|

सेवा ही परमो धर्म!

निकै ठूलो समाजसेवीका रूपमा परिचित छ ऊ। उमेरको आधा समय समाजसेवामै समर्पित गरेको छ उसले। घर, परिवार, सन्तानको चाहना भएन उसलाई अथवा त्यसको लोभ देखाएन। समाजको हित, मानिसहरूको सेवा, उसले जानेको यत्ति हो।

निकै समय बिताइसकेको छ उसले समाजसेवामा। त्यही भएर सबैले चिन्दछन् उसलाई। सम्मान गर्छन्- निस्वार्थ समाजसेवीका रूपमा।

त्यसो त निकै धेरै काम भएका छन् गाउँमा- उसको अग्रसरतामा। निकै राम्रा योजनाहरू ल्याउँछ उसले। प्रायः मान्छेहरू समर्थन गरिहाल्छन्, किनभने उसका योजनाहरू समाजका लागि आवश्यक हुन्छन्।

कहिले बाटो बनाउने, कहिले अस्पत्ताल, कहिले क्याम्पसको आवश्यकताबारे दत्तचित्त भएर लागिरहेको हुन्छ ऊ। देश नै पूरै भ्रष्टाचारको दलदलमा फसिरहेका बेला कम्तीमा एउटा भए पनि निस्वार्थी र इमानदार व्यक्ति पाएको छ, यस गाउँले। गाउँलेहरू गौरवान्वित छन् ऊदेखि।

त्यसो त निकै धेरै काम भएका छन् गाउँमा- उसको अग्रसरतामा। निकै राम्रा योजनाहरू ल्याउँछ उसले। प्रायः मान्छेहरू समर्थन गरिहाल्छन्, किनभने उसका योजनाहरू समाजका लागि आवश्यक हुन्छन्।

गाउँलेहरूलाई विश्वास छ, ऊ यस गाउँको देवदूत हो। देशका नेता, मन्त्रीले गर्न नसकेका कामहरू पनि उसले सजिलै गर्न सक्छ। भर्खरै ६ किलोमिटर कच्ची बाटोलाई कालोपत्रे गर्न दातासँग पैसा मिलाएको छ रे! अस्पत्ताल बनाउन र क्याम्पस खोल्न पनि पैसा जुटाएको छ रे! गाउँघरमा कसैलाई अप्ठेरो परेमा उसकहाँ पुग्नेबित्तिकै केही न केही राहत महसुस भइहाल्छ अनि कसरी नमानुन् उसका कुरा!

सामान्य छ जीवनशैली। रूखा र रिस उठ्दा कुरा गर्नु छैन उसले। कसैप्रति वैरभाव राखेको थाहा छैन।

'विवाह गरेर घरजम गर्नुपर्छ अब', गाउँले र साथीभाइको सल्लाह हाँसेर उडाइदिन्छ, 'म परिवारमै त छु नि!, तपाईंहरू नै मेरो परिवार हो, यो गाउँ सबै मेरो घर हो।'

'त्यो त भावनात्मक कुरा भयो', गाउँलेहरू सम्झाउँछन्, 'व्यावहारिक जीवन अझ रमाइलो हुन्छ।'

ऊ मान्दैन गाउँलेका तर्क। लाग्छ, उसले आफ्नो जीवन नै समाजसेवामा समर्पित गर्ने सोचेको छ।भन्छ, 'सेवा ही परमो धर्म!'

एकदिन उसलाई सम्मान गरिन्छ- उत्कृष्ट समाजसेवीका रूपमा। निकै धेरै मानिसको उपस्थिति देखिन्छ। हरेक तह, तप्का र क्षेत्रका विशिष्ट व्यक्तित्वहरू देखिन्छन् कार्यक्रममा। उद्‍घोषक भन्दै हुन्छ,

'देशमा दिनानुदिन भ्रष्टाचार बढिरहेको छ, देश बनाउँछु भन्नेहरू भ्रष्टाचारको आरोपमा जेल परिरहेका छन्। हामीमाझ यस्ता निस्वार्थी समाजसेवी पनि हुनुहुन्छ, जसले कहिल्यै व्यक्तिगत लाभको बारेमा सोच्नुभएन, जे जति गर्नुभयो सबै समाज र हाम्रा लागि गर्नुभयो', ऊ भनिरहन्छ, 'आफू अविवाहित रहनुभयो, सबैलाई परिवारका सदस्य ठान्नुभयो। यस्ता व्यक्तित्वका धनी श्री सेवकराम ज्यूलाई आज हामी सम्मान गर्दै छौँ।'

सेवकराम सम्मान ग्रहण गर्छ, मुसुक्क हाँस्छ र सहरमा रहेको पाँचतले घर अनि श्रीमती र दुई छोराछोरी सम्झन्छ र भन्छ, 'सेवा ही परमो धर्म!'

