काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाली कांग्रेस प्रदीप गिरिले नेपाल–भारत सम्बन्धबारे केही दिनअघि दिएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन्।
बुधबादेखि काठमाडौँमा हुने नेपाल-भारत संयुक्त कार्यदलको बैठकबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले गिरि जस्ता नेताले त्यस्तो टिप्पणी गरेका आफूलाई विश्वास नलागेको बताए ।
‘प्रदीप गिरि जस्तो परिपक्व राजनीतिज्ञले नेपाललाई भारतले सिक्किम बनाइदिन्छ भनेर भन्नुभएको विश्वास लागेन’, ज्ञवालीले भने, ‘तर उहाँले अन्तर्राष्टिय सम्बन्ध समितिमा भन्नु भयो भन्ने सुनियो। यदि भनेको हो भने त्यो नेपाल सरकारलाई अस्वीकार्य छ।’
मन्त्री ज्ञवालीले गिरिको अभिव्यक्तिले दुई देशबीचको सम्बन्धमा चिसोपना आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे।
‘त्यस्तो अभिव्यक्तिले दुई देशबीचको सम्बन्धमा चिसोपना आउन सक्छ’, उनले भने, ‘नेपाल कहिले कसैको गुलाम बनेको छैन। नेपाल स्वाधीन राष्ट्र हो । नेपाललाई भारतबाट त्यस्तो हुने कल्पनासम्म गर्न सकिँदैन।’
मन्त्री ज्ञवालीले नेपालको स्वतन्त्रता जोखिममा पर्छ भनेर कल्पना गर्न पनि नसकिने जिकिर गरे। ‘त्यस्तो सोच्नु भनेको सार्वभौम जनताको क्षमतामाथि प्रश्न गुर्न हो’, उनले भने, ‘यस्ता विवादास्पद वक्तव्य दिनुअघि दुई देशबीचको सम्न्धमा ध्यान दिइयोस्।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।