भक्तिप्रसाद पाण्डेको सङ्‍घर्षयात्रा

|

मैले २०२७ सालमा एसएलसी दिएँ । एउटा जिल्लामा मुश्किलले एउटा मात्र एसएलसी केन्द्र हुन्थ्यो, गुल्मी–अर्घाखाँचीमा त्यही पनि थिएन। यी दुई ठाउँका विद्यार्थीले प्यूठान, पाल्पा वा कपिलवस्तु जानुपर्थ्यो। आफ्नो छनौट अनुसारको ठाउँमा गएर एसएलसी दिन पाइन्थ्यो। आफूले कुन केन्द्रबाट परीक्षा दिने हो, एसएलसीको फारम भर्ने बेला नै त्यो कुरा उल्लेख गर्नुपर्थ्यो। 

विद्यार्थीहरु राजनीतिक रुपमा विभाजित भएर एसएलसी दिन जान्थे। काङ्ग्रेसप्रति आस्थावान् विद्यार्थीहरु पाल्पा वा कपिलवस्तुको तौलिहवा जान्थे। राजनीतिक रुपले प्यूठान उहिल्यैदेखि वामपन्थीहरुको केन्द्र जस्तो थियो। त्यसैले वामपन्थी विचारका विद्यार्थीहरु प्यूठान रोज्थे। पञ्चायत समर्थक विद्यार्थीहरु आफ्नै अनुकूलका ठाउँमा जान्थे। धेरैजसो पञ्चहरु वामपन्थीलाई मन पराउने भएकाले उनीहरु पनि प्यूठानमै जान्थे। एसएलसीको केन्द्र काङ्ग्रेसले कम्युनिस्टलाई दबाएको ठाउँमा परेको छ भने, गार्डहरु काङ्ग्रेसलाई साथ दिन्थे, वामपन्थीको दबदबा भएको ठाउँमा चाहिँ वामपन्थीलाई साथ दिन्थे।

२०२८ सालमा रिजल्ट आयो। म पास भएछु।

एसएलसी पास गरेपछि म पूर्ण रुपले गण्डक ब्युरो अन्तर्गतको कमान्ड कार्यालयमा रहेँ। हाम्रो धेरैजसो काम लुम्बिनी ब्युरोमा पर्थ्यो। यो ब्युरो मध्यकमान्ड अन्तर्गत थियो। ब्युरोको इन्चार्ज मोहनलाल आचार्य हुनुहुन्थ्यो। मध्यकमान्डको इन्चार्ज केशरमणि पोखरेल हुनुहुन्थ्यो। उहाँ पुष्पलालजीको नेतृत्वको नेकपाको केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो।

लुम्बिनी अञ्चल अन्तर्गत अर्घाखाँची सचिव नेत्र पन्थी हुनुहुन्थ्यो भने, गुल्मीको सचिव डिल्लीराज ज्ञवाली। रुपन्देहीको सचिव शायद वामदेव गौतम हुनुहुन्थ्यो। २०२७ सालमै उहाँसँग मेरो भेट भएको थियो।

त्यो बेला टेलिफोन सर्वसुलभ थिएन। अञ्चल ब्युरोले जिल्लासँग संयोजन गर्न कठिन थियो। कुनै सूचना आदानप्रदान गर्नुपर्‍यो भने एक ठाउँबाट हिँडेर अर्का ठाउँ पुग्नुपथ्र्यो। चिठीचपेटाको जमाना थियो। भूमिगत रुपमा काम गर्नुपर्ने बाध्यता थियो।

नेकपामा विभाजन आइसकेको थियो। तर पनि पुष्पलाल समूह नै सबैभन्दा बलियो कम्युनिस्ट पार्टी थियो। यही समूहको अगुवाइमा बारा, पर्सा, रौतहट लगायतका जिल्लामा किसान विद्रोह शुरु भइसकेको थियो। त्यसको रापताप हाम्रोतिर पनि देखिन थाल्यो। हामीसमेत विद्रोहको तयारीमा थियौँ। सामन्त र जमीनदारका भकारी फोरेर किसानलाई धान बाँड्ने अभियानमा लाग्यौँ।

