को थिए राना?

|

धनगढी : केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) को टोलीले कैलालीको धनगढीबाट चार थान पेस्तोल र सुनसहित पक्राउ गरेको तीनजनालाई सार्वजनिक गरेको छ।

प्रहरीले बुधबार साँझ पक्राउ गरेको धनगढी उपमहानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना, मटियारीकी कमल बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई बिहीबार सार्वजनिक गरेको हो।

उनीहरूबाट प्रहरीले पेस्तोल १ थान , रिभल्बर १ थान , कटुवा पेस्तोल २ थान, गोली ७ राउन्ड , बटनवाला चक्कु १ थान बरामद भएको छ। सञ्जय राणाबाट बरामद गरेका कागजात र चेकको फेहरिस्त देखेर प्रहरी नै चकित परेको छ।

राणाबाट मात्रै प्रहरीले विभिन्न व्यक्तिको नाममा रहेको १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक र तीन सय ७९.३६ ग्राम सुन बरामद गरेको छ।

‘विभिन्न व्यक्तिका नाममा काटेका र खाली गरी ५७ वटा चेक पनि बरामद गरिएको गरेका छौँ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरिले भने,  ‘त्यसमा दुई करोड ४५ लाख रुपैयाँका काटेका चेक छ।’

उनीहरूको साथबाट बरामद गरेको नक्कली चेक पनि प्रहरीले सार्वजनिक गरेको छ। रानाबाट एक सय ६ करोड रुपैयाँको राष्ट्र बैंकको एउटै नक्कली चेक भेटिएको छ। प्रहरीले छाप र नक्कली पत्र तथा कागजात पनि बरामद गरेको जनाएको छ।

कैलालीको नापी कार्यालय, मालपोत, राजश्व , सञ्चार मन्त्रालय, धनगढी उप-महानगरपालिका, गोदावरी नगरपालिका र विभिन्न विभागका छापहरू बरामद गरिएको छ। उनीहरूबाट बरामद राष्ट्र बैंकका गभर्नरसहित, कर अधिकृत, मालपोत अधिकृतको हस्ताक्षर छाप पनि बिहीबार प्रहरीले सार्वजनिक गरेको छ।

‘पक्राउ परेका सञ्जय रानाको नाममा दुई वटा नागरिकता पनि भेटिएको छ’ प्रहरी प्रमुख गिरीले भने,  ‘एउटा कैलाली र अर्को  डोटीको नागरिकता  छ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक गिरीले लामो समयदेखिको प्रयासपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको बताए। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू मिटर ब्याज र हातहतियारको कारोबारी भएको खुल्न आए पनि विस्तृत रूपममा अनुसन्धान गर्न बाँकी रहेको प्रहरी उपरीक्षक गिरिको भनाइ थियो। तीनै जनालाई ७ दिन म्याद थपेर थप अनुसन्धान गरिने उनले बताए।

को थिए राना?

विभिन्न व्यक्तिको नाममा रहेको १८ करोड बढी तमसुकसहित पक्राउ परेका राना कैलालीमा मिटर ब्याजको नाइके मानिएका छन्। सामान्य परिवारका सञ्जय राणा भनिने सञ्जय रानाको केही वर्षयता हाउभाउ फेरिएको प्रहरीले जनाएको छ।

'देखिने गरी कुनै पनि कारोबारमा संलग्न नभए पनि उनको जीवनशैली एकाएक फेरियो', प्रहरी उपरीक्षक गिरिले भने 'सामान्य व्यक्ति असामान्य हुँदै गएपछि हामीले शंका गर्न थालेका थियौँ।'

गाउँमा जग्गाको कारोबार गर्ने भन्दै आफूलाई चिनाउँदै आए पनि उनको कारोबार भने अवैध बन्दै गइरहेको थियो। विगतदेखि नै उनी हातहतियारको कारोबारी गर्ने गरेको प्रहरीले स्रोतले बताएको छ।

अवैध हातहतियारको कारोबारका लागि उनले भारतमा पनि राम्रो सम्बन्ध बनाएको बुझिएको छ। यो क्षेत्रमा आपराधिक गतिविधिका लागि कसैलाई हतियार आवश्यक भए उनले नै बिक्री गर्दै आएको स्रोतको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.