|

नामटार : मकवानपुर नामटारका ४७ वर्षीय हरेराम बर्तौलाले आफ्नो दुई विघा जग्गामा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो। त्यसपछि घरको तल्ला थप्‍ने उनको सपना धुजा- धुजा भयो। प्रहरीले उनलाई गाँजाको सट्टा अदुवा खेती गर्न सल्लाह दिए। 

गाँजाबाट राम्रो आम्दानी गरिरहेका बर्तौलाले मन नलागी नलागी अदुवा खेती थाले। तर अदुवाले नसोचेको आम्दानी दियो। उनी अहिले दंग छन्। अदुवा बिक्रीबाट घरमा एक तल्ला थप्‍ने सपना मात्र पुरा गरेनन्, हेटौडामा जग्गा नै किने। 

अहिले बर्तौला निकै खुशी छन्। एक त गैरकानुनी रुपमा गाँजा खेती छोडेर सम्मानजनक काम गर्न पाएकोमा अर्को गाँजामा भन्दा अदुवामा कमाई राम्रो भएकोमा। 
‘कमाई राम्रो हुने भएर गरिहालियो, पछि प्रहरीले गाँजा फाडेर दुख दिएजस्तो लाग्थ्यो’, बतौलाले भने,‘अहिले बल्ल थाहा हो गल्ति गरेका रहेछौं, अहिले खुशी छौ हामीहरु।’ 

गत वर्ष गाँजा खेती फाड्नको लागि प्रहरी टोली पुग्दा गोली हानाहानको स्थिति सिर्जना भएको गाउँ यही हो। प्रहरीले ५२ जनाको टोली नै खटाएर गाँजा फाडेको थियो। गाँजा फाड्नुको साथै प्रहरीले ती क्षेत्रहरुमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरेको थियो। त्यसबेला दिइएको चेतनाले अहिले नामटारवासीको जीवनमा परिवर्तन ल्याएको छ। 

एक वर्षअघि प्रहरीमाथि आक्रमण गर्ने नामटारवासीले एक वर्षपछि जनचेतनामूलक कार्यक्रमकै लागि पुगेको प्रहरी टोलीलाई हार्दिकतापूर्वक स्वागत गरे। कार्यक्रममा भएको सांस्कृतिक कार्यक्रममा त बुढेशकाल लागि सकेका बर्तौलाले धक फुकाएर नाचे पनि। ‘मनमा आनन्द भएपछि रमाइलो गर्न मन लाग्‍ने रहेछ’, उनले भने,‘त्यसैले धक फुकाएर नाचे म पनि।’

नामटारमा मात्र नभई मकवानपुरका कालिकाटार, भार्ता, गोगने, खैरान, डाँडाखर्क गाविसहरुमा पनि गाँजा र अफिम खेती हुने गरेको थियो। अहिले त्यस क्षेत्रमा अदुवा खेती हुन थालेको कालिका उच्च माविका सहायक प्रधानअध्यापक रामप्रसाद कालाखेतीले जानकारी दिए।

‘पहिले गाँउमा यो गैरकानुनी काम हो भनेर सम्झाउने मान्छे थिए, द्वन्द्वको बेला प्रशासन पनि दरिलो थिएन’, उनले भने,‘अर्कोतर्फ कमाई राम्रो भएपछि सबैले गाँजा खेती पेशालाई नै अंगालेका थिए, तर एक वर्षदेखि समय बदलिएको छ।’ 

हुन पनि एक कठ्ठा जग्गामा अरु बाली लगाए पाँचदेखि १० हजार आम्दानी हुन्थ्यो तर गाँजा खेतीबाट एक लाख ५० हजारसम्म आम्दानी हुने भएपछि सबैजना यसैमा आकर्षित भएको उनले बताए।

राज्यको उपस्थिती कमजोर भएको मौका पारेर गाँजा खेती हुने गरेको लागूऔषध नियन्त्रण ब्युरोका डिआइजी जयबहादुर चन्दले जानकारी दिए। ‘सशस्त्र द्वन्द्वको बेला मकवानपुरका छ गाविसलाई गाँजा खेतीको केन्द्र बनाएका थिए’ उनले भने ‘धेरै वर्षदेखि प्रहरी नियन्त्रणको प्रयास गरेको भएपनि गत वर्षबाट बल्ल सफलता मिलेको छ।’

लागूऔषधविरुद्धको जनचेतना मूलक कार्यक्रमका लागि गत बिहिबार नामटार पुगेका डिआइजी चन्दले पहिले प्रहरी देख्‍न नचाहने नामटारवासी प्रहरी चौकी राख्‍न माग गरेको बताए। मकवानपुर गाँजा खेती मुक्त बनाउने अभियानमा उनीहरु नै लागिरहेको पनि उनले जानकारी दिए।

कसरी सुरु भयो?

