|

सर्लाही : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सर्लाही सदरमुकाम मलङ्गवा बजार बन्द गराएको छ। 

जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका प्रतिनिधि सभाका सांसद प्रमोद साहको रिहाई माग गर्दै राजपाले मलंगवा बन्द गराएको हो। 

बन्दका कारण मलंगवाका कुनै पसल व्यवसाय खुलेका छैनन्। गाडी पनि बन्द छन्। राजपाका नेता कार्यकर्ताले नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेका छन्। 

आन्दोलनलाई मध्यनजर गर्दै सुरक्षा सर्तकता बढाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए। मलङ्गवास्थित खुटौना निवासी सांसद साह सर्लाही क्षेत्र नम्वर १ का सांसद हुन्। साह निर्वाचित भएको क्षेत्रको अवस्था भने सामान्य छ। 

सर्लाहीको बरहथवा, वयलवास लालबन्दी, हरिवनल, हरिपुर,नवलपुरलगायतका बजार खुलेका छन् भने पूर्व–पश्चिम राजमार्गमा निर्वाध रुपमा गाडी चलिरहेका छन्। 

सांसद साहले बुद्ध एयरको विमानले समयमै उडान नभर्दा उपचारका लागि काठमाडौं जान लागेका एक बिरामीको अवस्था गम्भीर भएपछि आक्रोशित भएर तोडफोडमा उत्रिनुपरेको बताएका छन्। 

त्यसबारेमा धनुषाका प्रमुख जिल्ला अधिकारी र बुद्ध एयरका इन्चार्जलाई पटक–पटक जानकारी गराउँदा बेवास्ता गरेपछि तोडफोड गरेको उनले त्यही दिन स्वीकारेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.