'सरकारले काम सुरु गरोस् साथ हामी दिन्छौँ'

|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तीनै सरकार मिलेर पश्चिम सेतीको निर्माण कार्य अघि बनाउनुपर्ने बताए। 

स्थानीय, प्रदेश र संघीय सरकार मिलेर ७५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढाउनुपर्ने बताएका हुन्। सोमबार डडेल्धुरामा नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सबै मिलिर पश्चिम सेती बनाउनुपर्ने बताएका हुन्। 

पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्ने भनेको वषौँ बितिसकेको भन्दै उनले संघीय सरकारले पश्चिम सेतीलाई सुरु गरे आफूहरू साथ दिन तयार रहेको बताएका छन्। 

गत फागुनमा डडेल्धुरा पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नै पश्चिम सेतीको काम सम्पन्न गराउने दाबी गरेका थिए। तर, प्रधानमन्त्री ओलीले दाबी गरेको सात महिना बित्दा समेत पश्चिम सेतीको काम अघि बढ्ने सुरसार कतै नदेखिएपछि मुख्यमन्त्रीले सबै मिलेर बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्। 

संघीय सरकारप्रति लक्षित गर्दै मुख्यमन्त्री भट्टले अरुले पैसा दिएन भनेर हामीले किन यसको काम रोख्ने? भन्दै प्रश्न गरे। ‘संघीय सरकारसँग हामीले पश्चिम सेतीका बारेमा पटकपटक भनेको छौँ। संघीय सरकारसँग अहिले पनि हामी भन्छौँ सरकारले सुरु गरोस्। संघीय, प्रदेश, स्थानीय सरकार र जनतासहितको साँझा पहलबाट यसलाई बनाउन सकिन्छ’ उनले भने, ‘हामी अरुबाट किन पैसा खोज्ने? अरुले दिएन भनेर हामी किन रोख्ने? यो कुरा हामी सरकारसँग भनिनै राखेका छौँ।’

उनले जसरी भएपनि पश्चिम सेती बनाउनुपर्ने उनको भनाइ थियो। पश्चिम सेती बनेपछि सुदूरपश्चिम प्रदेशको ‘कायापलट’ हुने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले पश्चिम सेती नबन्नु दुखद भएको बताए।

‘पश्चिम सेती तीन वटै सरकार र यहाँका जनता मिलेर बनाउनुपर्छ। सुदूरपश्चिमको विकासमा यसको महत्पूर्ण भूमिका रहन्छ’ उनले भने,‘समग्र राष्ट्रको विकासमा पश्चिम सेतीले टेवा पु¥याउँछ। पश्चिम सेती बनेपछि सुदूरपश्चिमको ‘कायापलट’ नै हुन्छ।’

विकासमा साँझा धारण बनाएर जाऔँ

मुख्यमन्त्री भट्टले विकासमा साँझा धारण बनाएर अघि बढ्न स्थानीय सरकार प्रमुखहरुलाई आग्रह गरेका छन्। स्थानीय सरकार प्रमुखहरुलाई विकास निर्माण गर्दा पहिलो हुन्छु भन्नुभन्दा पनि राम्रो काम गर्न उनको सुझाव छ।

विकास निर्माणमा पहिलो हुन्छु भन्ने सोच हटाउनुपर्ने उनको भनाइ छ। गाउँठाउँको विकास गुणस्तरीय, भ्रष्टाचार मुक्त कसरी बनाउने भन्ने विषयमा सबैले एकजुट भएर अघि बढ्नुपर्ने उनले औँल्याए। 

‘विकासका क्षेत्रमा हामी सबै साँझा धारण बनाएर जाऔँ। हामी को पहिलो हुनेभन्दा कसले राम्रो काम गर्ने भन्नेमा अघि बढौँ।’ उनले भने। स्थानीय, प्रदेश र संघीय सरकारसँग आ–आफ्ना किसिमका समस्याहरु रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले देखिएका समस्याहरु सामाधान गर्नका लागि जनप्रतिनिधिहरू नै एक ठाउँमा उभिनुपर्ने बताए।

जनताको दबाब स्थानीय सरकारमा

सरकारमाथि जनताका अपेक्षा धेरै रहेको बताउँदै मुख्यमन्त्री भट्टले स्थानीय सरकार जनताको नजिकको सरकार भएको धारणा व्यक्त गरे। जनताका विभिन्न किसिमका दबाबहरू सबैभन्दा बढी स्थानीय सरकार त्यसपछि प्रदेश र संघीय सरकारमा रहेको उनको बुझाइ छ।

‘अहिले जनताका अपेक्षाहरू बढेका छन्। जनताको नजिकको सरकार भनेको स्थानीय सरकार हो। स्थानीय सरकारमा जनताहरुको दबाब छ’ उनले भने, जनताले नजिकको सरकार स्थानीय सरकारले नै समस्या सामाधान गर्छ भन्ने उनीहरू बुझेका छन्।’

चुनावका बेला सबैले ‘सिंहदरबारको अधिकार गाउँगाउँ’ मा भनेर भाषण गरेको उल्लेख गर्दै उनले यसलाई कार्यान्वय गर्नमा समस्याहरु देखिएको बताए। पछिल्लो समय तीन तहका सरकार एकअर्कामा आरोप–प्रत्यारोप लगाइरहेको उनको भनाइ छ। उनले एक सरकारले अर्को सरकारलाई दोष दिन नहुने बताए। 

‘चुनावका बेला हामीले सबैले सिंहदरबारको अधिकार जनताको घरदैलोमा भनेर भाषण गर्‍यो’ उनले भने,‘तर यसलाई कार्यान्वयनमा लैजाँदा जुन प्रकारका समस्याहरू देखिएका छन्। यसलाई हामीले समाधार गरेर जानुपर्छ।’

‘अहिले संघीय सरकारलाई हामीले दोषी देखाउने, प्रदेश सरकारलाई स्थानीय तहले दोष लगाउने र हामीले स्थानीयलाई दोषी बनाउने गरिएको छ।’ मुख्यमन्त्री भट्टले अघि थपे,‘यो एकअर्कालाई दोष दिनु जरुरी छैन।’

जनताको भावना अनुसार कसरी काम गर्न सकिन्छ त्यसबारे तीनै सरकारले सुझबुझका साथ अघि बढ्नुपर्ने उनको तर्क थियो।

विगतमा विकास पाएनौँ, अब हामीले गर्नुपर्छ

मुख्यमन्त्री भट्टले विगतका दिनमा अरुका कारणले सुदूरपश्चिममा विकास नभएकाले अब हामीले यस क्षेत्रको विकास गर्नुपर्ने बताए। यहाँ अहिले संविधान तह अधिकार सम्पन्न स्थानीय र प्रदेश सरकार रहेको बताउँदै उनले सिंगो प्रदेशको विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा दुबै सरकार मिलेर अघि बढ्नुपर्ने बताए।

सुदूरपश्चिम प्रदेश सबै क्षेत्रमा धनी प्रदेशका रुपमा रहेको उनको भनाइ थियो। यहाँको कृषि, पर्यटन, जलविद्युत्, शिक्षा, स्वास्थ्यलगायतका विषयमा कसरी विकास गर्ने भन्ने नै प्रदेश र स्थानीय सरकारको चिन्ताको विषय भएको बताए।

सम्बन्धित समाचार 
देउवाको गृहजिल्लामा ओलीको बोली : पश्चिम सेती वर्तमान सरकारले नै बनाउँछ
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.