तर, विद्रोहको स्थिति लामो समयसम्म रहेन। जब पुष्पलालजी र बीपीबीच भेट भयो, बीपीले किसान विद्रोहका नाममा काङ्ग्रेस समर्थकमाथि कारबाही गरिएको भनेर आपत्ति प्रकट गर्नुभयो। बीपीले पुष्पलालजीसँग काङ्ग्रेस समर्थकहरुलाई कालो मोसो लगाउने, गाउँ डुलाउने काम रोक्न अनुरोध गर्नुभयो। बीपीसँगको कुराकानीपछि पुष्पलालजी किसान विद्रोह रोक्ने पक्षमा पुग्नुभयो।

पुष्पलालजीले यो कुरा त मान्नुभयो, तर काङ्ग्रेस–कम्युनिस्ट मिलेर पञ्चायतविरूद्ध लड्ने बीपीको प्रस्ताव चाहिँ स्वीकार गर्नुभएन। यसले गर्दा पार्टीभित्र अन्तरविरोध देखिन थाल्यो।

... ...

किसान विद्रोह रोक्ने र काङ्ग्रेससँग सहकार्य गर्ने पुष्पलालजीको नीतिप्रति पार्टीभित्र असन्तुष्टि बढ्दै जान थाल्यो। यसैबीच पूर्वका क्रान्तिकारीहरुले झापा विद्रोहको शुरुआत गरे। जीवराज आश्रित, मोहनलाल आचार्य, नेत्र पन्थी र म मिलेर सल्लाह गर्‍यौ— पूर्वका कोअर्डिनेसन केन्द्र (कोके), रातो झन्डा आदि समूहसँग एकता गरेर एउटै कम्युनिस्ट पार्टी बनाउनुपर्छ।

लुम्बिनी अञ्चलमा पुष्पलाल समूहको बलियो पकड थियो। म कमान्ड कार्यालयमा थिएँ। त्यसैले गुल्मी, अर्घाखाँची, पाल्पातिरका साथीहरुसँग मेरो राम्रो सम्पर्क थियो।

जीवराज आश्रित पनि पुष्पलाल समूहको केन्द्रीय सदस्य हुनुहुन्थ्यो। लुम्बिनीमा केशरमणि पोखरेलभन्दा आश्रितलाई बढी जिम्मेवार मानिन्थ्यो।

हामीले छुट्टै कम्युनिस्ट पार्टी बनाउने सल्लाह गर्‍यौँ। सेना बनाउने निर्णय पनि गर्‍यौँ। सेना बनाउने, तालिम दिने र त्यसपछि मनी एक्सन गर्दै विद्रोहलाई अघि बढाउने टुङ्गोमा पुग्यौँ । सबैभन्दा पहिले फटाहा जमीनदार र खुँखार पञ्चका घरका तमसुक च्यात्ने, पैसा कब्जा गर्ने, ल्याउने र अलिअलि हतियार किनेर सेना निर्माण कार्य अघि बढाउने हाम्रो योजना थियो।

शाही नेपाली सेनाको सङ्ख्या १०–१२,००० भन्दा बढी थिएन। सेनाको उपस्थिति सबै जिल्लामा पनि थिएन। अधिकांश सैनिक ब्यारेक र ठूलाबडाको सुरक्षामा थिए। यस्तो स्थितिमा बलियो विद्रोही सेना निर्माण गर्ने हो भने कब्जा गर्न अप्ठेरो पनि थिएन। हामीलाई लाग्थ्यो— सेना नबनाउनु नै कम्युनिस्ट पार्टीको सबैभन्दा ठूलो कमजोरी हो। कम्युनिस्ट पार्टीले सेना बनाउने हो भने सजिलै राज्यसत्ता कब्जा गर्न सकिन्छ।

हामी विद्रोहको तयारीमा लाग्यौँ।

... ...

अर्घाखाँची सदरमुकाम ठाडा भन्ने ठाउँबाट भरखरै नरपानी सरेको थियो। जिल्ला सदरमुकामा छ–सात जना मात्र प्रहरी हुन्थे। ती पनि बन्दुक समातेर निदाइरहेका हुन्थे। वरिपरि कसैले केही गर्दासमेत चाल पाउन्नथे। उनीहरुसँग पर्याप्त साधनस्रोत थिएन।

हामीले यही स्थितिको फाइदा उठाउन थाल्यौँ। रातिराति सदरमुकामका विभिन्न कार्यालयमा राजतन्त्रविरोधी पम्प्लेट टाँस्न थाल्यौँ। बजारभरि पनि छरिदिन थाल्यौँ। राति कसले पर्चा छरेर गयो, प्रहरीले थाहै पाउन्नथ्यो। प्रहरीले भोलिपल्ट बिहान बजारबाट पर्चाहरु त उठाउँथ्यो, तर आफ्नै कार्यालयमा पनि टाँसिएको छ भन्ने चाहिँ ढिलो गरी थाहा पाउँथ्यो।

