मृतकको संख्या ५०, सिरहाबाट सबैभन्दा धेरै विस्थापित

|

काठमाडौं :  अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। देशका मध्य र पूर्वी भागमा बाढीपहिरो र डुबानले धेरै क्षति गरेको छ।राज्यको उपस्थिति नै नभएको गुनासो आइरहेका बेला बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा झण्डै ५० हजार सुरक्षाकर्मी उद्धार र राहतकार्यमा अहोरात्र खटिरहेका छन्। 

बाढी प्रभावित जिल्लाहरूमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठुलो टोली सक्रिय छ। तीनवटा सुरक्षा निकायका ४६ हजार सुरक्षाकर्मी उद्दारका लागि पहाडदेखि तराईसम्म पुगेका छन्। 

करिब ५० हजार सुरक्षाकर्मी उद्धारमा

२१ जिल्लाका ३२ स्थानमा ८००० सिपाहीं परिचालन गरी उद्धार कार्यलाई तीव्र पारिएको नेपाली सेनाले जनाएको छ।  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार डुबान प्रभावित रौतहट, पर्सादेखि पहिरो प्रभावित भोजपुर, सिन्धुली, डोल्पासम्म पनि नेपाली सेना परिचालित छ।

 यस्तै सशस्त्र प्रहरी बलले पनि आफ्नो ठुलो संख्याको फौजलाई उद्धार र राहतमा खटाएको छ। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठका अनुसार देशका २१ जिल्लामा १० हजार सुरक्षाकर्मी परिचालित छन्।

नेपाल प्रहरीले पनि बाढी, डुबान र पहिरो प्रभावित जिल्लाका विभिन्‍न स्थानमा सबैभन्दा धेरै २७ हजार ८ सय ३० सिपाही परिचालन गरेको प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए।

मृत्यु संख्या ५०

लगातारको बाढीपहिरोले देशभरमा ५० जनाको मृत्यु भएको गृहमन्त्रालयको राष्ट्रिय आपतकाल केन्द्रले जनाएको छ। राष्ट्रिय आपतकाल केन्द्रका अनुसार हालसम्म ५० जनाको मृत्यु भइसकेको छ। ३३ जना बेपत्ता भएका छन्। २९ जना घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा धेरै ललितपुरमा ७ जना छन्। त्यस्तै भोजपुरमा ५ जनाको मृत्यु भएको। ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ।

 खोटाङ, काठमाडौं मकवानपुरमा ३-३ जनाको मृत्यु भएको छ। मोरङ, बारा, सिन्धुली, झापा र धादिङमा २-२ जनाको ज्यान गएको छ। इलाम, सप्तरी महोत्तरी, सर्लाही, रौतहट, पर्सा, पाँचथर, रामेछाप,पाल्पा, डोल्पा र दाङमा १-१ जनाको मृत्यु भएको छ। 

बाढी पहिरोमा १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएको केन्द्रले जनाएको छ। सबैभन्दा धेरै विस्थापित सिरहामा भएका छन्। त्यहाँ ५ हजार, सर्लाहीमा ३ हजार, बारामा १६ सय ६५ मोरङमा ४ सय, रौतहटमा २ सय घरधुरी र पर्सामा १२० घरघुरी विस्थापित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.