फिचर

नेतालाई आयो, योद्धालाई आएन गणतन्त्र
SHARES

पूर्वयोद्धा सोममाया भन्छिन् : 'प्रचण्डले मात्र जिते हामीले हार्‍यौँ'

भदौ २५, २०७६

    धनकुटा : जिल्लाको साँगुरीगढी गाउँपालिका ९ आहाले निवासी सोममाया राई उर्फ 'रेखा' जनयुद्धकी लडाकु हुन्। तत्कालीन १० वर्षे सशस्त्र द्बन्द्बमा जति लडाइँ तथा आक्रमणहरू भए अधिकांशमा उनी सहभागी थिइन्।

    धेरै लडाइँहरूमा उनी साधारण घाइते भए पनि इलामको एक आक्रमणमा दाहिने हात गुमाउनुका साथै अन्य अंगमा गम्भीर चोट लाग्यो। बम बारुदका छर्राहरू शरीरबाट निकाल्न सकिएन। बाहिरी अंगको चोट ठिक भए पनि शरीरमा रहेका बम बारुदका छर्राले उनलाई सधैँ दुख दिइरह्यो।

    ‘देशमा जनताको शासन ल्याउनुपर्छ भनेर बन्दुक बोकेर परिवर्तनका लागि जनयुद्ध लडियो’ उनले भनिन्,‘देशमा राजतन्त्र फेरिएर संघीय गणतन्त्र आयो। तर, देशमा गणतन्त्र आएपछि नागरिकले तिरेको करबाट नेताहरू मोजमस्ती गर्दै छन्।’

    देशमा गणतन्त्रको लागि लडेका उनी एउटा हातको भरमा जीवन चलाउँदै छिन्। दाहिने हात युद्धमा गुमाइन्। विशेषगरी खानपिन गर्न र सामान्य काम गर्नलाई उनलाई समस्या हुन्छ। युद्धको बेलामा हातमा गोली लागेपछि उनको उपचारको क्रममा चिकित्सकले हात काटेका हुन्।

    विसं.२०६२ साल चैत २१ गते तत्कालीन माओवादी पार्टीका जनमुक्ति सेनामा कार्यरत हुँदा इलाममा तत्कालीन शाही नेपाली सेनासँग भएको भिडन्तमा उनलाई गोली लागेको थियो।

    गोलीको छर्रा लागेर हात कामै नलाग्ने भएपछि उपचारको क्रममा चिकित्सकले हात काटेर फ्याँकेका थिए। देब्रे खुट्टामा लागेको छर्राको पनि उपचार गरेको तर अनुहारमा लागेको छर्राको उपचार गर्न बाँकी रहेको उनले बताइन्। त्यसपछि उनलाई नियमित समस्या भएको हो। रेखालाई तत्कालीन पार्टीले भारतको आलपुरद्धारमा उपचार गरेको थियो। त्यो बेला भारतमा ४ महिना माओवादी भएको आरोपमा ४ महिना जेल परेको उनले बताइन्।

    जनयुद्धको संघर्ष र दुःखका बारेमा उनले भक्कानिँदै भनिन्, ‘म जस्ता धेरै साथी घाइते छन्। कतिको ज्यान गयो। माओवादीले देश राम्रोसँग चलाउँछु भन्थ्याे। तर माओवादी पनि जनताको पक्षमा छैन जस्तो लगेको छ।’

    देशमा शान्ति स्थापनाका लागि सरकार र माओवादी पक्षबीच २०६३ साल मंसिर ५ गते वृहत शान्ति सम्झौता भयो। शान्ति सम्झौता भएको एकदश विते पनि घाइते रेखाको घाउमा मलहम पट्टि लगाउन सिंहदरबारका सरकार उनको गाउँ आइपुगेका छैनन्। पटक-पटक माओवादी पार्टीले सरकारको नेतृत्व पनि गरिसक्यो। तर उनलाई हेर्न कोही पनि आएनन्।

    विसं २०६७ सालमा ‘ग’ वर्गको अपांगता परिचयपत्र पाएका उनले बताइन। ‘क’ वर्गलाई मात्र सरकारले अपांगता सुरक्षा भक्ता पाउने व्यवस्था गरेको छ। उनले भने त्यो सुविधा पनि पाएकी छैनन्। उनी अहिले आफू घर न घाटको भएको बताउँछिन्।

