|

पोखरा : पोखरा आउने प्राय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाई पर्छ शान्ति स्तुप। पोखरा शहरबाट केही पर अग्लो डाँडामा रहेको बुद्धको मूर्ति पुम्दी भूम्दीस्थित मीन थुम्कीमा रहेको छ। २१ रोपनी ८ आना १ पैसा १ दाम क्षेत्रफलमा फैलिएको स्तुपको उचाई ११५ फिटको छ। गोलो आकारमा रहेको स्तुपको गोलाई भने ३४४ फिटको छ।

२०३० सालको भदौ २७ गते जापानका निप्पोन जान र उनका गुरु निचिदात्सु फुजीइले स्तुपको पहिलो पटक शिलान्यास गरेका थिए। उनीहरूले नेपाल र विशेषत पोखराका वौद्धमार्गीको सहयोगमा निर्माण गरेका थिए। यसको दोस्रो शिलान्यास भने २०४९ साल जेठ ८ गते तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबाट भएको थियो। त्यस्तै २०५६ साल कात्तिक १३ गते पूर्वप्रधानमन्त्री कोइरालाले नै मन्दिरको उद्घाटन गरे। स्तुपको अग्रभागमा जापानमा बनेको बुद्धको विशाल मूर्ति छ।

पश्चिम भागमा श्रीलंकाबाट प्राप्त ध्यान मुद्रामा रहेका बुद्धको मूर्ति छ। त्यस्तै उत्तरमा थाइल्याण्डबाट प्राप्त भएको ढलोटको ६ फिट लामो महापरिनिर्वाण बुद्धको मूर्ति छ।

दक्षिण भागमा भने नेपालमै ढलोटबाट बनेको सिद्धार्थ गौतमको जन्म मूर्ति रहेको छ। यस स्तुपा निर्माण गर्दा राज्यको तर्फबाट धेरै दुख झेंलेँका पूर्व रक्षामन्त्री समेत रहेका मीतबहादुर गुरुङले ठूलो योगदान दिएका थिए। उनको योगदानको कदर गर्दै स्तुपको अग्रभागमा उनको पनि शालिक बनाएर राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.