकाको भागलपुरमा ४०० घर, तपेश्वरीमा २०० घर, चौदण्डीगढी नगरपालिकामा रहेको बेलही बाँध फुट्दा १० घर डुवानमा परेका छन। ‘तपेश्वरीमा डुवानमा परेका २०० घरको उद्धार भइसकेको छ’ उनले भने, ‘उद्धार खोज जारी छ। जिल्लाको कटारी नगरपालिका लगायतका सवै क्षेत्रमा झण्डै २ हजार घर बाढीले प्रभावित बनाएको जानकारी आएको छ।’

४ जना पहिरोमा परी घाइते

उदयपुरगढी गाउँपालिका ४ मा पहिरोबाट पुरिएर ४ जना गम्भीर घाइते भएको जानकारी आएको प्रजिअ खड्काले जानकारी दिए। ‘जानकारी आएसम्म घाइतेलाई जिल्ला अस्पताल गाइघाट ल्याउने तयारी भइरहेको छ’, उनले भने, ‘त्रियुगा नगरपालिकाको कालिखोलामा एक जना बेपत्ता भएको खवर आएकाले खोजीका लागि प्रहरी परिचालन गरिएको छ।’ उदयपुरगढी गाउँपालिकाका सूचना अधिकारी गुणराज श्रेष्ठले उदयपुरगढी गाउँपालिकामा पहिरोमा परी घाइते हुने नाम र उमेर आउन बाँकी रहेको बताएका छन।

पहिरोले बैजनाथ खोला थुनियो

उदयपुरगढी गाउँपालिका ६ धप्परमा पहिरोमा परी दुई घर पूर्ण रुपमा क्षति भएको छ। प्रजिअ खड्काका अनुसार धप्पर छेउबाटै बग्ने बैजनाथ खोला थुनिएपछि एक दर्जन घर विस्थापित भएका छन। ‘खोला पूर्ण रुपमा थुनिएको जानकारी आएको छ’ उनले भने, ‘खोला थुनिएकाले खोल्ने कामको लागि सुरक्षा टोली पठाएका छौं।कुनै पनि मानवीय क्षति भएको छैन।’

उदयपुरगढी गाउँपालिकाका ६ का वडा अध्यक्ष कृष्णबहादुर खत्रीले पहिरोले खोला थुनिएकाले डुवान भएको बताए। ‘खोला थुनिएपछि बस्ती डुवानमा परेको छ’ उनले भने, ‘मानवीय क्षति भएको छैन।’

उद्धार खोजी सशक्त : प्रजिअ खड्का

जिल्लामा रहेका सवै सुरक्षा निकायले खोजी र उद्धार कार्य सशक्त बनाएको छ। प्रजिअ खड्काले उदयपुरको भित्री मधेसमा बाढी धेरै घरमा पसेकाले खोजी र उद्धार कार्य सशक्त बनाएको जानकारी दिए। ‘राहत, खोजी, उद्धारलाई सशक्त बनाएका छौं’ उनले भने, ‘धेरै मानवीय क्षति भएको छैन। धनजनको ठूलो क्षति भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.