    परिवारमा श्रीमान र २ जना छोरा छन्। उनको परिवार मजदुरीको भरमा चलिरहेको छ। श्रीमानले मजदुरी गरेर रेखालाई र छोराहरूलाई पाल्दै आएका छन्। आफूहरू जस्तो अरूको साहरामा बाँच्ने अपांगलाई सरकारले उचित व्यवस्था गर्नुपर्ने रेखाको माग छ। उनी भन्छिन्,‘अपांगता भएकालाई योग्यता एवं काम गर्न सक्ने रोजगारीको व्यवस्था गर्नुपर्छ। हजारौँ अपांगलाई अरूको सहारामा बस्नु पर्ने अवस्थाको अन्त्य हुने पर्छ।’

    पहिला राहत अहिले समस्या

    २०४४ साल बैशाख २९ गते धनकुटामा बुबा गेहेन्द्रबहादुर राई र आमा शुक्रमाया राईबाट जन्मिएकी रेखाले दाहिने हात गुमाएपछि मासिक ६ हजार २ सय मासिक रुपमा जीवन निर्वाहमुखी भत्ता पाउँदै आएकी थिइन्। तर अहिले त्यो भत्ता पाउन निकै समस्या भइरहेको छ।

    ‘पाइरहेको भत्ता जिल्ला प्रशासन कार्यालयले रोक्यो। भत्ता रोकिएपछि मैले गृह मन्त्रालयमा बुझेँ’, उनले भनिन्, ‘अब दिन्छ कि दिँदैन थाहा छैन।’ उनले भनिन्, घाइतेका नाममा सरकारबाट एक लाख राहत पाएँ। जनमुक्ति सेनाबाट स्वैच्छिक अवकाश लिँदा  पनि ५ लाख रकम पाएकी थिएँ।'

    नामको मात्रै गणतन्त्र आएको छ

    २०६० साल जेठ ४ गते तत्कालीन माओवादीको पूर्णकालीन कार्यकर्ता बनेकी रेखालाई अहिले आएको गणतन्त्र नेताहरूलाई मात्र आएको जस्तो लागेको छ। त्यो बेला युद्धका नेतृत्व गरेका नेताले व्यक्तिगत स्वार्थमा पार्टी फुटाउनाले वास्तविक गणतन्त्र नआएको उनको बुझाइ छ।

    ‘फरक फरक धारमा भएका पार्टी एक धारमा आए वास्तविक गणतन्त्र आउने आशा थियो’, उनले भनिन्, ‘त्यसका लागि पहल गर्ने व्यक्तिको खाँचो छ।’ हिजो समान बनाउन पर्छ भनेर युद्ध लडेको भए पनि अहिले जसको शक्ति उसको भक्ति भएकोमा दुख लागेको उनको भनाई छ। ‘युद्धबाट यति उपलव्धि भएको र अब शान्ति प्रक्रियाबाट जनवादी गणतन्त्र आउँछ भन्ने लागेको छ’, रेखाले भनिन्, ‘त्यसको लागि जनप्रिय नेताको खाँचो छ।’

    २०५९ सालमा कक्षा ८ मा पढ्दापढ्दै परिवारकी जेठी सन्तान रेखाले वुर्जुवा शिक्षा परिवर्तनको लागि युद्धमा लागेको बताइन्। तर, अहिले त्यही शिक्षाको आवश्यक पर्दा दुख लागेको बताइन्। कर्मचारी तन्त्रका कारण देशमा गणतन्त्र संस्थागत हुन समस्या रहेको उनको बुझाइ छ। उनलाई आफूले लडेका हरेक युद्ध जितेजस्तो लागेको थियो तर अहिले प्रचण्डले मात्रै जितेको र आफूजस्ता योद्धाले हारेको अनुभूति भएको बताइन्।

    युद्धका बेलामा सिकाएको मालेमावाद अहिले राजतन्त्र जस्तै तरिकाले प्रयोग भएको उनको भनाई छ। २०६६ साल साउनमा इलाममा जनमुक्ति सेनाको व्यारेकमा जनवादी विवाह गरेकी रेखाले अहिले इटहरी आफ्ना दुई सन्तानसँग बस्दै आएकी छन्। उनका श्रीमान रामकुमार जिमी पनि जनयुद्धका घाइते हुन्।

    रामकुमार भारत ३ वर्ष जेल परेपछि प्रमाणिकरणमा छुटेकाले केही राहत नपाएको रेखाले बताइन्। त्यस्ता छुटेका घाइतेलाई पनि राज्यले उचित न्याय दिनुपर्ने उनको भनाइ छ।

    युद्धको त्यो रण मैदान 

    आफैँले वीरतापूर्वक लडेका इतिहास तपाईंले सम्झाउँदा सपना जस्तो लागेको छ। भन्दा पत्यार नलाग्न सक्छ। अहिले आफैँलाई होइन जस्तो लागिरहेको छ। देशले नयाँ तरिकाले अघि बढिरहेको छ। त्यो दिन,अवस्था र परिवेश सम्झिँदा आफैँलाई दिवा सपनाझैँ लाग्छ। युद्धको अनुभव उनकै शब्दमा-

