|

  • दिप्सन लुइटेल-

काठमाडौं : हामीमध्ये धेरैले हलमा गएर फिल्म त हेरेका छौं। फिल्ममा बिभिन्न पात्रहरु मार्फत एउटा कथा प्रस्तुत गरिन्छ। हलमा फिल्म हेरिसकेपछि दर्शकले त्यसमाथि राम्रो वा नराम्रो भनी सहज प्रतिक्रिया दिन सक्छन्। तर कुनै फिल्म कसरी निर्माण हुन्छ र हलसम्म कसरी पुग्छ भन्ने प्रक्रिया धेरैलाई थाहा नहुन सक्छ। फिल्ममा निर्माता, निर्देशक, कथाकार, कलाकार छायाकार लगायतको टिम सक्रिय हुन्छ। फिल्म निर्माणमा कसको भूमिका के हुन्छ त थाहा पाउनुस् : 

 १. लगानीकर्ता अर्थात निर्माता

फिल्म निर्माणका लागि सुरुमा एउटा कन्सेप्ट (कथा) आवश्यक पर्छ। कुनै कथामा फिल्म बनाउन कोही लगानीकर्ता तयार हुनुपर्छ। फिल्म बनाउदा लाग्ने सम्पूर्ण खर्चको जिम्मा लिन सक्ने ब्यक्ति नै लगानीकर्ता हो। फिल्म छयांकनअघि देखि हलमा पुर्‍याउँदासम्म लाग्ने सबै खर्च निर्माताले नै ब्यहोर्नुपर्छ। कलकार, निर्देशक लगायत सम्पूर्ण टिमलाई निर्माताले नै पारिश्रमिक दिनुपर्छ।     

'फिल्म निर्माणका लागि सर्वप्रथम त आफुसँग लगानी गर्न सक्ने आँट तथा क्षमता हुनुपर्दछ। म यो फिल्ममा लगानी गर्न सक्छु भन्ने भए मात्र फिल्म निर्माण कार्य सुरु हुन्छ' निर्माता छविराज ओझा भन्छन्। 

२. निर्देशक चयन

निर्माताले कुनै कन्सेप्टमा फिल्म बनाउन तयार भएपछि सबैभन्दा पहिले उसले निर्देशक चयन गर्छ। निर्माताको लगानी अनुसार कलाकार, गीत संगीत, छायाँकार लगायत चयन गरेर फिल्म युनिट चयन गर्ने र उनीहरुलाई आवश्यक निर्देशन दिने काम निर्देशकको हुन्छ। निर्देशकले नै कथावस्तुको आधारमा कुन जनराको फिल्म बनाउने भन्ने सल्लाह गरी खाका तयार गर्छ। त्यसै खाका अनुसार कथा लेख्न कथाकार चयन गरिन्छ। कथाकारले कथा निर्माण गरेपछि मात्र अरु कामहरु सुरु गरिन्छ।

निर्देशक तुलसी घिमिरे भन्छन् 'अनुभवी निर्माता भए त निर्देशकको काम 'एक्सन' 'कट' मात्रै हो। यदि नयाँ निर्माता भएको खण्डमा सबै जिम्मेवारी निर्देशकको हुन्छ। नयाँ निर्माताले फिल्म बनाउन चाहेमा अलि अनुभवी निर्देशक लिनुपर्छ।' 

निर्माता नयाँ भएमा उसलाई फिल्म निर्माणको ज्ञान नहुने भएकाले कलाकार, सङ्गीत, कथा, पटकथा, फिल्ममा बोलिने संवाद आदि सबै जिम्मेवारी निर्देशकको हुन्छ। फिल्ममा निर्देशक टिम लिडर नै हो। फिल्ममा के गर्ने, के नगर्ने भन्ने सबै उसैको जिम्मामा हुन्छ। फिल्म छायाङ्कनको दैनिक तालिका पनि उसले नै तयार पार्छ।  

तीन दशकदेखि फिल्म निर्माणमा सक्रिय निर्माता छबिराज ओझा भन्छन् 'निर्माताले पहिला राम्रो निर्देशक छान्नुपर्छ। निर्देशकको छनोटपछि निर्माता र निर्देशक बसेर फिल्मको कथा छनोट गर्नुपर्छ। त्पयसपछि लेखक, कलाकार लगायत एउटा परिपक्क टिम बनाउनु पर्छ। टिम बनिसकेपछि फिल्म विकास बोर्डमा दर्ता गराएर मात्रै छायांकन सुरु गर्नुपर्छ।' 

