६ सय बढी पशुको बली

|

बैतडी : महाष्टमीको अवसरमा आइतबार बैतडीका विभिन्न शक्तिपीठहरूमा बलीसहित पूजाआजा गरिएको छ। प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा राँगा तथा बोकाको बलीसहित पूजा सम्पन्न भएको निङ्गलाशैनी धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिए। 

निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमीको अवसरमा लागको मेलामा ३०१ राँगा र ३५० बोकाको बलि दिइएको छ। परापूर्वकालदेखि नै बलीदिने चलन रही आएकाले महाष्टमीको अवसरमा सो मन्दिर राँगा तथा बोकाको बलि चढाउने गरिएको बोहराले बताए। 

दर्शनार्थीले भाकल गरे अनुसार राँगा तथा बोकाको बलि चढाउने परम्परा रही आएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा २० हजार बढी दर्शनार्थीले दर्शन गरेको निङ्गलाशैनी धार्मिक सेवा समितिका सचिव कृष्णप्रकाश बोहराले बताए। जात्रामा नेपाल तथा छिमेकी भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन्। 
निङ्गलाशैनी भगवती मन्दिरमा लागेको जात्रालाई व्यवस्थापन गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरेर एक सय बढी सुरक्षाकर्मी खटाइएको थियो। 
यस्तै त्रिपुरासुन्दरी भगवती मन्दिर,पुर्चौंडीस्थित डिलाशैनी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, सुर्नयास्थित फाल्ङासैनी भगवती मन्दिर लगायतका शक्तिपीठमा बलिसहित पूजाआजा गरिएको छ। 

महाष्टमीका अवसरमा जिल्लाका अन्य मठ मन्दिरहरूमा पनि पूजाआजासहित बली दिने परम्परा रही आएको छ। यस्तै बैतडीको पाटनस्थित उदयदेव मन्दिर र शिवनाथको कफाडीमा रहेको उदयदेव मन्दिरमा आजदेखि जात्रा शुरु भएको छ। ती मन्दिरहरूमा भोली महानवमीका दिन बोका तथा राँगाको बलि दिने चलन रही आएको छ। 

महाष्टमीका दिन मन्दिरमा राँगा लग्ने र महानवमीका दिन राँगा काट्ने चलन रही आएको छ। यसैबीच उदयदेव मन्दिर पाटन र कफाडीमा लाग्ने मेलालाई मध्यनजर गरेर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएका छन्। जिल्लाका विभिन्न शक्तिपीठहरूमा लाग्ने मेलालाई शान्तिपूर्ण सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय सुरक्षा योजना बनाएर काम गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

मदिरा सेवन तथा बिक्री वितरण गर्ने पाँच पक्राउ

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमीको अवसरमा लागेको मेलामा मदिरा बेचबिखन गर्ने दुईजना र सेवन गरी हो हल्ला गर्ने तीनजनालाई जरीवाना गरिएको छ।

मेला व्यवस्थापन समिति र वडा कार्यालयले सूचना जारी गरेर पञ्चमीदेखि मेलास्थललाई पूर्ण रुपमा मदिरा निषेधित क्षेत्र घोषणा गरेको भए पनि सूचनाको अवज्ञा गर्नेहरूबाट जरीवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। 

मदिरा बेचबिखन गर्नेहरूबाट ६ हजारका दरले १२ हजार र मदिरा सेवन गरी होहल्ला गर्नेहरूबाट २ हजारका दरले तीन जनाबाट ६ हजार गरेर १८ जरीवाना संकलन गरिएको छ। मदिरा निषेधित क्षेत्रमा मदिरा बिक्री वितरण र सेवन गरेको पाइएकाले जरिवाना गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.