८ विधेयक भए पारित

|

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको चौथो अर्थात् बर्खे अधिवेशन आइतबार सम्पन्न भएको छ। प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको पत्र पढेर सभामुख अर्जुनबहादुर थापाले अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए।

गत जेठ १ गतेबाट सुरु भएको चौथो अधिवेशनमा ३६ वटा बैठक बस्यो। जम्मा ३४ दिन बोलाइएको प्रदेशसभा बैठक ३८ घण्टा ३७ मिनेट चलेको सभामुख थापाले जानकारी दिए। चौथो अधिवेशनमा विशेष समय सात पटक र शून्य समय दुई पटक प्रदान गरिएको थियो।

अधिवेशन अन्त्य हुनपूर्व आइतबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) का मुख्य सचेतक मालामती रानाले धारणा व्यक्त गरेकी हुन्। उनीहरूले राजधानी कार्यान्वयनको काम गर्न नसेकेको, प्रदेश गौरवका योजनालाई सरकारले ध्यान नदिएको, विधेयक पास गरेको तर, कार्यान्यनमा चासो नदिएको लगायतका आरोप लगाएका थिए।

आठ विधेयक पारित भए

चौथो अधिवेशनमा आठ वटा विधेयक पारित भएको छ। ‘सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’, ‘प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’, ‘प्रदेशको लोक सेवा आयोग गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’,‘सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धी विधेयक २०७६’, ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६’ पारित भएको छ।

यस्तै, ‘केही प्रदेश ऐन संशोधन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६,’ ‘सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ र ‘आर्थिक वर्ष २०७६/०७७ को सेवा र कार्यहरूको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित भएको हो।’

समितिमा नलगी विधेयक पारित

आइतबारको बैठकबाट ‘सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ पारित गरिएको छ। प्रदेशसभा बैठकमै दफावार छलफल गरी विधेयक पास गरिएको हो।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले प्रदेशसभा बैठकमा दफावार छलफल र विधेयक पासका लागि प्रस्ताव पेस गर्नु गरेकी थिइन्।

प्रदेशसभा सदस्यहरू बलबहादुर सोडारी, श्यामलाल राना थारू, दुर्गाकुमारी कामी, शान्ति नेपालीले विधेयकको दफावार छलफलमा भाग लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.