२०२९ सालमा लुम्बिनी ब्युरोले जिल्ला सदरमुकामहरु घेराउ गर्ने कार्यक्रम राख्यो। हजारौँको जुलुससहित सदरमुकाम पुगेर हामीले भाषण गर्‍यौँ। अर्घाखाँची सदरमुकाम कब्जा भयो। सीडीओहरु थुनिएर बसे। प्रहरीले केही गर्न सकेन। अर्घाखाँचीमा शाही सेना थिएन।

गुल्मीमा पनि हजारौँको जुलुस निस्कियो। मानिस धेरै भएकाले पुल भाँचियो। त्यति बेला पुलमा रहेका हाम्रा केही साथी बेपत्ता भए। तीमध्ये केही अहिलेसम्मै बेपत्ता छन्।

गुल्मीमा प्रहरीले कार्यक्रम सम्पन्न गर्न दिएन; लाठी चार्ज गरेर हाम्रा साथीहरुलाई थिलथिलो पार्‍यो। पाल्पामा पनि सफलता मिल्न सकेन। माथिल्लो डाँडामा कार्यक्रम गरेर साथीहरु फर्किए। नवलपरासी र रुपन्देहीमा चाहिँ कार्यक्रमै गर्न सकेनन् साथीहरुले।

हामीले सेना निर्माण शुरु गर्‍यौँ। जीवराज आश्रित, नेत्र पन्थी र मैले झापाली समूह र अरु पनि कोको समेटिन सक्छन्, सबैलाई समेटेर एउटै कम्युनिस्ट पार्टी बनाउने सल्लाह गर्‍यौँ। यसको जिम्मेवारी आश्रितलाई दियौँ। केही जिम्मेवारी मोदनाथ प्रश्रितलाई पनि दियौँ।

जिम्मेवारी अनुसार आश्रित र प्रश्रितहरु कम्युनिस्ट केन्द्र बनाउनतिर लाग्नुभयो। हामी सेना बनाउनतिर लाग्यौँ। सेनाको लुम्बिनी अञ्चल कमान्डर मलाई बनाइयो। भाइस कमान्डर कुलबहादुर पुन हुनुभयो। सेनाका लागि जिम्मा पाएका हामीले भर्ती हुने अन्य साथी जम्मा गर्न थाल्यौँ। केही साथीलाई बन्दुकको तालिम दिन शुरु गर्‍यौँ।

हामी शुरुआती चरणमा थियौँ। हामीसँग टोटा र भरूवा बन्दुक थिए; आधुनिक हतियार थिएनन्। पछि केही हतियार खरीदको योजना बनायौँ। मैले गोरखपुरबाट केही कट्टा र गोली किनेर ल्याएँ ।

सेनामा भर्ती हुन चाहने साथीहरुको सङ्ख्या बढ्दै गयो । सत्तरी–असी जना भर्ना भइसकेका थिए । सबैलाई हामीले अञ्चलस्तरीय तालिम दियौँ। तालिम दिनलाई दुई जना गुरूङ प्रौढहरु हुनुहुन्थ्यो । उहाँहरु मुद्दा लागी वारेन्ट पनि भएर भूमिगत बस्न लुम्बिनीका पहाडी जिल्लामा पुग्नुभएको रहेछ । आफ्नो परिचय लुकाउनुभएकाले उहाँहरुको वास्तविक नाम हामीले थाहा पाएनौँ। “हामी पर्वतको फलेवासका हौँ” भन्नुहुन्थ्यो उहाँहरु। नाम रामबहादुर र मनोहर गुरूङ हो भनेर आफ्नो परिचय दिनुभएको थियो। वास्तविक नाम अर्कै पो थियो कि ? रामबहादुर चाहिँ मलाया सेनामा भर्ती भएर बीचैमा फर्किनुभएको रहेछ।

तालिम विभिन्न समूह बनाएर दिइयो। उहाँहरुले हतियारका अलावा बक्सिङ, लकडी हात (लौरो चलाउने), इँटा फोर्ने, कराते, तारो हान्ने जस्ता शारीरिक तालिम पनि दिनुभयो। अर्घाखाँचीका कुर, चुत्राबेसी, नुवाकोट, पानडाँडा, सन्धिखर्क जस्ता क्षेत्रमा कम्युनिस्टहरुको प्रभाव थियो । र, तालिम पनि यिनै ठाउँमा सञ्चालन गरिएका थिए।

