|

दमक : गत शनिबार मृत्यु भएकी  गौरादहकी गोमा खनाल कोइरालाको मृत्यु रहस्यमय भन्दै प्रहरीमा दिएको जाहेरी लिन नमानेको भन्दै शुक्रबार आफन्त र छिमेकीले दमक इलाका प्रहरी कार्यालयमा धर्ना दिएका छन्।

गत शनिबार दिउँसो ४ बजे झुण्डिएको अवस्थामा फेला परेकी गोमाको पतिले नै हत्या गरेको आरोप लगाउँदै आफन्त र छिमेकीले प्रहरीमा जाहेरी दिन खोजेका थिए। तर प्रहरीले जाहेरी लिन नमानेपछि प्रहरी कार्यालय अगाडि नै धर्ना र नाराबाजी सुरु गरेका हुन्।  

शनिबार दिउँसो गोमाका पति श्रीप्रसाद कोइरालाले एक्कासी पत्नी बिरामी भएको र अस्पताल लानुपर्ने भन्दै छिमेकीलाई खबर गरेका थिए। उनले श्रीमती उचरक्तचापको विरामी भएको र आफै अचेत भएको भन्दै अस्पताल लान छिमेकीलाई सहयोग मागेको छिमेकी निर्मला अधिकारीले बताइन्।

अस्पतालमा घाँटीमा डोरीको दाग देखिएको उनले बताइन्। उनले भनिन्,‘उनको श्रीमानले नै हत्या गरेको हुन सक्छ, तर प्रहरीले अनुसन्धान गर्नै मान्दैन।’ श्रीप्रसाद र गोमाको सम्बन्ध पहिला देखिनै राम्रो नभएको उनका दाजु दीपक खनालले बताए। उनले भने, ‘ बहिनीको हत्या नै भएको देखिन्छ, तर प्रहरीले अनुसन्धानै गर्दैन।’ श्रीप्रसाद पूर्व प्रहरी जवान हुन्।

इलाका प्रहरी कार्यालय दमकले भने अनुसन्धानका क्रममा घटनाको प्रकृति हेर्दा आत्महत्या नै भएको भेटिएको बताएको छ। तर जाहेरी भने लिइसकेको इलाका प्रहरी कार्यालय दमकका मुद्धा फाँटका सई रेवत अधिकारीले बताए। उनले भने,‘ घटनाको प्रकृति र उनका श्रीमानको बयान हेर्दा गोमाले आत्माहत्यानै गरेको देखिन्छ, पोष्टमार्टम रिर्पोटले पनि यही देखाएको छ।’ उनले थपे,‘यस विषयमा हामी थप अनुसन्धान गर्छौ, उहाँहरुले विरोध र धर्ना दिन पाउनुहुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.