|
फाइल फोटो

संखुवासभा : संखुवासभाको धर्मदेवी नगरपालिका-८ अक्कर भीरमा मंगलबार राति जिप दुर्घटना हुँदा अरुण नदीमा ६ जना बेपत्ता भएका छन्। अरुण नदीमा खसेको जीप नभेटिएपछि खोजीको लागि गोताखोर बोलाइने भएको छ।  बेपत्ताको खोजी गर्न चितवनबाट गोताखोर बोलाइएको संखुवासभाका प्रहरी प्रमुख डिएस्पी मिम लामाले जानकारी दिए।

माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण अरुण नदीको बहाव उच्च भएको छ। प्रहरी र स्थानीयले मंगलबार रातिदेखि नै खोजी गरिरहेको भए पनि फेला नपरेको प्रहरीले बताए। गोताखोरलाई बुधबार नै बोलाइएको भए पनि मौसमका कारण  दुर्घटना स्थलमा ल्याउन कठिनाइ भएको डिएस्पी लामाले बताए। बिहीबारसम्ममा मौसम खुलेमा गोताखोरले आएर पुनः खोजी कार्य गरिने बताए। घटनास्थल अक्कर भीरमा अहिले २५ जना सुरक्षाकर्मीका टोली खटाएको उनको भनाइ छ।

जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि मंगलबार राति धरान जाँदै गरेको जिप ब्रके फेल भएर साढे १० बजे अक्करको भीरबाट अरुण नदीमा खसेको थियो। बेपत्ता हुनेमा खाँदबारी नगरपालिका–९ का २४ वर्षीय संगम श्रेष्ठ उनकी श्रीमती २३ वर्षीय सदीक्षा श्रेष्ठ उनको दुई महिनाको छोरा समिर श्रेष्ठ बेपत्ता भएका छन्। उनीहरू तीनैजना एकै परिवारका हुन्।

त्यस्तै, खाँदबारी–९ का  २४ वर्षीय प्रमेश थापा मगर, उनका भिनाजु जिल्ला खोटाङका २९ वर्षीय खबरमान पिठाकोटी र गाडी चालक खाँदबारी नगरपालिका-९ ढुंगेधाराका २५ वर्षीय सन्तोष बिक बेपत्ता भएको संखुवासभा प्रहरीले जनाएको छ। बिरामी प्रमेश थापा मगर र समिर श्रेष्ठलाई जिल्ला अस्पताल खाँदबारीले 'रिफर' गरेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा जिप अक्करको भीरबाट तल अरुण नदीमा खसेर बेपत्ता भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.