जीवन शर्मा आधा डुबिसके, अब पुरै डुब्छन्

|

काठमाडौं : जनगायक जीवन शर्माका छोरा अहिले 'जीवन-मृत्युसँग संघर्ष गरिरहेका छन्। जीवनभरि जनताका गीत गाउँदै हिँडेका उनै बाबु जीवन छोराको जीवन बचाउने उपाय खोज्दै अस्पतालमा टोलाइरहेका छन्।

जीवनका छोराको उपचारका लागि सहयोगी हात अघि बढिरहेका छन्। तर सम्पत्ति केही होइन, जनता नै सबै हुन् भन्दै हिँड्नेको नियति कस्तो हुन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन्। उनै जनगायक जीवन शर्मासँग काँधमा काँध मिलाएर जनता जगाउँदै हिँडेका चर्चित हाँस्यव्यंग्यकार मनोज गजुरेल अहिले उस्तै उदास छन्।

सम्पत्तिको पछि नलागी कम्युनिष्ट पार्टीको सिद्धान्त शिरोपर गरेर हिँडेका जीनव शर्माका छोराले जीवन-मृत्युबीच संघर्ष गरिरहँदा कम्युनिष्टकै सरकारले पनि बेवास्ता गरेकोमा उत्तिकै उदास छन्। 

जीवनको बिरामी छोरो बचाउन सहयोग अभियान पनि चलाइरहेका उनै मनोज गजुरेलले शुक्रबार राति मनछुने धारणा फेसबुकमा पोखे। उनले सुरूमै लेखेका छन्, 'कम्युनिष्ट भनेका जोगीजस्तै हुन् ! तिनको नीजि सम्पती र नीजि स्वार्थ हुँदैन! सम्पूर्ण जीवन देश र जनतामा समर्पित गर्छन् ! जसरी जोगीको घरबार हुँदैन, त्यसैगरी कम्युनिष्टको पनि दरबार हुंदैन !..

यो पनि : जनगायकलाई छोराको उपचार गर्न चाहियो जनताको साथ

उनले सुरूमा यो सिद्धान्तको कुरा गरे। तर उनी दोस्रो लाइनमा नपुग्दै यस्ता कुराबाट मोहभंग भइसकेको भन्दै मनका कुरा खोल्छन्। 'तर, देख्छु-यी सबै दन्त्यकथामात्र हुन्, जो पुस्तकमा मात्र पाइन्छन्। मरेपछि स्वर्ग पुगिन्छ भनेर ज्युँदै मर्न सिकाउने अन्धविश्वास र क्रान्तिपछि मुक्ति पाइन्छ भन्दै लड्न पठाउने सिद्धान्तमा केही फरक छैन...'

मनोजको बुझाइमा अहिलेको युवा शक्ति कुनै वादको ठेली पढेर वा सिद्धान्त मन पराएर कुनै राजनीतिक शक्तिको पछि नलागेको उनको बुझाइ छ। '...अहिलेको युवा जुन राजनैतिक शक्तिको पछि लाग्छ, त्यो कुनै वादको ठेली पढेर वा सिद्धान्त मन पराएर वा त्यही नै अन्तिम सत्य ठानेर अंगालेको होइन', उनी तर्क गर्छन्, 'बुवा कम्युनिष्ट भएकाले छोराहरु कम्युनिष्टमा लागेका होलान्! श्रीमान् कांग्रेस भएकाले श्रीमती कांग्रेस बनेकी होलिन्! आशा, निराशा, अपेक्षा, सुरक्षा आदि इत्यादिका कारण हामी यो वा त्यो पार्टीको नजिक वा टाढा भएका हौं...'

सधैँ जनताको गीत गाएर हिँड्ने जीवन शर्माको अहिलेको अवस्था देखेर उनको मन विरक्तिएको छ, भक्कानिएको छ। '...अहिले जनगायक जीवन शर्माको अवस्था हेरे पुग्छ । सधैँभरी जनताको गीत गाएर हिँड्ने जीवनले सम्पत्ति छोराहरुलाई दिएर हिँडे। आफ्नो भन्नु केही छैन,' उनी अझै थप्छन्, 'छोराहरुको अवस्था पनि झण्डै त्यस्तै छ । '...वास्तविक सर्वहारा’जीवनका छोरा अहिले जीवनमरणको दोसाँधमा छन्। उपचार गर्न धौ धौ छ...'

छोराको उपचारका क्रममा जीवन आधा डुबिसकेको उनी बताउँछन्। '...छोराको उपचारका क्रममा जीववन आधा डुबिसकेका छन्, निको भए पनि, नभए पनि ऋणमा पुरै डुब्दैछन्...'

आदर्शको राजनीति गर्ने जीवनको यो अवस्थाले मनोज रन्थनिएका छन्। '...के आदर्शको राजनीति गर्नु भनेको यसरी नै डुबान क्षेत्रमा पस्नु हो त... ?', उनी सोध्छन्, '...यो त चिनिएका जीवनको कथा भयो, दुरदराजका हजारौं गुमनाम जीवनहरु आर्दशको राजनीति गर्दागर्दै रोगी बनेका छन्। जोगी बनेका छन्। सिद्धान्तले भोको पेट नभरिने निष्कर्षमा पुगेका छन्...।'

जीवन अंग्रेजीमा स्नातकोत्तर हुन। उनले चाहेको भए सुविधायुक्त जीवन जिउन सक्ने मनोजको बुझाइ छ। '...अंग्रेजीमा स्नातकोत्तर जीवन शर्माले चाहेको भए सुविधासम्पन्न जीवन बाँच्न र बँचाउन सक्थे', मनोज अगाडि लेख्छन्, 'तर, जनताको साथ रोजे, नीजि सम्पत्ति छोडे, कतै ब्यवसाय गरेनन्। अहिले फुट्या कौडी छैन। तर पनि गम्भीर बिरामी छोराको हात सुम्सुम्याउँदै भन्छन्,‘मलाई विश्वास छ, जीवन हुञ्जेल मृत्यु आउँदैन!' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.