    २०६२ चैत २१ गते राति इलाममा रणमैदानमा परिणत भएको थियो। जहाँ दुईटै पक्षबाट भीषण बम बाडिङ भइरहेको थियो। अत्याधुनिक हतियारका विषालु गोली कानै वरिपरिबाट चुईचुई गर्दै जान्थे।

    आफ्नै नजिकैबाट धर्ती हल्लिने गरी बम पट्किन्थे, तत्कालीन शाही नेपाली सेना मजबुत फोट्टिफेकेसन अनि पर्याप्त युद्ध सामग्रीसहित बसेका थिए भने हामी पनि त्यस्तै तयारीमा त्यहाँ पुगेका थियौँ। हमला गरेर कब्जा गर्नु मुख्य उदेश्य थियो।

    रक्तिम इतिहास निर्माण गर्ने लालसिपाहीहरु, युद्ध ट्याक्टिस अपनाउँदै घनिभूत ढंगले आ-आफ्नो मोर्चा समाहालिरहेका थियौं। त्यही बेलानजिकै बम पट्किएको आवाज आयो त्यसपछि म पनि भुइँमा पछारिएँछु। मलाई थाहा भयन कि म घाइते भएँ भनेर, रूखको फेदको साहारा लिँदै उठ्न खोजेँ सकिनँ। शरीर पूरै रगतले तातो भएर आयो अनि पूरै शरीर झमझमायो। रिगंटा लागेर भुँइमा ढलेछु।

    किन रिगंटा लागिराछ भन्दा एक जना साथीले मलाई उठाउँदै भने, 'कमरेड तपाइँ घाइते हुनु भएको छ। म झसंग भएँ। यसो हातमा हेरेँ अध्याँरो थियो। त्यही पनि भुल्भल्ती रगत बगेको देखेँ अनि अरू केही थिएन। पकेटमा हाते रुमाल थियो त्यही रुमालले बेरे, बेर्नुको खासै कुनै अर्थ त थिएन। किन कि बगिरहेको रगत त्यो सानो रुमालले रोक्न सक्ने अवस्था नै थिएन।

    हातमा त रुमाल बेरेँ तर खुट्टामा बेर्ने केही थिएन। बेरेर सम्भव पनि थिएन। किन कि माथि देखि पैताला सम्म छियाछिया भएको थियो। हुनत अहिले समयले कोल्टे फेरिसकेको छ। यी गोलीका छर्राहरू युद्धको उपहारस्वरुप सम्झिँदै बसिरहेकी छु बाँकी स्वास्थ्य अवस्था बारे सोधखोज नगर्नुस्? घाइते सपना र घाइते शरीरको पीडाको बारेमा केही शब्दै छैनन् म यस्तै अवस्थामा बसिरहकी छु।

    आखिर जे भए पनि देश र जनताको लागि बलिदान गरेका थियौँ भन्ने कुराले सान्त्वना लिनुको विकल्प देख्दिनँ।सबै पीडा आन्दोलनकै बीचबाट सहज भएर गए। तर दुख यो मानेमा लाग्छ की म जस्तै हजारौं घाइते अपांगको उचित व्यवस्थापन हुन सकेन। देशलाई यो अवस्थामा ल्याई पुर्‍याउने वीर योद्धा अरबका खाडी मुलुकहरूमा जीवन र मृत्युुसँग लडिरहेको देख्दा पहुँच भएकाहरूको हालिमुहाली भएको देख्दा खिन्न महशुस हुन्छ।

    पावर नभएका साथीको बिचल्ली देख्दा एकदमै दुख लाग्छ। हाम्रो बलिदान माथि कुठाराघात भइरहेको अनुभूति हुन्छ। हुनत जीवन नै संघर्ष हो,संघर्ष बिनाको जीवन अधुरो र अपूरो छ। हिजो देश र जनताको लागि संघर्ष गरियो। अहिले आफ्नो लागि संघर्ष गरिरहेकी छु। जब सम्म यो घाइते जीवन जीवित रहन्छ। तबसम्म संघर्ष जारिरहने छ।

    देश र जनताको लागि गरिएको बलिदानमा खासै पश्चताप छैन पश्चाताप यो मानेमा छ दिनदाहाडै सपनाको हत्या हुनुले स्वार्थका लागि इतिहासको हत्या गरेको हुनाले निकै खिन्न छु।

ईश्वर थापा

थापा थाहा खबरका धनकुटा समाचारदाता हुन्। ईमेल : ishwor.press@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]