|

म्याग्दी :  हिमाली जिल्ला म्याग्दीमा १४ ओटा प्राकृतिक तातोपानीका कुण्डहरु भेटिएका छन्।

प्राकृतिक चिकित्सालयको नामले विश्वभरी नै चिनिएको म्याग्दीको बेनी नगरपालिका ४ सिंगातातोपानीमा अवस्थित तातोपानी कुण्ड बाहेक अन्य १३ वटा तातोपानीका कुण्डहरु भेटिएका जिल्ला समन्वय समिति म्याग्दीले जनाएको छ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दी जिल्लाका विभिन्न स्थानमा तातोपानीका कुण्डहरु भेटिएका हुन् । भेटिएका तातोपानीका कुण्डहरुमध्ये अधिकांशको संरक्षण गरिएको छ।

बेनी नगरपालिकामा मात्रै ५ ओटा तातोपानीका कुण्ड रहेका छन्। बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी बजार क्षेत्रमा रहेका कुण्डलाई संरक्षण गरिएको छ। तातोपानीको तल्लो बजार नजिकै रहेको यस कुण्डभित्र तातोपानीका २ ओटा मुहान रहेका छन् भने बाहिरपट्टी २ ओटा र ओढारमुनि एकवटा मुहान रहेको स्थानीयले बताएका छन्।

यसैगरी जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य मानिने अन्नपूर्ण गाउँपालिकामा ५ ओटा तातोपानीका कुण्डहरु रहेका छन्। अन्नपूर्ण–१, दोवास्थित सेकार तातोपानी कुण्ड, २ नम्बर वडाको भूरुङ–तातोपानी २ वटा मुहान, ५ नम्बर वडाको शिखमा रहेको पाउद्वार तातोपानी र घारको पोखरेबगरमा रहेको रातोपानीको कालीगण्डकी किनारमा तातोपानीको मुहान रहेको छ। 

यस्तै पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–१, गूर्जा र २ मुदीको सिमानामा पर्ने फल्टिङ खोलामा तातोपानीको कुण्ड रहेको गाउँपालिकाले जनाएको छ। यस्तै मुदीको बगरामा पनि तातोपानीको कुण्ड रहेको छ। यता मंगला गाउँपालिका–३, बराङ्जाको पखेर र उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–४, दर्मिजामा गरी तातोपानीको एक–एक वटा कुण्डहरु रहेका छन्। 

स्वास्थ्यका दृष्टिकोण र सदरमुकामदेखि नजिकै रहेको हुँदा सिङ्गा तातोपानीको कुण्ड पर्यटक र बिरामीको मुख्य रोजाइमा पर्ने गरेको छ।  तातोपानी कुण्डबाट प्राप्त आम्दानीले स्थानीय सरस्वती माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापन गरिनुका साथै कुण्डमा कार्यरत कर्मचारी र कुण्डमा थप पूर्वाधार विस्तारमा लगानी गरिएको छ। सिङ्गा तातोपानी कुण्डमा देशका मुख्य नेताहरुको उपस्थिति बढ्नुका साथै दैनिकजसो बिरामीहरु आउने गरेका छन्।

मंगलाको बराङ्जामा रहेको तातोपानी कुण्डको संरक्षण गर्न चालु वर्षमा बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष सिजना केसीले बताइन्। त्यसैगरी गुर्जा र मुदीको सिमानामा रहेको तातोपानी कुण्डमा १० लाख रुपैयाँको लगानी गरेर कुण्डको क्षमता बढाइएको धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिएकी छिन्। उनका अनुसार मुदीको बगरामा रहेको तातोपानी कुण्डको पनि आवश्यक संरक्षण गरिएको छ भने दुवै कुण्डमा एक पटकमा ३०÷३५ जनाको क्षमता रहेको छ। धौलागिरी बेसक्याम्प जाने बाटोमा पर्ने भएकाले बगरामा शौचालय र ढाँटी समेत बनाइएको छ। 

 उत्तरी भूरुङ–तातोपानीमा रहेको कुण्ड विशेष गरी पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु रहेको छ। शिखको पाउद्धारमा रहेको तातोपानी भने अत्यन्तै नुनिलो रहेको छ। रघुगंगाको दर्मिजामा रहेको तातोपानी कुण्डमा पनि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरी संरक्षण गरिएको जानकारी दिएको छ। तातोपानी कुण्डको संरक्षण र संवद्र्धन तथा प्रचारप्रसारमा स्थानीय तहहरु लागिपरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.