|

डडेल्धुरा : आलु सुपरजोनको कार्यक्षेत्र डडेल्धुरा जिल्लाभरी नै विस्तार गरिने भएको छ। चालू आर्थिक वर्ष २०७६/०७७ बाट आलु सुपरजोनको कार्यक्षेत्र जिल्लाभरी नै विस्तार गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ आलु सुपरजोन, डडेल्धुराले जनाएको छ।

जिल्ला सदरमुकाममा आयोजित ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ आलु सुपरजोन, डडेल्धुराको वार्षिक प्रगति समीक्षा’ कार्यक्रममा उक्त जानकारी गराइएको हो।

उक्त कार्यक्रमा गत आव २०७५/७६ को वार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अनुरुप संचालित कार्यक्रमको सार्वजनिकिकरण तथा वित्तिय प्रगितिको समिक्षा गरिएको थियो। कार्यक्रममा आलु सुपरजोन परियोजना डडेल्धुराका प्रमुख खेमराज जोशीले गत आर्थिक वर्षको प्रगतिबारे जानकारी गराएका थिए।

प्रमुख जोशीकाअनुसार २ करोड ७९ लाख ९० हजार कुल बजेटको २ करोड ६३ लाख १३ हजार खर्च भएको छ। जसमा १ करोड ७३ लाखा विभिन्न कार्यक्रममा किसानलाई अनुदान दिइएको उनले जानकारी दिए। बाँकी रकम प्रशासनिक तथा कार्यलय व्यवस्थापन क्षेत्रमा खर्च भएको बताए।

गत आव २०७५/७६ देखि आलु सुपरजोनको कार्यक्षेत्र विस्तार गरी जिल्ला सदरमुकामाको अमरगढी नगरपालिकाको वडा नं. १, २, ३, ७ र ११, गन्यापधुरा गाउँपालिकाको वडा नं. १, २, ४ र ५, परशुराम नगरपालिकाको वडा नं. ४, ५ र १२, नवदुर्गा गाउँपालिका वडा नं. १  र आलिताल गापाको वडा नं. १, २, ४, ५ र ८ मा कार्यक्रमहरु लागू भएको थियो।

उनले जिल्लाको अजयमेरु र भागेश्वर गाउँपालिकामा पनि यस आर्थिक वर्षबाट आलु सुपरजोनको कार्यक्षेत्र विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।

‘यो आर्थिक वर्षबाट आलु सुपरजोनको कार्यक्षेत्र जिल्लाभरी नै विस्तार गरिनेछ तर नयाँ क्षेत्रमा जाँदा स्थानीय सरकाले आलु पकेटका लागि प्राथमिकता दिएका क्षेत्रलाई समेटिनेछ’ प्रमुख खेमराज जोशीले भने।

दुई सिजन सहजै व्यवसायीक आलु खेती गर्न सकिने, जिल्लामा १ हजार ४ सय ५० मेट्रिक टन क्षमताको शीत भण्डार  हुनु, वर्षे आलुको उत्पादन मार्फत बेमौषमी आलु तराईका जिल्लामा निर्यात गरी अधिक आयआर्जनको सम्भावना रहेको हुँदा डडेल्धुरामा आलु सुपर जोन परियोजना संचालन गरिएका उनले बताए।

आलु सुपरजोनले गत वर्ष आलु चिप्स उद्योग संचालन सहयोग, कस्टम हायरिङ सेन्टरअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, साना सिँचाइ निर्माण सुधार, प्राङ्गारीक मल कारखाना स्थापना सहयोग, भकारो सुधार, भूमिको वैज्ञानिक व्यवस्थापनका लागि बाँझो जमिन व्यवस्थापनलगायतका कार्यक्रम संचालन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.