३. कथा सुहाउँदो नाम र कलाकार

निर्माता, निर्देशक तथा कथाकार बसेर तयार गरेको कथामा तीनैपक्षले छलफल गरेर उपयुक्त नाम राख्छन्। त्यसपछि फिल्मको कथालाई न्याय दिन सक्ने कलाकार छनोट गरिन्छ। कथालाई न्याय दिन सक्ने कलकार छान्ने जिम्मा पनि निर्माता र निर्देशकको नै हुन्छ। कलाकारसँगै सहायक निर्देशक, छायाँकार, सम्पादक, द्वन्द्व निर्देशक, नृत्य निर्देशक, स्पोर्ट म्यान, लाइट म्यान, श्रृङ्गार, भान्सा, यातायात लगायत समावेश हुन्छ। टिम बनिसके पछि फिल्मलाई चलचित्र विकास बोर्डमा दर्ता गराउनुपर्छ। 

४. विकास बोर्डमा नाम दर्ता 

फिल्मको टिम बनिसकेपछि छयांकन सुरु गर्नुअघि फिल्मलाई चलचित्र विकास बोर्डमा दर्ता गराउनुपर्छ। बोर्डमा दर्ता गर्नका लागि निश्चित रकम पनि तिर्नुपर्छ। विकास बोर्ड सदस्य उत्तम केसी भन्छन् 'चलचित्र विकास बोर्डमा फिल्म दर्ता गरेको शुल्क १३ हजार ५ सय रुपैयाँ लाग्छ। फिल्म दर्ता गर्दा एउटा फर्म भरेर बुझाउनुपर्छ।'

उनका अनुसार राष्ट्र र राष्ट्रियतामा आँच पुर्‍याउने खालको नाम राखिएको खण्डमा विकास बोर्डले उक्त नाम परिवर्तन गर्न लागाउँछ वा फिल्मलाई इजाजत दिइदैन। 'यदि नाम नदोहोरिएको र देशलाई अप्ठेरो नपर्ने नाम आए फिल्मलाई इजाजत सहित सेन्सर स्वीकृत दिन्छ' केसीले थपे।

५. गीत संगीत

फिल्मलाई विकास बोर्डमा दर्ता भएपछि त्यस फिल्म समावेश गरिने गीत सङ्गीत तिर ध्यान दिनुपर्छ। फिल्मको व्यापारमा पनि गीत सङ्गीतको ठूलो हात रहन्छ। 'फिल्म राम्रो बनाउन फिल्ममा राखिने गीत-सङ्गीत पनि राम्रो हुनुपर्छ। लगानी बचाउनको लागि पूर्ण रुपमा त्यस फिल्ममा लाग्नुपर्ने हुन्छ' निर्माता छविराज ओझा भन्छन्। फिल्ममा आइटम गीत राख्ने कि नराख्ने, कुन गीतकारलाई गीत लेख्न लगाउने, गायक गायिका को लिने, संगीतकार को लिने जस्ता विषय मुख्य त निर्माता र निर्देशकले नै चयन गर्छन्। 

६. छायांकन

फिल्मका लागि एउटा पूर्ण टिम तयार भएपछि छायांकन सुरु हुन्छ। छयांकन गर्ने स्थानमा छनोट पनि फिल्मका लागि महत्वपूर्ण मानिन्छ। अहिले नेपालका धेरै फिल्महरुले छायांकन स्थललाई महत्व दिने गरेका छन्। फिल्मको कथावस्तु अनुसारको जनजीवन खोज्दै बिभिन्न ग्रामीण क्षेत्रदेखि युरोपसम्म पनि छायांकन गर्न जाने गरिएको छ। छयांकारले फिल्म खिचेको ठाउँमा कलाकार, निर्देशक, स्पोर्ट म्यान, लाइट म्यान, श्रृङ्गार आदि महत्वपूर्ण हुन्। उनीहरुको अभावमा छयांकन नहुन सक्छ।

