|

बुटवल : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्र सिध्याउन लागेको बताएका छन्। रुपन्देहीमा सोमबार भएको नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रदेश-५ स्तरीय महाधिवेशन प्रतिनिधि प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै देउवाले प्रजातन्त्रिक मर्मविपरित काम भएको बताउँदै यसका निम्ति लड्न तयार हुनुपर्ने बताए।

उनले मानवअधिकार, मिडिया काउन्सिल लगायतका विधेयकहरू ल्याइनु प्रजातन्त्रविरोधी गतिविधि भएको बताए। ‘पत्रकारिता र मानव अधिकार जस्ता कुरा स्वतन्त्र हुनु पर्दछ। सरकारले विधेयक ल्याएर पत्रकारिता र मानव अधिकार आयोगको स्वतन्त्रता हनन गर्न खोजेको छ’ पार्टी सभापति देउवाले भने।

कार्यक्रममा बोल्दै देउवाले चुनावमा पार्टीलाई  अन्तरघात गर्नेलाई कारबाही नगरे पार्टी बलियो नहुने दाबी गरे। देउवाले भने, ‘अन्तरघात गर्नेलाई कारबाही नगर्ने हो भने पार्टी कहिले जित्दैन।’

देउवाले भोट नै राजनीति भएको बताउँदै जसरी भए पनि जनताको मनजितेर भोट ल्याउनुपर्ने बताए। उनले त्यसका लागि जनतामाझ पुग्नुपर्ने बताए।  कांग्रेस पार्टी समावेशी भएको बताउँदै देउवाले हरेकले महिला, दलित, थारू, जनजातिलगायत सबैले आफ्नो आरक्षण बराबरको भोट सुरक्षित गर्नतिर लाग्नुपर्नेमा जोड दिए।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्‍द्र पौडेलले आम नेपाली जनतामा निराशा छाएको बताउँदै निराशा अन्त्य गर्न नेपाली कांग्रेस पार्टी अघि बढाउनुपर्ने बताए। पौडेलले राजनीतिक दलका नेताहरुको चरित्र र कार्यकर्ताले जनताप्रति गर्ने व्‍यवहार राम्रो हुनुपर्ने बताए।

कार्यक्रममा बोल्दै प्रतिष्ठान प्रमुख तथा उपसभापति विमलेन्द्र निधि, उपसभापति बिजयकुमार गच्छदार, केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य बालकृष्ण खाँड, पुष्पा भुसाल लगायतले आउने चुनावमा कांग्रेसलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दोहोर्‍याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.