नक्कली जग्गाधनी खडा गरेर जग्गा बिक्री गर्ने गिरोहका ३ जना पक्राउ

|

काठमाडौं : चितवन भण्डाराका लोकेन्द्रराज पाठक ३ विगाह एक कठ्ठा ५ धुर जग्गा बिक्री गर्न चाहन्थे। त्यसैले उनले आफ्नो लालपूर्जाको प्रतिलिपी जग्गा कारोबारीलाई दिएका थिए। तर उनले ६ वर्षपछि मात्रै थाहा पाए, आफ्नो जग्गा त बिक्री भइसकेछ त्यो पनि नक्कली जग्गाधनी खडा गरेर।  

२०७३ साल जेठमा मात्र उनले यो कुरा थाहा पाएर प्रहरी र अदालतमा उजुरी गरे। उनको उजुरीको आधारमा प्रहरीले कीर्ते गरेर जग्गा बिक्री गर्ने गिरोह नै पत्ता लगायो र तीन जनालाई पक्राउ गर्न सफल भयो।

प्रहरीले गएको मंसिर ३० गते मोरङ इटहरा गाविसका ४८ वर्षीय देवेन्द्र थापा र झापा गौरीगञ्जका ४६ वर्षका नगेन्द्र कार्कीलाई सुनसरीको इटहरीबाट पक्राउ गर्‍यो। यसै गिरोहमा सक्रिय खोटाङ खल्लेका ३४ वर्षका मीनबहादुर भट्टराईलाई पुस ६ गते लगनखेलबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जानकारी दिएको छ।

यस्तो छ घटना विवरण

चितवन भण्डाराका लोकेन्द्रराज पाठकले आफ्नो ३ विगाह एक कठ्ठा ५ धुर जग्गा बिक्री गर्नका लागि लालपूर्जाको प्रतिलिपी जग्गा कारोबारीलाई दिएका थिए। कीर्ते गरेर जग्गा बिक्री गर्ने गिरोहका देवेन्द्र थापाले उक्त लालपूर्जा कारोबारीबाट फुत्काउन सफल भए। त्यसपछि सुरु भयो जग्गा बिक्रीको नक्कली धन्दा।  

सुरुमा कार्कीसहितको गिरोहले लोकेन्द्रराज पाठकको जग्गा कीर्ते जग्गाधनी प्रमाण पूर्जा खडा गरेर उनका भतिजा जीवनराज पाठकलाई १ लाख रुपैयाँमा बिक्री गर्‍यो, काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयबाट। लोकेन्द्रको नक्कली भतिजा बनेका थिए झापाका नगेन्द्र कार्की।

बेजिल्लाबाट जग्गाको कारोबार गरेपछि डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीले  उक्त कागजात हुलाकबाट चितवनको मालपोत कार्यालयमा पठाउनुपर्नेमा कर्मचारीको मिलेमतोमा गिरोहले नै नामसारीको सक्कल कागजपत्र हात पार्न सफल भयो। त्यसपछि उनीहरुले कागजपत्र सच्याएर १ लाखमा बिक्री भएको जग्गालाई २१ लाखमा पास भएको बनाए।

नक्कली भतिजा जीवनराज पाठकको नामबाट उक्त जग्गा मकवानपुरको नेचुरल प्लावर एण्ड हर्बल प्रालिलाई ४९ लाख ५० हजारमा बिक्री भयो। कम्पनीले उक्त जग्गा हिमालयन बैंङ्कमा धितो राखेर ५ करोड कर्जा पनि लियो। कम्पनीले उक्त धितोमा काठमाडौंको तीनवटा घर समेत जोडेर प्राइम बैंकबाट ८ करोड रुपैयाँ ऋण लिएको सिआइबीले अनुसन्धानबाट पत्ता लगाएको छ।

जब खास जग्गाधनीले थाहा पाए ...

आफ्नो जग्गा बिक्री भइसकेको थाहा पाएपछि जग्गाधनी लोकेन्द्रराज पाठकले उक्त लिखत बदर गर्नका लागि चितवन जिल्ला अदालतमा उजुरी दिएका थिए। उनले कीर्ते नागरिकता, जग्गाधनी पूर्जा खडा गरेर आफ्नो जग्गा बिक्री गर्ने गिरोहको खोजीका लागि महानगरीय प्रहरी अपराध महाशाखा, सिआइबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिए। चितवन जिल्ला अदालतमा उक्त मुद्दा विचाराधीन छ।

केन्द्रीय अनुसन्धान ब्युरोका  निर्देशक डिआइजी नवराज सिलवालले अहिले वास्तविक जग्गाधनी पाठक जग्गा फिर्ता गर्ने प्रक्रियामा रहेको बताए।

‘छ वर्षअघि नै किर्ते गरेर जग्गा बिक्री गरेका रहेछन्, अहिले आएर थाहा भयो’, उनले भने ‘सबै बुझ्दै जाँदा किर्ते गरेर बेचिएको रहेछ, अब वास्तविक जग्गा धनीलाई जग्गा दिनको लागि प्रक्रिया अघि बढिसकेको छ।’ 
जग्गा किर्ते गरी ठगी गिरोहलाई तीनवटा छुट्टाछुट्टै अभियोगमा कारबाही अगाडि बढाउन सकिने कानुनी व्यवस्था रहेको सिआइबीले जनाएको छ। उनीहरुमाथि नागरिकता कीर्ते गरेकोमा नागरिकता ऐन अनुसार १ देखि ५ वर्ष कैद सजाय वा २० देखि १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सकिने कानुनी ब्यवस्था छ।

त्यस्तै सरकारी छाप र दस्तखत कीर्ते गरेको आरोपमा १ वर्ष कैद र विगो बराबरको जरिवाना गर्न सकिने व्यवस्था छ भने ठगीको आरोपमा ५ वर्षसम्म कैद सजाय र विगो बराबरको जरिवाना गर्न सकिने व्यवस्था रहेको सिआइबीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.