२०५० सालमा गएको ठुलो बाढीपहिरोले मकवानपुरका यी गाविसहरु पनि प्रभावित हुन पुग्यो। खेतीदेखि घरबार सबै गुमाएपछि यहाँ बासिन्दाहरुको अवस्था नाजुक हुन पुग्यो। 

त्यही बेला भारतबाट आएका मानिसहरुले उनीहरुलाई गाँजा खेती गर्ने सल्लाह दिए। भारतबाट आएकाहरुले नै गाँजाको विउ दिए। उनीहरुले सोझा गाँउलेलाई  खेती गरौं राम्रो हुन्छ, धेरै फाईदा हुन्छ भनेर प्रलोभनमा पारेको स्थानिय चम्पकलाल गुम्बाले बताए। 

‘उनीहरुको कुरामा लागेर पहिलो पटक गाँजा खेती गरे, साउनमा लगाएको गाँजा माघ महिनामा आएर उठाए’, उनले भने,‘उत्पादन राम्रै भयो, कमाई पनि मनग्गे भएपछि म जस्तै स्थानीयवासी हौसिए, १० वर्षसम्म यही खेती गरियो।’ 

उत्पादन भएको गाँजा तस्करहरुले एक भाग लिने र दुई भाग स्थानीयलाई नै दिने गर्दथे। स्थानियको दुई भाग पनि उनीहरुले नै किनिदिने भएपछि स्थानियवासीहरुलाई बजार खोज्‍न पनि पर्दैन थियो। 

सुरुका वर्षमा तस्करले एक किलो गाँजाको १ हजार रुपैयाँसम्म मुल्य दिए, बिना लगानी गाँजा खेती गरेकै भरमा लाखौं रकम आउने भएपछि स्थानीयले अन्य बाली नलगाएर गाँजा नै लगाए। 

कहाँ पुग्थ्यो गाँजा?

मकवानपुरको यी छ वटा गाविसमा उत्पादन भएको गाँजा र अफिम नेपालमा खपत नभई सुरुमा भारत पुग्थ्यो। भारतबाट युरोप सप्लाई हुने गरेको लागूऔषध नियन्त्रण ब्युरोका डिआइजी जयबहादुर चन्दले जानकारी दिए।

प्रहरी प्रशासनको उपस्थिती नभएपछि मौलाएको गाँजा चरेश बनाएर भारत लाने गरिएको पालुङका पत्रकार प्रताप विष्टले जानकारी दिए। उनका अनुसार मकवानपुरका उत्पादन भएका गाँजा र अफिम मनोहरीबाट पर्सा वन्यजन्तु आरक्षणको बाटो हुँदै भारतको सुवर्णपुर सजिलैसँग पुग्‍ने गरेको थियो।  

गाँजाको पोथी बोटमात्रै उपयुक्त

गाँजाको बीउ रोपेपछि केही समयपछि त्यसमा भाले र पोथी बोट उमर्ने गर्दछ। पोथी बोट मात्र चरेशको लागि उपयुक्त हुन्छ। भाले बोटमा धेरै दाना भएका कारण, गाँजा राम्रो नहुने भएका कारण भाले बोट मारेर पोथी बोटमात्र राख्नु पर्ने हुन्छ। भाले बोटले पोथी बोटलाई पनि असर गर्ने भएकोले भाले बोट फाल्न पर्ने हुन्छ। 

साउन लगाएको गाँजा हुर्कदै जादा बिचमा आएर भाले पोथी छुट्याउनु पर्ने हुन्छ, त्यो काम गर्न नेपालीले नसक्ने र भारतीयले नसिकाउने, भोलेपोथी छुट्याएकै भरमा मिस्त्रीले एक भाग पाउने उनीहरुको सर्त हुने गरेको स्थानिय चम्पकलाल गुम्बाले बताए।

यो काम भारतीयहरुले आफै आएर गर्ने गर्दथे। ‘भाले र पोथी बोटमा फरक के हुन्छ भनेर पनि उनीहरुले सिकाएनन,' उनले भने ‘उनीहरु आफै आएर भाले-भाले बोट छानेर उखेल्ने गर्थे, हामीले त जानेनौं।’

मकवानपुरकै तीन सय जेलमा

२०५० सालदेखि शुरु भएको गाँजा र अफिम खेतीमा संलग्‍न करिब तीन सय जना मकवानपुरवासी अहिले विभिन्‍न जेलमा छन्। गाँजा र अफिम खेती गर्नेदेखि ओसार पसार र बिक्रिवितरणमा संलग्‍न भएकाहरुलाई पक्राउ गरी मुद्दा चलाइएको डिआइजी चन्दले जानकारी दिए। 

‘मकवानपुरकै मात्र लागूऔषध मुद्दामा तीन सय जना विभिन्‍न जेलमा छन्’, उनले भने– ‘नामटार गाविसका मात्र आठ जना परेका छन्।’ 

गाँजा खेती गर्न लगाएर तस्करहरु सम्पूर्ण जिम्मेवारी स्थानियलाई दिएर भारत नै फर्कन्छन्। उत्पादन देखि ओसारपसारमा पनि स्थानीयलाई प्रयोग गर्ने गरेकाले पक्राउ पर्ने स्थानीय व्यक्ति नै हुने गरेको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.