तालिमका लागि हतियारको कमी थिएन। गाउँघरमा भरूवा बन्दुक प्रशस्तै हुन्थे । भरूवा बन्दुकबाट तारो हान्न सिकाइयो । गोरखपुरबाट मैले किनेर ल्याएका कट्टाबाट पनि तालिम दिइयो।

त्यो इलाकावरिपरि हाम्रो कप्रभाव विस्तार हुँदै गयो। सेना निर्माण र सैनिक तालिमसमेत लिन थालेपछि हामीलाई कसले छुन सक्ने? पहिलेपहिले हेप्ने काङ्ग्रेसीहरु अब हामीबाट लुकेर हिँड्न थालेका थिए।

माघे सङ्क्रान्ति, ठूलो एकादशी जस्ता पर्वमा मेला लाग्थ्यो। मेलामा एउटा गाउँका काङ्ग्रेस र अर्को गाउँका कम्युनिस्टबीच लडाइँ हुन्थ्यो। झगडाका लागि केही न केही निहुँ निकालिहाल्थे। पछिपछि राजनीतिक रुपमा पनि लडाइँ हुन थाल्यो। गाउँगाउँबीच राजनीतिक कारणले लडाइँ!

पञ्चायती शासन थियो। काङ्ग्रेस र कम्युनिस्टबीचको झगडामा पञ्चहरु रमाउँथे। पञ्चायतविरोधीहरु आपसमा लड्नु पञ्चायतका लागि फाइदाको कुरा पनि थियो। तर, लडाइँले गाउँगाउँमा धु्रवीकरण बढाएको थियो। जनता कि काङ्ग्रेसतिर, कि कम्युनिस्टतिर ध्रुवीकृत हुनु पञ्चायतविरोधी राजनीति गर्नेहरुलाई पनि फाइदाकै कुरा थियो।

त्यस्तै लडाइँ एक पटक सन्धिखर्कमा भयो।

सन्धिखर्कमा मेला लागेको थियो। काङ्ग्रेसीहरु योजना बनाएर निहुँ खोज्दै आए। हाम्रा तर्फ धनबहादुर पहराई, शशिधर आचार्य लगायत थियौँ। काङ्ग्रेसीहरु जानाजान हामीलाई धकेल्दै हिँड्न थाले। निहुँ खोज्ने तरीका थियो यो।

हामीले सैनिक तालिम लिन थालिसकेकै थियौँ । यस्तोमा काङ्ग्रेसीहरु नै निहुँ खोज्दै आउँछन् भने हामी किन पछाडि हट्ने?

“ए भाइ, देख्दैनौ?” हामीलाई धकेल्ने एक जनालाई भन्यौँ।

यति भन्दै एकाएक मुक्का हानाहान थालिहाल्यौँ। शुरुमा त उनीहरुले हामीलाई पिटे; लघारे। तर, हाम्रो टिम केन्द्रीकृत भएपछि हामीले उनीहरुलाई लघार्न थाल्यौँ। गोद्दैगोद्दै डाँडापारि खेदायौँ।

सन्धिखर्कको मेलामा काङ्ग्रेसीहरुलाई धूलो चटाएपछि हाम्रो मनोबल अझ बढ्दै गयो। आफ्नो सेना भएपछि जे पनि गर्न सकिँदो रहेछ भन्ने अभिमान पलाउँदै गयो।



सोमबार विमोचित 'चाचाः भक्तिप्रसाद पाण्डेको सङ्‍घर्षयात्रा' पुस्तकको अंश। माओवादी केन्द्रका सांसद पाण्डेको कात्तिक अन्तिम साता निधन भएको थियो। माओवादीभित्र चाचा उपनामले चिनिने पाण्डेले जनयुद्धकालमा आपूर्ति विभागको पहिले केन्द्रीय सदस्य र पछि ईञ्चार्ज भएर काम गरेका थिए। युद्धका क्रममा पाण्डेले जोखिम मोलेर भारत र अन्य मुलुकबाट पार्टीका लागि स्याटलाइट फोन, हातहतियार, गोलीगठ्ठा र अन्य युद्ध सामाग्री भित्र्याएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.