छानबिन समितिको म्याद सकिन ५ दिन बाँकी

|

रुपन्देही : युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्या भएको बुधबार १० दिन पुगेको छ। १० दिन पुगिसक्दा पनि प्रहरीले घटनाबारे यथार्थ विवरण सार्वजनिक गरेको छैन। हत्यामा संलग्न भएको शंकामा ४ जनालाई नियन्त्रणमा लिएको बताएको छ, तर उनीहरुको परिचय प्रहरीले खुलाएको छैन।

पुस ४ गते सोमबार दिउसो तिवारीको हत्या भएपछि सोही दिन बेलुका मनोज पुन नाम बताउने एक व्यक्तिले फोन गरेर हत्या आफूले गराएको बताएपनि उनी को थिए भन्ने पुष्टि हुन सकेको छैन।

प्रहरीले हत्या राजनीतिक स्वार्थप्रेरित थियो या अन्य कुनै कारण थियो भन्ने प्रष्ट जवाफ दिँदैन। ‘अनुसन्धान चलिरहेकै छ', रुपन्देही प्रहरी प्रवक्ता बेलबहादुर पाण्डे भन्छन्, ‘सत्यतथ्य छिटै सार्वजनिक हुन्छ ।’

छानबिन समितिको म्याद सकिन ५ दिन बाँकी

‘हामी अनुसन्धानकै क्रममा छौं', गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका संयोजक एआइजी विज्ञानराज शर्माले भने, '‘अहिले म यतिमात्रै भन्न सक्छु कि घटनाको बारेमा राम्ररी अनुसन्धान भइरहेको छ।’ शर्मा संयोजकत्वको समितिले पुस ६ गतेदेखि छानबिन थालेको थियो। 

प्रहरी श्रोतका अनुसार हत्याबारे प्रहरीले तीन कोणबाट छानबिन गरिरहेको छ।

एक– मनोज पुन र उनको अपराधिक गतिविधिलाई आधार मानेर।

दोश्रो– विगतका घटनाक्रमहरुलाई जोडेर राजनीतिक स्वार्थका कारणहरु खोतल्दै।

तेश्रो– यी सबैलाई छाडेर जिरो प्वाइन्टबाट।

५ गते गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिलाई दिइएको १५ दिनको म्याद सकिन अब ५ दिन मात्रै बाँकी छ। १५ दिन भित्रमा छानबिनको प्रतिवेदन पेश गर्न भन्दै समितिलाई जिम्मा दिइएको थियो। 

मोटरसाइकल चोरीको, एसएमएस प्रोपागान्डा

हत्यापछि चर्चामा आएको अरु दुई कुरा हुन्। एउटा हत्याका लागि प्रयोग गरिएको भनिएको मोटरसाइकल र त्यसपछि आएको एसएमएस।

मोटरसाइकलमा प्रयोग गरेको (बा ५१ प ८०७३) नम्बर प्लेट नक्कली देखियो। ‘ओखलढुंगाका व्यक्तिको मोटरसाइकलको नम्बर प्लेट भारतबाट चोरी गरेर ल्याएको मोटरसाइकलमा प्रयोग गरिएको देखियो', रुपन्देही प्रहरी प्रवक्ता पाण्डे भन्छन्, 'हत्याका लागि योजनाबद्ध तरिकाले सबै कुराहरु सेट गरेको देखिन्छ।’ 

प्रहरीले तिवारी हत्या ट्रेलरमात्रै भएको भन्दै भैरहवा क्षेत्रका व्यवसायी र पत्रकारहरुलाई एसएमएस गर्ने घटना भने, ‘धमिलो पानीमा माछा मार्ने’ गरी मच्चाइएको प्रोपागान्डा भनेको छ।

‘त्यो हत्यासँग जोडिएको भन्दा पनि त्यसैको आडमा अरु सानातिना अपराधहरु गर्न, चन्दा असुली गर्न गरेको जस्तो देखिएको छ', रुपन्देही प्रहरी प्रवक्ता बेलबहादुर पाण्डे भन्छन्, ‘त्यसको फरक ढंगले अनुसन्धान भइरहेको छ, त्यो पनि को हो भन्ने हामी सार्वजनिक गर्छौं।’

पक्राउ परेका ४ जना प्रहरीको नियन्त्रणमै

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पुस ५ गते ३ जनालाई र ६ गते १ जनालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। ‘अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइएको थियो', इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मुकुन्द मरासिनीले भने, ‘उनीहरु अनुसन्धानकै क्रममा छन्।’

हत्याबारे युवा संघः हत्याको कारण राजनीतिक

तिवारी हत्याबारे युवा संघले सुरुदेखि नै राजनीतिक प्रतिशोध भन्दै आइरहेको छ। ‘यो हत्या अरु कुनै कारणबाट भएको हो भन्ने कुनै संकेत देखिदैन, प्रदेश नम्बर पाँचमा आन्दोलन चलिरहेको अवस्थामा आन्दोलनलाई कमजोर बनाउन नै यो हत्या भएको हो', युवा संघले गठन गरेको छानबिन समितिका संयोजक तथा संघका महासचिव किरण पौडेलले भने, ‘यदि चर्चामा आएजस्तो मनोज पुनले नै हत्या गराएको भएपनि आन्दोलनलाई कमजोर बनाउन खोज्ने शक्तिबाट परिचालित भएर हत्या भएको हो भन्ने हाम्रो निष्कर्ष हो।’

तिवारीलाई शहिद घोषणा गर्न स्थानीय प्रशासनले केन्द्रमा प्रस्ताव गरेपछि तिवारीको अन्तिम संस्कार गरिएको थियो।

युवा संघले श्रद्धाञ्जली सभा गर्दै

तिवारीको हत्या भएको ११ औं दिनको दिन बिहीबार युवा संघ रुपन्देहीले देवदहमा श्रद्धाञ्जली सभा गर्दैछ। सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, युवा संघ अध्यक्ष राजीव पहारीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

सम्बन्धित समाचारः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.