|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सहमतिको सूत्र पहिल्याउन नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको प्रमुख दलको बैठक यसअघिका बैठक झैँ बिनासहमति टुंगियो

बैठकमा कांग्रेस माओवादीसहितका सत्तारुढ दलले निर्वाचन सुनिश्चित गर्न संविधान संशोधन विधेयक पारित गर्नुपर्ने पुरानै अडान दोहोर्‍याए भने प्रतिपक्षी दलहरुले संशोधन विधेयक देशको हीत विपरीत रहेको तर्क गरे।

तर सत्तागठबन्धनमै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहमतिका तीन सूत्र अघि सारेका छन्।

सभामुखको आयोजनामा भएको प्रमुख ७ दलको बैठकपछि पत्रकारसँग राप्रपाका प्रमुख सचेतक दीलनाथ गिरीले अध्यक्ष थापाले बैठकमा अघि सारेको सहमतिको सूत्र पत्रकारलाई सुनाए।

यस्तो छ थापाको प्रस्तावः

१) संविधान संशोधनमा असन्तुष्ट दलको माग सम्बोधन हुने गरी संविधान संशोधन विधेयकको अर्को खाका बनाउन संयन्त्र गठन गर्ने। प्रतिपक्षी र आन्दोलनरत दलको चित्ता बुझ्ने गरी विधेयक परिमार्जन गर्ने।

२) प्रतिपक्षले संसदमा जारी अवरोध हटाउने। सरकारले निर्वाचन कानुन ल्याउने वातावरण बन्छ। कानुन ल्याएपछि निर्वाचनको आधार तयार हुन्छ।

३) स्थानीय निर्वाचन तत्काल घोषणा गरिहाल्ने। स्थानीय निर्वाचन घोषणा गरेमा दलहरुको ध्यान चुनावमा जान्छ र संविधान कार्यान्वयनको चरण सुरु हुन्छ।

राप्रपाले संविधान संशोधन विधेयक परिमार्जन भए समर्थन गर्ने अडान कायम राखेको छ। 'सत्ता गठबन्धनको तेस्रो घटकसँग मरामर्श नगरी आएको प्रस्तावमा नैतिक रुपमा समर्थन गर्न सकिँदैन। परिमार्जन गरी सबैको सहमतिमा ल्याउनुपर्छ', प्रमुख सचेतक दीलनाथ गिरीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.