|
Photo: RSS

काठमाडौं : नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन शुक्रबारबाट शुरु भएको छ। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले महाधिवेशनको उद्घाटन गर्दै अहिलेको सरकारको कार्यशैली समाजवाद उन्मुख नदेखिएकाले सरकारले आफूलाई सुधार्नु पर्ने आवश्यकता औँल्याए।

उनले अहिलेको नेकपाबाट समाजवाद आउने कुरा असम्भव रहेको दाबी गर्दै    वर्तमान सरकारमा सामन्तवाद चरित्र देखा परेको आरोप लगाए। बेरोजगारीको समस्याका कारण विदेशिनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ भन्दै उनले यसलाई रोक्न नसक्नु सरकारको कमजोरी रहेको चर्चा गरेका थिए।

नेमकिपा राजनीतिक चिन्तन बोकेको आफ्नै नीतिमा चल्ने र रचनात्मक आलोचना गर्ने पार्टी भएको बताउँदै अध्यक्ष बिजुक्छेले नेमकिपाले विदेशी हस्तक्षेपको खुलेर विरोध गर्दै आएको भनाइ राखेका थिए।

बन्दुक बोक्दैमा कम्युनिष्ट बन्न नसक्ने टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले भने, ‘क्रान्तिकारी र कम्युनिष्ट बन्ने कसी बन्दुक बोक्ने कार्यबाट हुन सक्दैन, नीति, व्यवहार र चरित्रले कम्युनिष्ट बनेर देखाउन नेकपालाई चुनौती दिन्छु।‘ कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले सिन्दूरसँग नागरिकता साट्ने गरी नागरिकता विधेयक पारित गर्न नहुने बताए।

नेपाल मजदूर किसान पार्टीले देशको सार्वभौमिकता रक्षा र प्रजातन्त्रको लागि स्थापनाकालदेखि नै साम्राज्यवाद र विस्तारवादविरुद्ध संघर्ष गर्दै आएको बताउँदै सचिव सुवालले नेपालको किसान आन्दोलन र भ्रष्टाचार विरोधी आन्दोलनमा पार्टीले महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका थिए।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापति प्रदेश ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गुसाई, सिर्जना सायजु, पूर्वसांसद अनुराधा थापामगर विभिन्न भ्रातृ सङ्गठनका अध्यक्षहरूले देशको सार्वभौमिकता रक्षाका लागि नेमकिपा सधैँ अगाडि उभिँदै आएको बताए।

आगामी ५ गतेसम्म सञ्चालन हुने नेमकिपाको सातौँ महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्तावेज पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ। विधान संशोधनमार्फत हाल रहेको २५ सदस्यीय केन्द्रीय समितिलाई परिमार्जन गरी संख्या बढाउने र पार्टीमा महासचिवको व्यवस्था गर्नेबारे छलफल गरिने पार्टी स्रोतले जानकारी दिएको छ।

यसअघि नेमकिपाको २०७० साल चैत २१ गते काठमाडौं खुला मञ्चमा छैटौँ महाधिवेशन सम्पन्न भएको थियो भने पार्टी स्थापनाकालदेखि हालसम्म नारायणमान बिजुक्छे पार्टीमा अध्यक्ष चयन हुँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.