|

सुदूरपश्चिम ब्युरो


कैलाली : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका १२ वटा एनसेलका टावरमा बुधबार राति आगजनी गरेको छ।

गए राति कैलाली, डोटी, डडेल्धुरा, अछाम, बैतडी र बझाङ जिल्लाका १२ वटा एनसेलका टावरमा विप्लव समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। कैलालीमा ४, बझाङमा ३, अछाममा २, डोटी, बैतडी र डडेल्धुराका १/१ टावरमा आगजनी गरिएको बताइएको छ। 

कैलाली

कैलालीको धनगढी उपमहानगरपालिका ६ जाली, गोदावरी नगरपालिका ९ बल्मी, जानकी गाउँपालिका २ बडरिया र ९ मुनुवामा रहेका एनसेलका टावरमा आगजनी भएको हो। कैलालीका दुई स्थानमा सामान्य क्षति पुगे पनि दुई स्थानमा भने सञ्चार सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

‘धनगढी र गोदावरीमा सामान्य क्षति भएको छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नतेले भने, ‘आगजनीबाट जानकी गाउँपालिकाका दुवै वडाका टावरहरूको सेवा प्रवाह अवरुद्ध भएको छ।’

डडेल्धुरा

डडेल्धुराको आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको टावरमा आगजनी हुँदा सेवा प्रवाह अवरुद्ध भएको छ। बुधवार राति साढे ११ बजेतिर टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए। उनका अनुसार तार र ब्याट्रीहरू पूर्णरूपमा जलेका छन्।

‘प्रहरी टोली घटनास्थलमा छ’ उनले भने, ‘तार र ब्याट्रीहरू पूर्ण रूपमा जलेका छन्।’ टावरमा आगजनी भएपछि गएरातिदेखि नै जिल्ला सदरमुकाम क्षेत्रमा एनसेलको टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ।

डोटी

डोटीमा पनि अज्ञात समूहले बुधबार राति नै एनसेलको टावर जलाएको छ। जिल्लाको जोरायल गाउँपालिका–१ घण्टेश्वरको कटौंजथला भन्ने ठाउँमा रहेको एनसेल टावर जलाइएको हो।

आगजनीबाट सिस्टम सञ्चालन गर्ने विभिन्न पावर केवल, सिटीआरआइ केवल, बिटिएस र्याक, ब्याट्री र्याक, एसइडिपी च्यानललगायतका सामानहरू जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए। उनका अनुसार टावरमा आगजनी भएपछि सेवा अवरुद्ध भएको छ।

पछिल्लो अवधिमा श्रावण महिनामा मात्रै डोटीमा दुई स्थानीय तहमा एक/एक गरी दुई वटा वडा कार्यालयमा आगजनी भएको छ भने अज्ञात समूहबाट आगजनी भएको यो तेस्रो घटना हो।

अछाम

अछामका दुई वटा एनसेल टावरमा आगजनी भएको छ। पञ्च देवल विनायक नगरपालिका–३ थानीकोट र तुर्माखाँद गाउँपालिका–७ तितौडामा रहेका टावरमा आगजनी भएको हो। आगजनीका कारण दुवै ठाउँमा ब्याट्री, सोलार प्यानल, मोनिटर डिब्बा, तार र अन्य इन्जिन समेत जलेर ध्वस्त भएका प्रहरीले जनाएको छ।

आगलागीपछि पूर्वी अछामको पञ्च देवल विनायक र कमल बजार नगरपालिका तथा तुर्माखाँद र ढकारी गाउँपालिकाका सबै गाउँमा एनसेल मोबाइल सेवा बन्द भएको छ।

आगलागीबारे कसैले आधिकारिक जिम्मा नलिए पनि सरकारद्वारा प्रतिबन्धित ‘विप्लव’ समूहले आगो लगाएको अछामका प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। शाहीका अनुसार विप्लव समूहले देशभर एनसेल टावरमा आगजनी गर्ने तयारी गरेको भन्दै प्राप्त पूर्व जानकारीअनुसार जिल्लाभरका सबै ठाउँका टावरमा सुरक्षाकर्मी खटाएको भए पनि त्यहाँबाट प्रहरीले ड्युटी छाडेपछि उनीहरूले आगजनी गरेका थिए।

बैतडी

बैतडीमा पनि एनसेलका टावरमा आगजनी र तोडफोड गरेको छ। पुरचौंडी नगरपालिकाको वडा नं १ उचापात्थर कुँडीधारमा रहेको एनसेलको टावरमा गए राति अज्ञात समूहले आगजनी र तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

१२ भोल्टको ब्याट्रीमा तोडफोड गरी क्षति पुर्‍याएपछि पुरचौंडी क्षेत्रमा एनसेलको फोन सेवा अवरुद्ध भएको छ। यस्तै सोलारमा पातामा ढुंगाले हानेर क्षति पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

बझाङ

बझाङ जिल्लामा रहेका एनसेल टावरमाथि पनि आगजनी भएको छ।  जिल्लाको मष्टा गाउँपालिका, थलारा गाउँपालिका र वित्थडचिर गाउँपालिकामा रहेको एनसेल टावरमा आगजनी भएको हो। यी सबै ठाउँमा भएको आगजनी र तोडफोटबाट भएको क्षति विवरण भने आइसकेको छैन। यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.