सम्पत्ति सकियो, उपचार भएन

|

डडेल्धुरा : जन्मजातै आँखा नदेख्‍नेमध्ये एक हुन्, डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का नरेन्द्र पन्त। सुदूरको पहाडी जिल्ला डडेल्धुराको विकट मानिने अजयमेरु गाउँपालिकामा ०५३ मा  जन्मेका नरेन्द्र जन्मजातै आँखा देख्दैनन्। जन्मजातै दृष्टिविहीन बनेका उनको जीवन नै अरूको सहारामा चलेको छ।

‘कहिले काहीँ त यो संसारसँगै आफूलाई जन्मदिने आमाबुबालाई हेर्ने ठूलो रहर छ,’ नरेन्द्रले भने, ‘कसैको सहयोग पाए उपचार गरेर आँखा देख्‍ने हुन पाए जीवन सार्थक हुने थियो।'

सम्पत्ति सकियो, उपचार भएन

छोराले आँखा देख्‍दैन भन्‍ने एक वर्षपछि मात्र बाबुआमाले थाहा पाए। ‘छोरो अलिअलि बोल्ने भएपछि बुबा म किन आँखा देख्दिनँ, मलाई हजुरलाई देख्‍न कस्तो मन हुन्छ, तर पनि किन देख्दिनँ भन्दै रुन थालेपछि मात्र आफूहरूले छोराले दुवै आँखा देख्दैन रहेछ भन्ने थाहा पायौँ’ बाबु केशवराजले भने।

उनले छोराको आँखा उपचारका लागि भएभरको सम्पत्ति खर्च गरिसक्दा पनि निको बनाउन नसकेको दुखेसो सुनाए।

'केही पैसाको जोहो गरेर उपचारका लागि धेरै ठाउँ धाएँ, भएभरको सम्पति सकियो तर छोरा आँखा देख्‍ने भएन' बाबु केशवराजले गुनासो गरे।

विद्यालयले भर्ना गर्न मानेनन्

केशवराजलाई छोरा दृष्टिविहीन बनेकोमा मद्धत गर्नुको साटो विभिन्न गाउँलेहरूले खिसिटिउरे गर्ने जिस्कियाने गर्थे। गाउँकै  सामुदायिक विद्यालयहरूले पनि छोराको भर्ना नलिएको उनले सुनाए। ‘छोरालाई विद्यालय पठाउँथे तर छोराले विद्यालय जानुभन्दा मर्छु भन्थ्यो’ उनले भने।

धेरै स्कुलमा छोरालाई पढाउन लगे पनि स्थानीयस्तरका विद्यालयले आँखा देख्दैन कसरी पढ्छ? भनेर भर्ना लिन नमानेको यथार्थ उनका बुबासँग ताजै छ।

स्थानीय क्षेत्रका विद्यालयहरूले भर्ना लिन नमाने पनि छोरालाई स्कुलमा  भर्ना गराउन उनी थाकेनन्। डडेल्धुराको जोगबुढामा रहेको शिद्धनाथ माविमा १० वर्षको उमेरमा भर्ना भए नरेन्द्र। यहीँबाट नरेन्द्रले प्लस टूको अध्ययन सकाए।

नरेन्द्र पढ्ने स्कुल पुग्‍न घरबाट हिँडेर ४ दिन लाग्थ्यो। भौगोलिक विकट भएका कारण गाडीको सुविधा पनि थिएन। छोरालाई पढाउन निकै समस्या भएको विगत बाबुले सम्झिए।

छोराको मिहिनेत देखेर खुसी

दिनहरु पनि बित्दै गए नरेन्द्र पनि ठूलो हुँदै गए। ‘अगाडि बढ्दै गयो छोराको मिहिनेत देखेर हामी निकै खुसी भयौँ।’ केशवराजले भने।

पढाइमा मात्र नभएर निडर, शान्त र मिहिनेती स्वभावका नरेन्द्र स्कुलमा निकै समधुर स्वरमा गीत गुनगुनाउने पनि गर्थे। उनको गीत सुनेर जो कोही पनि लट्ठ पर्थे अझै सुनौँ सुनौँ जस्तो लाग्ने गर्थ्यो। उनको कला देखेर विद्यालयका शिक्षक तथा विद्यार्थीहरु पनि नरेन्द्रलाई माया गर्थे।

‘विद्यालयमा पढ्ने साथीहरुले यो सृष्टिको वर्णन गर्छन्। ‘त्यतिबेला मलाई थाहा हुन्छ आँखाको महत्व’ नरेन्द्रले भने। अरूको सहाराबिना नरेन्द्र यताउता जान सक्दैनन्। उनलाई कसै न कसैको सहारा चाहिन्छ। छोराले अरुको साहाराबिनै आफैँ यताउता गएको हेर्ने मन उनका बुबा केशवराजको छ।

बिएडको पढाइ

पढाइमा अब्बल भएका नरेन्द्र अहिले जिल्ला सदरमुकामनजिकै रहेको डडेल्धुरा बहुमुखीमा क्याम्पसमा बिएड प्रथम वर्षमा अध्यनरत छन्। त्यहाँ उनी नेपाली विषय पढ्नछन्।

‘छोरो पढाइमा अब्‍बल र मिहिनेति छ उसलाई अझै धेरै पढाएर अगाडि बढाउन मन छ' भएभरको सम्पत्ति उपचारमै सकियो। कसरी पढाउने भन्ने चिन्ता छ।' उनका बुबाले भने। समाजमा अपांगता हुनेहरूको लागि सहानुभूति देखाउने कोही नभएको नरेन्द्र सुनाउँछन्।

‘समाजमा अपांगता भएका व्यक्तिलाई चिन्ने कमै हुँदा रहेछन्। सार्वजनिक ठाउँहरुमा अपागंता भएका व्यक्तिलाई केहीले सहानुभूति देखाउने गरे पनि धेरैले महत्व दिन खोज्दैनन्’ उनले भने। 

सार्वजनिक ठाउँहरुमा बस्दा या बाटोमा हिँड्दा फरक क्षमता भएकै कारण आफूले अनेकौँ दुःख खेप्‍नुपरेको नरेन्द्रको अनुभव छ।

सहयोग पाए गीत ल्याउने धोको

गरिब परिवारमा जन्मेका नरेन्द्रको घरमा  नरेन्द्रलगायत ६ जना भाइ बहिनी र आमाबुबा छन्। ‘मेरो शरीरको अंग भनेको बुबा हुन्। यदी बुबा हुनुभएन भने मेरो हालत के होला?’ नरेन्द्रले भने।

उनले बुबामा समर्पित गीत लेखेका छन्। उनलाई यो गीत रेकर्डिङ गरेर बजारमा ल्याएर सबैलाई सुनाउन मन छ, तर पैसा छैन। ‘कसैले सहयोग पाए गीत बजारमा ल्याउने थिएँ’ उनले सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.