|

ओखलढुङ्गा : मापदण्डविपरीत खनिएका सडकका कारण बस्ती पहिरोको जोखिममा परेका छन्। स्थानीय तहमा मापदण्डविपरीत सडक खनिएकाले ग्रामीण सडकले सुविधासँगै पहिरोको जोखिम बढाएको छ।

पालिका र वडा कार्यालयका साथै बस्तीबस्तीसम्म सडक पु¥याउन प्राविधिक परीक्षण र मापदण्डबिनै सडक खनिएकाले ग्रामीण बस्तिहरु पहरोको जोखिम बढेको हो। घरनजिकै सडक आयो भनेर खुसी भएका स्थानीय पानी पर्न थालेपछि पहिरो जाने त्रासमा रात बिताउन बाध्य भएका छन्।

घरनजिक सडक आउँदा हिउँदमा खुसी भए पनि पानी पर्न थालेपछि पहिरोको त्रासले निद्रा नपर्ने मोलुङ गाउँपालिका–७ का वडाध्यक्ष हेम सुनुवारले बताउँछन्। पोहोर साल वर्षामा पानी पर्दा छिमेकीको घरनजिक खनिएको सडकका कारण पहिरो जाँदा घर छाडेर बारीमा टहरा बनाएर बस्नुपरेको सम्झना गर्दै  लिखु गाउँपालिका–६ की टुकमाया मगरले भनिन्, ‘यो बर्खाको चार महिना कसरी  कटाउने, त्रासैत्रास छ।’ 

स्थानीय तहले बजेटको अधिकांश भाग सडक खन्न विनियोजन गर्दै आएको छ। सडक खन्दा हिउँदमा विकास गरेको देखिए पनि वर्षायाममा विनास निम्त्याउने अवस्था आएको स्थानीय बताउँछन्। ओखलढुंगाका आठै स्थानीय तहले चालू आर्थिक वर्षमा वडा र टोल–टोलमा सडक निर्माणका लागि बजेटको ७० प्रतिशतभन्दा बढी विनियोजन गरेका छन्। 

स्थानिय तहको पुनर्संरचना भएदेखि नै सडक निर्माणमा जोड दिएको पाइन्छ। निर्माण गरिएका सडक जेठसम्म धुलोले घरमा बस्न नसकिने र पानी पर्न थालेपछि पहिरोको त्रासमा बस्नुपर्ने सर्वसाधरणहरुको गुनासो छ। असार र साउनभरि झरी पर्दा सडकबाटै बाढी आएर गाउँ बगाउने अवस्था रहेको नेपाल पत्रकार महासंघ ओखलढुंगाका कोषाध्यक्ष बोधनारायण श्रेष्ठ ले बताउँछन्। 

ओखलढुंगामा सडक निर्माण गरेका कारण गएको पहिरोमा परी गतवर्ष मोलुङ गाउँपालिकाको राँगादिपमा एकै परीवारका तीन जनाको मृत्यु भएको थियो। गत शनिबार मात्रै मोलुङ गाउँपालिकाकैे पात्लेमा आमाछोरीको मृत्यु भएको छ।

सडककै कारण सिद्धिचरण नगरपालिका–५ वर्णालु, मोलुङ गाउँपालिकाका हर्कपुर, प्राप्चा, पात्ले, राँगादिप, लिखु गाउँपालिकाको यसम, गाम्नाङ्गटार, टारकेराबारी, खिजीदेम्बाको खिजिकात,ी खिजीफलाटेलगायत विभिन्न ठाउँका बस्ती जोखिममा रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.