|

सुनसरी: कोशी टप्पु वन्यजन्तु आरक्षको चरण क्षेत्रमा एन्थ्रेक्सकोे जीवाणु फेला परेपछि स्थानीय प्रशासनले सावधानी अपनाउन थालेको छ। बराहक्षेत्र नगरपालिकाको ६ र ९ नम्वरको सीमामा पर्ने आरक्षको संरक्षित क्षेत्रमा मरेका चौपायामा एन्थ्रेक्स जीवाणु फेला परेसँगै ३ किलोमिटर क्षेत्रमा संक्रमण फैलन नदिन चुना छरिएको छ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले चौपाया मरेका स्थान वरपरको क्षेत्रमा चुना छरिएको जानकारी दिए। आरक्षभित्र ठूलो संख्यामा चौपाया खुलाा छाडिएको हुनाले सबैमा भ्याक्सिन लगाउन सक्ने अवस्था नरहेकाले संक्रमित र शंकास्पद मानिएको क्षेत्रमा चुना छर्ने काम गरिएको उनले बताए। खनालका अनुसार एन्थ्रेक्स मानिसमा समेत सर्न सक्ने भएकाले सावधानी अपनाउन सबैमा आग्रह गरिएको छ। 

सुनसरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले विराटनगर स्थित ल्याबको रिपोर्ट आफूकहाँ प्राप्त भएको बताउदै सावधानी सहितका उपाय अवलम्बनमा जुटेको जानकारी दिए। प्रजिअ राउतका अनुसार स्थानीय जनप्रतिनिधि, प्रहरी, प्रशासनका साथै प्रदेशसहित जिल्ला र स्थानीय तहमा रहेका पशु चिकित्सकसहित प्राविधिक सहितको टोली संक्रमण देखिएको स्थानमा आइतबार बिहानैबाट खटिएका छन्।

चौपायाहरु हेरेर बिरामीको लक्षण देखिएकाको हकमा अलग्गै राख्ने काम थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको छ। सुनसरी प्रशासनका अनुसार आरक्ष क्षेत्रमा छाडिएका चौपाया सम्वन्धित धनीलाई लिएर जान सूचना जारी गरिएको छ।

मध्यवर्तीक्षेत्र सहित आसपासका बासिन्दालाई सचेत रहनका साथै सावधानी अपनाउन र चौपाया आरक्ष क्षेत्रमा नछाड्न भनिएको प्रजिअ राउतले बताए। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले विराटनगरको पशु चिकित्सक सहितको टोली चौपाया मरेको क्षेत्रको स्थलगत निरीक्षणमा खटिएकाले रोगको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.