|

  • भुपाल थापा

कपिलवस्तु : साता दिनदेखि सुरु भएको शितलहरका कारण कपिलवस्तु जिल्लाको जनजीवन प्रभावित भएको छ। बिहानैबाट चल्ने चिसो हावा तथा बाक्लो हुस्सुका कारण ग्रामिण तथा शहरी क्षेत्रको जनजीवन प्रभावित छ। 

सडकमा सवारी साधनको संख्या निकै कम भएको छ। शितलहरले नवजात शिशु, बालबालिका र जेष्ठ नागरिकलाई बढी प्रभावित गरेको छ। पशु–चौपाया पनि शितलहरको मारमा छन्। 

लगातारको शितलहरले बजारमा चहलपहल न्यून भएको छ। पथ्थरकट, नेटुवा, ढांडी लगायतका सिमान्तकृत समुदायलाई शितलहरले बढी प्रभावित पारेको छ। आर्थिक अवस्था कमजोर भएकाहरुलाई गाँस, बास र कपासको समस्या छ।

मर्कामा किसान 

बाक्लो हुस्सु र शितलहरका कारण जिल्लामा किसानले लगाएको तरकारी बालीमा क्षति पुगेको छ। रातदिन बाक्लो हुस्सु लाग्न र शितलहर चल्न थालेपछि आलु र टमाटर खेतीमा धेरै क्षति पुगेको किसानहरुले बताएका छन्। 

हुस्सु र शितलहरबाट आलु तथा टमाटरलाई बँचाउन ढुसीनासक औषधि छर्किनु पर्ने जिल्ला कृषि विकास कार्यालय कपिलबस्तुका बाली संरक्षण अधिकृत रामकृष्ण कहांरले बताए। हुस्सु र शितलहरले आलु र टमाटरमा क्षति पुर्‍याएपछि कपिलबस्तुको धनकौली, निग्लिहवा, सिंहखोर, हरदौना, कजरहवा तथा महाराजंगज लगायतका ठाउँका किसानहरु समस्यामा छन्। अत्याधिक कुहिरोले हिउँदे नगदे बालीमा नराम्रो असर पारेको छ।

नगदे बाली केराउ, तोरी, आलु र रहरमा फुल लाग्ने र कोस बोक्ने समयमा फुल सुक्ने गरेको कृषक राम कुमार बासकोटाले बताएका छन्। ‘हिउँ जस्तै सेतो सेतो पानीको थोपाले हरियो बोट पहेलो भै सुक्ने गरेको छ, यसले हामीलाइ निकै सास्ती भएको छ,’उनले भने।

कपिलवस्तुमा आ.ब. २०७३\०७४ मा २ हजार ८ सय २५ हेक्टरमा केराउ खेती गरिएको कृषि कार्यालयका प्रमुख राकेश ओझाले बताए। २ हजार ८ सय ४५ हेक्टरमा तोरी र २ सय ७० हेक्टरमा रहर खेती लगाइएको छ। २ हजार ५ सय १५ हेक्टरमा आलु लगाइएको जिल्ला कृषि कार्यालयले जनाएको छ।      

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.