|

कपिलवस्तु : प्रदेश ५ का दुई जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ। केन्द्र सरकारको गृहमन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले प्रदेश ५ का कपिलवस्तु र गुल्मी जिल्लामा पहिलो पटक राष्ट्रिय परिचय पत्र वितरण गरिएको हो।

राष्ट्रिय रुपमा पहिलो चरणमा पाँचथरमा परिचय पत्र वितरण गरेको विभागले दोस्रो चरणमा प्रदेश ५ का दुई जिल्लासहित १५ जिल्लामा वितरण सुरु गरेको हो। दोस्रो चरणको कार्यक्रम अन्तर्गत प्रदेश ५ का दुई जिल्लामा मात्रै राष्ट्रिय परिचय पत्र वितरण गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले जनाएको छ।

राष्ट्रिय परिचय पत्रले नागरिकलाई विभिन्न किसिमका सेवा सुविधा उपलब्ध गराउन सहयोग पुर्‍याउने बहुउपयोगी कार्डका रुपमा राष्ट्रिय परिचयपत्र प्रयोग हुने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए। ब्यक्तिको राष्ट्रिय पहिचान पत्र, मतदाता परिचयपत्र, जग्गा जमिन र अन्य सम्पतिको अभिलेखका रूपमा, बैंकिङ कारोवारको अभिलेख, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा परिचय पत्रको उपयोग गर्न सकिने उनको भनाइ छ।

कार्यक्रम सुरु भएका प्रदेश ५ का दुई जिल्लामध्ये कपिलवस्तुमा १० स्थानीय तहमा ८३ वडा रहेका छन् भने ५ लाख ७१ हजारभन्दा बढी जनसंख्या रहेको छ।शुक्रबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा रहेको वितरण गरिएको राष्ट्रिय परिचय पत्र वितरण प्रक्रियाको पहिलो अवसर पाउनेमा जिल्ला समन्वय अधिकारी नारायण खनाल रहेका छन्। यस्तै जिल्ला समन्वय समितिका उपसभापति तारावति चौधरी, कपिलवस्तु नगरपालिकाका उपप्रमुख लक्ष्मी गुप्ता लगायतले पनि परिचयपत्र विवरण भरेका छन्।

फर्म विवरण भर्ने काम सकिसकेपछि २/३ महिनाभित्रै परिचयपत्र प्राप्त गर्न सकिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका कपिलवस्तुका कम्प्युटर अपरेटर शिवकुमार काम्वाङले बताए। यस्तै गुल्मी जिल्लामा १२ स्थानीय तहमा ९३ वडा र दुई लाख ८० हजारभन्दा बढी जनसंख्या रहेको छ। गुल्मीमा पनि परिचय पत्र वितरणको तयारी अन्तिम चरणमा पुगेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताएका छन्।

संरचनागत प्रणालीलाई ब्यवस्थित गर्ने काम हप्तादिन भित्रै सकिने बताउँदै प्रजिअ पौडेलले त्यसपश्चात राष्ट्रिय परिचय पत्र वितरण गरिने जनाए। नेपालमा बस्ने सबै व्यक्तिका वैयक्तिक विवरण राष्ट्रिय तथ्यांक भण्डारमा समाविष्ट गर्ने र जनतालाई प्रवाह गर्ने सेवा सुविधालाई एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधान सहितको प्रणाली विकास गर्ने उद्देश्यका साथ प्रदेश ५ का दुई जिल्लामा परिचय पत्र वितरण प्रक्रिया थालनी गरिएको छ।

प्रदेश ५ का दुई जिल्लासँगै कार्यक्रम सञ्चालनको तयारीमा रहेका अन्य जिल्लामा प्रदेश १ का झापा र सङ्खुवासभा, प्रदेश २ का सप्तरी र महोत्तरी, प्रदेश ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङ्जा, कर्णाली प्रदेशका सल्यान र जुम्ला र सुदूरपश्चिम प्रदेशका अछाम र कञ्चनपुर छनोट भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.