|

सिन्धुपाल्चोक : जिल्ला आफैँमा प्रकृतिको सुन्दर उपहार हो। त्यहाँ मनै लोभ्याउने धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरू छन्। सिन्धुपाल्चोकका धार्मिक तथा पर्यटकीय क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकको मन लालाहित पार्छ। हो यहाँको एक पर्यटकीय बिन्दुको ठाउँ हो पाँचपोखरी।

सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पालधाप गाउँपाकिला ३ भोताङमा अवस्थित रहेको धार्मिक एवं पर्यटकीय स्थलको रूपमा रहेको पाँचपोखरी मेला लागेको छ। एकादशीबाट पूर्णिमासम्म यस क्षेत्रमा मेला लाग्ने गरेको छ। प्रत्येक भाद्र शुल्क पूर्णिमाको दिन यहाँ ठूलो मेला लाग्ने गरेको छ।

भौगोलिक रूपमा विकट भए पनि यहाँ मेला भर्नको लागि हजारौंको संख्यामा भक्तजन आएका छन्। पाँचपोखरीमा मेलामा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, रसुवा, नुवाकोट, दोलखा, धादिङलगायतका जिल्लाबाट भक्तजन आएका छन्। समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा रहेको पाँचपोखरी धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक दृष्टिकोणले पनि मनमोहक छ। 

भक्तजनको भीड

पाँचपोखरीमा मेला भर्न विगतको तुलनामा बढी भक्तजन आएको पाँचपोखरी थाङपालधाप गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए। पाँचपोखरीलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नेको लागि पालिकाले केबुलकार जडानको योजना समेत बनाएको जनाए। पर्यटकको आवागमन अझै वृद्धिका लागि व्यवस्थित पैदलमार्ग, होम स्टेलगायतको पर्यटकको रोजाइमा पर्ने विषयवस्तुको व्यवस्थापन गाउँपालिकाले बताएको समेत जनाए। 

दुई दिनको पैदल यात्रा

पाँचपोखरीमा यात्रुको बासका लागि सामुदायिक र व्यक्तिगत रूपमा थप छाप्रा (अस्थायी लज) को व्यवस्था गरिएको छ। पाँचपोखरी चौतारा र मेलम्चीबाट पुग्न सकिन्छ। 

चौताराबाट स्याउले, सिङ्पालकाभ्रे, गोल्चे, भोटेनाम्लाङ, गुन्सा, थाङपालकोट र भोताङ गाविस हुँदै दुई दिनमा त्यहाँ पुग्न सकिन्छ। मेलम्ची हुँदै इन्द्रावतीको किनाराबाट ज्यामिरे, लाँगचे, भोलेनाम्लाङ, थाङपालधाप, थाङपालकोट र भोताङ गाविस हुँदै दुई दिनमा त्यहाँ पुगिन्छ।

दुवै मार्गको रमणीय क्षेत्र नछुटोस् भन्नका लागि केही यात्रु जाँदा र फर्कदा फरक बाटो प्रयोग गर्ने गरेका छन्। मेलामा टाढा टाढाबाट झाँक्रीहरू जाने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ।

यस्तो छ धार्मिक र सांस्कृतिक पक्ष

ऐतिहासिक किंवदन्तीका आधारमा ऋषि वशिष्ठले तपस्या गरेको तपोभूमिका रूपमा यस क्षेत्रलाई लिँदै मानिनै आएको छ। आफ्नो ज्ञान प्राप्तीको लागि वशिष्ठले सबैभन्दा उत्तम स्थलको रूपमा छनोट गरी पाँचपोखरीबाट नै तपोविद्या हासिल गरेको किंवदन्ती रहेको छ। जसको कारण यस क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा पनि मानिसले हेर्ने गरेको पाइन्छ।

सो स्थानमा रक्षाबन्धन अर्थात जनैपूर्णिमाका दिन भक्तजनको भीड लाग्ने पाँचपोखरीमा विभिन्न आस्था बोकेर आउने गर्दछन्। चाहे अन्नपातको भरिपूर्णताको लागि होस वा चाहे पशुपंक्षीको लागि वा चाहे सन्तान प्राप्तिका लागि सो पोखरीमा नुहाएर पूजा गरेमा प्राप्त हुने भन्ने विश्वास लिइएको छ।

दैवी विद्या अर्थात वैदिक तन्त्रको पूर्णताको लागि पनि पाँचपोखरीमा आउने जाने गर्दछन। एक पटक पाँचपोखरीमा पुगेर दर्शन नगरे पूर्णरूपमा झाँक्री बन्न नसक्ने स्थानीयको कथनले पनि झन यस मेलालाई सिँगार्ने गर्दछ।

धामी झाँक्रीहरू आफ्नै पोशाकमा पहिरेर वरिपरि कोरसको साथमा नाच्दै गाउँदै मेला भर्न जाने गर्दछ। पाँचपोखरीको जलपान गरेपछि पाप कट्ने र धर्मको बाटोमा लाग्न सकिने भनाइ रहँदै आएकाले पनि देश विदेशमा रहेकाहरूसमेत यस मेलालाई मध्ये नजर पारेर नेपाल भित्रिने गरेको स्थानीयको कथन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.