|
फाइल फोटो

जुम्ला : जुम्लामा गर्भवती तथा सुत्केरीमा महिलालाई नि:शुल्क हवाइ सेवा दिइने भएको छ। जुम्लाका ज्यान जोखिमा रहेका गर्भवती र सुत्केरी महिलालाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ मा व्यवस्था भएअनुरूप जुम्लामा गत वर्षदेखि नै पूर्णरूपमा निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम संचालन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

तत्कालीन कर्णालीका पाँच जिल्लासहित ३४ जिल्लामा पूर्ण र आंशिक रूपमा निःशुल्क हवाई उद्धार सेवा सञ्चालनमा आएको हो। लगातार लामो प्रसव व्याथा लागी बच्चा जन्माउन कठिनाइ भएको, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भवती अवस्थामा अत्याधिक शरीर सुनिएको, सुत्केरीपश्चात अत्याधिक रक्तश्राव भएको अवस्थामा पूर्णरूपमा निःशुल्क हवाई सेवा मार्फत उद्धार गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे रक्त अल्पता भएको गर्भवती, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई अब सहजै रूपमा निःशुल्क हवाइ सेवाबाटै उद्धार गरिने बताइन्। उनले भनिन्, ‘अब ग्रामीण क्षेत्रमा सुत्केरी तथा गर्भवती महिलालाई ज्यानको जोखिम परेको खबर आउनेबित्तिकै उद्धार गर्न सकिने अवस्था छ। दुर्गमका कुनै पनि जोखिम खालका गर्भवती तथा सुत्केरी स्वास्थ्पोचार अभावमा मृत्युका मुखमा पर्नबाट बच्ने छन्।'

उनका अनुसार हवाई उद्धार गरिएकी महिलाको नागरिकताको प्रमाणपत्र, स्थानीय तहको हवाई उद्धार समन्वय समितिको बैठकको निर्णय र स्थानीय स्वास्थ्य संस्थाको प्रमुखसहित दुई जना स्वास्थ्यकर्मीको सिफारीस पत्र मन्त्रालयमा पेश गर्नु पर्ने प्रावधान छ।

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरि तोकिएका पायक पर्ने अस्पतालमा पुर्‍याइने व्यवस्था मिलाइएको छ। यो कार्यक्रमलाई लक्षित गर्दै प्रत्येक वडामा हेलिप्याड बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.