|

काठमाडौं : संघीय संसद सचिवालयले हत्या आरोपमा पक्राउ नेपाली कांग्रेसका सांसद मोहम्मद आफताव आलमको सेवा सुविधा खोसिएको सूचना जारी गरेको छ।

हत्या आरोपमा रौतहट प्रहरीबाट आइतबार पक्राउ गरिएका आलमलाई संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार निलम्बन गरिएको सूचना संघीय संसद सचिवालयले जारी गरेको हो।

संघीय संसद सचिवालयका सचिव डा. भरतराज गौतमले सोमबार एक सूचना जारी गर्दै आलमले सांसद पदबापद पाउने सुविधान निलम्बन  गरिएको जनाएका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहट, गौरले कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा प्रतिनिधिसभामा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद आलमलाई जिल्ला अदालत रौतहटको पक्राउ पूर्जीअनुसार पक्राउ गरिएको प्रहरीबाट जानकारी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई गराएको उल्लेख गर्दै सचिव गौतमले उक्त सूचना जारी गरेका छन्।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ बमोजिमको प्रयोजनका लागि पक्राउ गरिएको हुँदा उपनियम २ बमोजिम सूचना जारी गरिएको गौतमले जनाएका छन्।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ मा  ‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ’, भन्‍ने व्यवस्था छ।

आलमलाई २०६४ मा संविधानसभा निर्वाचनमा जीत हासिल गर्नका लागि बम विस्फोट गराउने योजना बनाउँदा उक्त बम घरमै पड्किएर २ जनाको मृत्यु भएको र घटनामा केही व्यक्ति घाइते भएका र उनीहरूलाई जिउँदै इटा भट्टीमा हालेर जलाएको आरोप लागेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.