शिक्षक मिलान नहुँदाको समस्या

|

  • किरणकुमार कर्ण

धनुषा : 'काम नगरी सरकारी तलबभत्ता लिन पाइन्छ', भन्ने सुन्दा अचम्म लाग्नसक्छ। अचम्म मान्नु पर्दैन, धनुषाका सामुदायिक विद्यालयमा पहुँचवाला शिक्षक वर्षभरी विद्यालयमा पढाउँदै नपढाइ तलबभत्ता बुझ्छन्। 

दरबन्दी मिलान हुननसक्दा धनुषाका विद्यालयमा कतै शिक्षकको अभाव छ, भने, कतै विद्यार्थी भन्दा शिक्षक बढी छन्, जसले कामै नगरी तलबभत्ता पाइरहेका छन्।

धनुषाको फूलगामामा २०६५ सालमा स्थापना गरिएको जनता राष्ट्रिय प्राथमिक विद्यालयमा दलित तथा पिछडिएका समुदायको एक सय ८५ जना विद्यार्थी अध्ययनरत रहेका छन्। भुइँमै बसेर पढाइ हुँदै आएको यस विद्यालयमा फर्निचरको अभावसँगै एकजना शिक्षक र दुईजना पिसीएफ शिक्षिका मात्र रहेको सो विद्यालयका प्राचार्य नितियानन्द झा बताउछन्। जनकपुरको असर्फी साह निम्न माध्यमिक विद्यालयको अवस्था भने फूलगामाको विद्यालय भन्दा निकै फरक रहेको छ।

शिक्षक सङ्घ धनुषाका सचिव रामस्नेही यादव प्राचार्य रहेको यस विद्यालयमा आवश्यक फर्निचरसँगै २ सय ४ जना विद्यार्थीका लागि १४ जना शिक्षक कार्यरत रहेको असर्फी साह निमाविका प्राचार्य यादव बताउछन्।

जिल्ला शिक्षा कार्यालय धनुषाले जनकपुरको राजर्षिजनक राष्ट्रिय प्राथमिक विद्यालय झुलाघरमा एक सय २५ जना विद्यार्थीका लागि १४ जना शिक्षक खटाएको छ।

यसैगरी जनकपुरकै जनता राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था पनि उस्तै छ। १ सय ४३ जना विद्यार्थीका लागि पनि ११ जना शिक्षक खटाइएको श्री जनता राष्ट्रिय प्राथमिक विद्यालय लक्ष्मण अखडा जनकपुरका प्रध्यानाध्यापक रामशम्शेर साहले बताए। जनकपुरमा रहेका १६ वटा प्राथमिक विद्यालयमा आठ सय ८३ जना बालबालिका मात्र अध्ययनरत रहे पनि सयजना शिक्षक कार्यरत छन्। ग्रामीण क्षेत्रका विद्यालयमा दरबन्दी भए पनि शिक्षक सङ्घ–सङ्गठनका अगुवा र राजनीतिक दलका नेताका नातागोता सदरमुकाम केन्द्रित हुँदा धनुषाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी मिलान नगरिएको श्री महारानी माई राष्ट्रिय प्राथमिक विद्यालय भतहीपटेर्वाका प्रध्यानाध्यापक पशुपति ठाकुर बताए।

धनुषाका जिल्ला शिक्षा अधिकारी शङ्करकुमार कार्कीकाअनुसार २ सय ८६ वटा प्राथमिक विद्यालयमा १ हजार ३ सय भन्दा बढी शिक्षक कार्यरत छन्। यस्तै ८३ वटा निम्न माध्यमिक विद्यालयमा दुई सय ३३ जना शिक्षक छन्, भने ६१ वटा माध्यमिक विद्यालयमा ३ सय २ शिक्षक छन्।

शिक्षा नियामावलीमा तराईमा ५०, पहाडमा ४५ र हिमाली क्षेत्रमा ३० जना विद्यार्थी बराबर एकजना शिक्षक राख्ने प्रावधान छ। लामो समयदेखि धनुषामा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी मिलान गरिएको छैन। जसले सामुदायिक विद्यालयको पठनपाठन नै प्रभावित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.