|

काठमाडौं : गत पुस २२ गते, भक्तपुरको कौशलटारमा रहेको एनआइसी एसिया बैंकबाट मन्दिरा अधिकारीले छ लाख रुपैयाँ झिकिन्। बैंकबाट झिकेको रकम झोलामा राखेर स्कुटरको अगाडीपट्टि झुन्डाइन् र गठ्ठाघरमा रहेको सहकारीमा पैसा बुझाउन हिडिंन्। 

एक्कासी मोटरसाइकलमा आएका दुई जनाले स्कुटरमा झुन्डाएको उनको झोला लुटे। उनीहरु लगत्तै फरार भए। भर्खरै बैंकबाट निकालेको रकम लुटिएपछि उनी रोइकराई गर्न थालिन्। 

असोज ६ गते काभ्रेको बनेपास्थित तरकारी बजार नजिक यस्तै घटना घट्यो। कन्ट्री विकास बैकमा पैसा जम्मा गर्न लागिएको ३७ लाख रुपैयाँ त्यसरी नै लुटपाट भयो। असोज १४ गते भक्तपुरको राधे राधे मन्दिर नजिकैबाट मायादेवी उप्रेतीको ९३ हजार रुपैयाँ पनि लुटियो।

उस्तै प्रकृतिका लुटपाटका घटना विभिन्‍न स्थानमा घटेपछि प्रहरीले लुटेराको खोजी थाल्यो। खोजी गर्दै जाँदा फेला परे, रामेछाप दोरम्बा घर भई दक्षिणढोका बस्ने २९ वर्षिय सागर भनिने टिकाबहादुर मगर। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले मगरलाई पक्राउ गरी बयान लिन थाल्यो। उनको बयानबाट प्रहरी पनि छक्क पर्‍यो। 

‘उनी त पैसा भएको झोलामात्र नभएर मोटरसाइकल, मोटर र सुन पनि लुट्दै आएका रहेछन्,’ महाशाखाका प्रमुद एसएसपी सर्वेन्द्र खनालले भने,'पटक- पटक गरी पाँच पटक जेल परेर छुट्दै फेरी लुटपाटमा संलग्न हुँदै आएका व्यक्ति पो रहेछन्। हामीले एउटा लुटपाटको घटनालाई आधार बनाएर अनुसन्धान सुरु गरेका थियौं, उनी त श्रृंखलाबद्ध रुपमा लागेका व्यवसायिक लुटेरा पो निस्किए।’

उनले मंसिर ५ गते भक्तपुरको कटुन्जेमा रहेको इस्ट इन्टरनेशनल मनी ट्रान्सफरबाट सुस्मिता सुवेदीको ७३ हजार, मंसिर १९ गते पवित्रनगरबाट यमकला भण्डारीबाट सहकारीबाट निकालेको तीन लाख ६० हजार रुपैयाँ पनि लुटपाट गरेको खुल्न आएको एसएसपी खनालले जानकारी दिए। 

मगरले गत जेठ १ गते शिक्षण अस्पतालमा पार्क गरिराखेको बा ७४ प ३६३२ नम्बरको निलो रंगको मोटरसाइकल, पुरानो बानेश्वरबाट जीवन शर्माको बा ६८ प ९०१८ नम्बरको मोटरसाइकल, ओम अस्पताल, चावहिलबाट बा ६७ प ८४६८ नम्बरको मोटरसाइकल, भाटभटेनीबाट रामकाजी श्रेष्ठको मोटरसाइकल चोरी गरेको अनुसन्धानमा खुलेको छ।

उनले २०७२ जेठ ३२ गते बौद्धको भाटभटेनीमा पार्क गरेर राखिएको विष्णुबहादुर गुरुङको बा ६ च ७६९८ नम्बरको रातो रंगको बोलेरो गाडी नै चोरी गरेको पनि प्रहरीले फेला पारेको छ। बोलेरो गाडी उनले मकवानपुरको पदमपोखरीमा लुकाएर राखिएको अवस्थामा फेला परेको महाशाखाका डिएसपी रमेश थापाले जानकारी दिए।

‘चोरीको मोटरसाइकलमा नै नम्बर परिवर्तन गरेर उनले रकम र सुन चोरी गर्ने गरेका रहेछन्’, उनले भने, ‘जसले गर्दा फरक-फरक मोटरसाइकल भएको कारण पनि फरक फरक मान्छे भन्ने भ्रम पारिएको थियो।’

उनी गत २०७१ माघ २१ गते सरस्वती आचार्यले नयाँ बानेश्वरको गोल्बल आइएमई बैंकबाट १८ लाख ८४ हजार रुपैयाँ झिकेर जान लाग्दा सबै रकम भएको झोला लुटेर फरार भएका थिए। त्यस्तै कपन तेन्जिङ चोकबाट प्रेरणा राईको एक लाख ५५ हजार, जोरपाटीमा सुमित्रा अधिकारीको ६९ हजार रुपैयाँ लुटपाट गरेका थिए। 

मगरले वाफलबाट सिता श्रेष्ठको दुई तोला सुनको सिक्री, बुद्धनगरमा उर्मिला कंडेलको तीन तोला सिक्रि पनि लुटेको अनुसन्धानमा खुलेको डिएसपी थापाले जानकारी दिए।

मगर यसभन्दा अघि पनि पटक पटक जेल परेर छुटेका थिए। उनी २०६४ बैशाख ६ गते डाँका मुद्दामा, २०६५ जेठ ५ गते चोरी मुद्दामा, २०६८ असार २४ गते मोटरसाइकल चोरीमा, २०६९ साउन ३ गते चोरी घटनामा र २०७२ असार ७ गते चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए। उनी पछिल्लो पटक २६ लाख रुपैयाँ धरौटी बुझाई जेलबाट छुटेको एसएसपी खनालले जानकारी दिए।

‘अहिले उनलाई जबरजस्ती चोरी मुद्दामा कारबाही अघि बढाइएको छ,' एसएसपी खनालले भने। 

प्रहरीले मगरको कोठाबाट तीन लाख रुपैयाँ नगद, मन्दिरा अधिकारीको नामको लाइसेन्स, लुटपाटमा प्रयोग गर्ने मोटरसाइकल, एमकला भण्डारीको बैंकको चेक बुक, नागरिकता, चार वटा मोबाइल, लुटपाटमा प्रयोग गर्ने ज्याकेट र जुत्ताहरु बरामद गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.