|

म्याग्दी : नदी कटानको दृष्टिकोणबाट देशकै अत्यन्त जोखिमयुक्त बजार मध्येको एक मानिने म्याग्दीको सदरमुकाम बेनी बजार र बेनीसँगै जोडिएको पर्वतको बगरफाँट र पारीवेनी बजारको संरक्षणका लागि तटबन्ध निर्माण भएको छ।

रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले आव २०७५-७६ मा ९ करोडको लागतमा बेनी बजारसहित म्याग्दीका विभिन्न ठाउँमा १३ र जलजला गाउँपालिकामा आठ प्याकेजमा तटबन्ध निर्माण गरेको हो। यी सवै ठाउँमा तटवन्ध निर्माण भइसकेको र सबै काम उपभोक्ता समितिमार्फत भएको रूपाताल संरक्षण एकीकृत विकास परियोजनाका इन्जिनियर मोहनराज आचार्यले बताए।

इन्जिनियर आचार्यका अनुसार म्याग्दीको बेनी र पर्वतको जलजलाततर्फ कालीगण्डकी नियन्त्रणका लागि शुरुमा प्राप्त ५ करोड रूपैयाँ बजेटको काम समयमै सकेर थप ४ करोड बराबरको काम गरिएको  छ।

'बर्खा शुरु हुनुभन्दा अघि नै नदी नियन्त्रणको काम सक्नु पर्ने भएकोले उपभोक्ता समितिमार्फत छोटो विधिबाट लक्ष्यभन्दा बढी काम गर्न सफल भयौँ’, इञ्जिनीयर आचार्यले भने। बेनीबजार संरक्षणका लागि चार प्याकेजमा कालीगण्डकी किनारमा ग्यावियन पर्खाल निर्माण भएको उनले  बताए। विसं २०७५ भदौ २७ गतेको बाढीले कालीगण्डकी किनारमा निर्माणाधीन २५० मिटर पक्की पर्खाल भत्काएपछि नदीको भंगालो बजारतर्फ सोझिँदा बेनीबजार जोखिममा परेको थियो।

इञ्जिनियर विश्वकर्माका अनुसार पहिले निर्माण भएको पक्की पर्खाल संरक्षण र कटान गरेको ठाउँमा ग्यावियन पर्खाल लगाइएको छ। पानीको सतहभन्दा तल र जमिनभित्र एक मिटर तथा बाहिर पाँच मिटर अग्लो पर्खाल बनाइएको बेनीबजार संरक्षण कार्यक्रमअन्तर्गत प्याकेज तीनको उपभोक्ता समितिका अध्यक्ष कुबिर श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.