|

सुनसरी : कोसीटप्पु वन्यजन्तु आरक्षको चरण क्षेत्रमा मरेका चौपायामा प्राणघातक रोग एन्थ्रेक्सको जीवाणु फेला परेको छ। आरक्षको घाँसे मैदानमा बिहीबार मरेका ४४ वटा चौपायाको रगतको नमुना परीक्षणका क्रममा एन्थ्रेक्सको जीवाणु रहेको पुष्टि भएको हो।

पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरका डा. संजयकुमार यादवले आरक्ष क्षेत्रमा मरेका चौपायाको रगतको नमुना परीक्षणका क्रममा स्वाइल वर्न डिजिज अर्थात् एन्थ्रेक्सको जीवाणुु फेला परेको जानकारी दिए। विराटनगरस्थित ल्याबमा परीक्षण गर्दा एन्थ्रेक्स भेटिएको डा. यादवले बताए। उक्त रिपोर्ट केन्द्रीय ल्याब काठमाडौं पठाइएको र त्यहाबाट थप पुष्टि हुने उनले बताए।

के हो एन्थ्रेक्स

डा. यादवका अनुसार एन्थ्रेक्सको जीवाणुु माटोमा रहने भएकाले घाँसको तल्लो भागसम्मै खाने पशुहरुमा सहजै यस रोग सर्दछ। मरेका पशुको सिनो छुँदा, स्वास लिँदा र जीवाणु रहेको स्थानको वरपर घाउचोट लागेका मानिस पुग्दा जीवाणु शरीरमा प्रवेश गर्न सक्ने सम्भावना प्रवल हुन्छ।

एन्थ्रेक्स जेनेटिक डिजिज हो। यस रोगको जीवाणु माटोमा पाइन्छ र हावाको माध्यमबाट सर्दछ। मानिसमा समेत सर्न सक्ने भएकाले बेलैमा सावधानी अपनाउनुपर्ने हुन्छ। 

रोग लाग्नसाथ उच्च ज्वरोका कारण पशुको तत्काल मृत्यु हुन्छ। यस रोगबाट मरेका पशुको नाक, कान, मुख तथा मलद्वारबाट रगत निस्कने गर्छ। मानिसमा सरेको खण्डमा बेलैमा उपचार सम्भव नभए ज्यानै समेत जान सक्ने सम्भावना रहने डा. यादवले बताए।

खतरामा संरक्षित जनावर

आरक्षभित्रको चरण क्षेत्रमा एन्थ्रेक्सको जीवाणु भेटिएसँगै यहाँ रहेका अर्नासहितका संरक्षित जनावरको खतरामा परेका छन्। 

एन्थ्रेक्सको जीवाणु भेटिएकाले सावधानीसहित रोकथामको प्रयास थाल्ने तयारीमा जुट्नका लागि माथिको आदेश र रिपोर्टको पखाइमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको छ। आरक्षभित्र रहेका सबै पशुमा तत्कालै भ्याक्सिन लगाउनु जरुरी देखिएकाले सावधानीसहित आरक्ष क्षेत्रमा पशु चिकित्सकसहितको प्राविधिकको टोली परिचालित हुने कार्यालयले जनाएको छ। 

सुनसरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले नियन्त्रणको पहल थालेको जानकारी दिए। एन्थ्रेक्सको जीवाणु पशु तथा मानवका लागि समेत घातक हुने भएकाले प्रदेश सरकारसहित पशु निर्देशनालय र मातहतका कार्यालयमा जानकारी गराइएको प्रजिअ राउतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.