फिल्मको छायाङ्कनको बारेमा 'जात्रा' निर्देशक प्रदीप भट्टराई भन्छन् 'जब फिल्म विकास बोर्डमा दर्ता हुन्छ त्यसपछि छायाङ्कनमा जान्छ। फिल्म पूर्ण रुपमा छायाङ्कन हुन टिममा कलाकार, निर्देशक, सहायक निर्देशक, निर्माता, कथाकार, छायाँकार, द्वन्द्व निर्देशक, नृत्य निर्देशक, स्पोर्ट म्यान, लाइट म्यान, श्रृङ्गार, भान्सा, यातायात लगायत ठुलो टिम चाहिन्छ।' 

७. पोस्ट प्रोडक्सन र सेन्सर

छायाङ्कन सकिएपछि पोस्ट प्रोडक्सनका कामहरु हुन्छन्। डबिङदेखि सम्पादनसम्मका कामहरु यसमा पर्छन्। छायाँकारले खिचेको फिल्ममा भएका अनावश्यक दृश्य हटाउने, एनिमेसन मार्फत बिभिन्न कृत्रिम दृश्य राख्ने र अडियो मिक्सिङ लगायतका कामहरु यस चरणमा पर्छन्।  

फिल्म तयार भइसकेपछि एक पटक चलचित्र विकास बोर्ड अन्तर्गतको सेन्सर बोर्डमा देखाउनुपर्छ। सेन्सर बोर्डले फिल्ममा भएका दृश्य र संवादको अध्ययन गरी ती दृश्यहरु अश्लिल नभएको, राष्ट्र र राष्ट्रियतामा आँच पुर्‍याउने किसिमको नभएको आदि देखिएमा स्वीकृत गर्छ। यदि त्यस्ता दृश्य भएमा सेन्सर बोर्डले हटाउन लगाउँछ। कतिपय फिल्मलाई भने वयस्कले मात्र हेर्न मिल्ने गरी पनि एडल्ट सर्टिफिकेट दिन्छ।

८. हलसम्म पुग्ने बाटो

फिल्म निर्माणको काम पूर्ण रुपमा सकिएपछि हलसम्म पुर्‍याउने काम वितरकहरुले गर्छन्। फिल्म युनिट र वितरक मिलेर फिल्मलाई कुन मितिमा हलमा लैजादा राम्रो हुन्छ भनेर सल्लाह गर्छन् र उपयुक्त समय पारेर रिलिजको मिति तोक्छन्। तोकिएको मितिमा फिल्म हलमा प्रदर्शनका लागि वितरकले हलमालिकसँग पनि सहमति गर्छ। 

फिल्म वितरक गोपालकाजी कायस्थ भन्छन् 'वितरकको काम त पुलको जस्तै हो, निर्माण युनिट र हलवालालाई मिलाइदिने।' वितरकले जति हल मिलाउन सक्यो उतिनै फिल्म निर्माण युनिटलाई फाइदा हुने र फिल्मको व्यापारमा फाइदा हुने भएकाले फिल्म सञ्चालनमा वितरकको मुख्य हात हुन्छ। फिल्म हलसम्म पुर्‍याएबापत फिल्मको क्रेज, लगानी, निर्माण युनिट आदिलाई ध्यानमा राखेर रकम लिने गरेको कायस्थ बताउँछन्। निर्माण युनिटले सिधै हलसम्म फिल्म लान नपाउने नियम भएको पनि उनले बताए।

फिल्म निर्माण गर्न सजिलो पक्कै छैन। यसका लागि बिभिन्न चरणमा बिभिन्न समस्याहरु भोग्नुपर्छ। फिल्म क्षेत्रमा आउन चाहने व्यक्तिहरुले यस क्षेत्र सम्बन्धी केही ज्ञान हासिल गरेर आए राम्रो हुन्छ। पैसा छ भन्दैमा फिल्म क्षेत्रमा लगानी गर्दा लगानी सहित आफ्नो भविष्य पनि जोखिममा पर्न सक्छ। त्यसैले फिल्म क्षेत्रमा आउन पूर्व केही मात्रमा भए पनि यस क्षेत्रको अध्ययन गरेर आउन फिल्मकर्मीको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.