000

विद्रोह

कथा जस्तो लाग्छ। एकादेशको कथा।

'छिः यस्तो पनि हुन्छ मान्छेको जिन्दगी!’, निक्कै चिढिन्छे ऊ, 'मान्छे, रूपमा मात्र मान्छे छन् यहाँ। विवेकशून्य छन् यहाँका मान्छेहरू।’

लाग्छ, भत्काइदिऊँ यी सारा पर्खालहरू, जो ठडिएका छन्, मान्छे-मान्छेका बीचमा। तर कसरी गरोस् आँट? जबकि समाजमा उसको मूल्य कत्ति पनि छैन। कसले गरोस् सहयोग, कसले देओस् भरोसा?

श्रीमान मीनबहादुर द्वन्द्वको सिकार भएयता ऊ बन्दी जीवन बिताइरहेकी छे, जेलमा होइन, घरमा। २२ वर्षको श्रीमान मीनबहादुरलाई सुराकीको आरोपमा हत्या गरियो, २०५९ सालको पुस महिनामा। जम्मा १८ वर्षकी मात्र थिई शारदा त्यसबेला। सानैमा विवाह गरिदिने चलनअनुसार नै बालविवाहको सिकार बनी ऊ। विवाहको एक वर्षपछि जन्मिई, छोरी गरिमा। त्यसको एक वर्षपछि मारियो श्रीमान् मीनबहादुर।

ओहो, कसरी बित्ला जिन्दगी? कसरी हुर्काउली वर्षदिनकी टुहुरी गरिमा?

समयले गर्छ गर्ने कुरा, मान्छेको कुनै हात हुन्न। न यो सृष्टि मान्छेले बनायो, न विनास मान्छेले गर्छ। हो, विनासका लागि सहयोग गर्न सक्छ मान्छेले। तर सृष्टिको सुरुवात र अन्त्य त समयकै हातमा मात्र छ।

श्रीमान् बितेको ५ वर्ष पूरा भएछ। श्रीमान् बितेको भन्दा ज्यादा पीडा उसलाई घरमा बस्नुमा छ, कारण, घर घर होइन, जेल हो, घर नामको।

समय बाइसौँ शताब्दीमा प्रवेश गर्ने तरखरमा छ। विज्ञानको विकासले संसारलाई सानो गाउँमा रूपान्तरण गरिसकेको छ। धेरै पुरातन मूल्य र मान्यतामा परिष्कार आइसकेको छ, कति त्यागिइसकेका छन्। तर यो ठाउँमा वैज्ञानिक दुनियाँको कुनै प्रभाव छैन होइन, टीभी छ, रेडियो छन् केही थान, एफएम स्टेशनहरू, दैनिक झन्डै एक दर्जन अखबार प्रकाशन हुन्छन्। मोबाइल हरेकजसोका हातमा छ। इन्टरनेटको पहुँच पनि नभएको होइन, तर प्रयोगकर्ता कम छन्।

बेलाबेला अत्यन्तै विद्रोही बन्न थाली, लाग्यो, काली बन्दै छे ऊ। समाज महिषासुरहरू पालेर बसेको छ। महिषासुरहरूको पूजा गर्छ समाज। उसलाई बोध भयो, अब महिषासुरहरूको अन्त्य गर्नुपर्छ।

शिक्षाको स्तर बढेको छ, सरकारी रिपोर्टमा प्रष्ट देखिन्छ। एनजीओ र आईएनजीओका साइनबोर्डहरू हरेक घरमा जसो टाँगिएका देखिन्छन्। महिला विकास समाज, समाज सुधार समिति, उत्प्रेरक समाज नेपाल, समता, लैङ्गिक समानताका लागि ऐक्यवद्धता आदि इत्यादि।

महिला हितका यतिका संस्थाहरू हुँदा पनि कसैले पनि उसको समस्या बुझ्न आएका छैनन्। सोधेका पनि छैनन्। ऊ आफैँ भन्न जाओस्, कसरी? जबकि ऊ जेलमा छे, घर नामको।

त्यहाँको समाज कहिल्यै परिवर्तन हुन सकेन, वर्षौंदेखि। अझै उस्तै छ चलन, छाउपडीका नाममा, देउकीका नाममा, विधवाका नाममा उत्तिकै सास्ती भोगिरहेका छन्, महिलाहरू। उसले पनि भोग्दै आएकी छे यस्ता सास्ती, बच्चैदेखि। महिला भएर जन्मिनुको दुर्गति राम्ररी भोगेकी छे, उसले।

श्रीमान मारिएदेखि सेतो वस्त्र छाडेकी छैन, तर किन लगाइरहनुपरेको हो, थाहा छैन। लसुन, प्याज र माछा-मासु बर्जित छ उसलाई। खाऊँ लागे पनि दिँदैन समाज। पूजा, आजा शुभकार्यमा नगएकी पनि आधा दशक भइसक्यो। अपशकुन हुन्छ ऊ जाँदा, समाज यसै भन्छ। हो, यसै कारण बन्दी छे ऊ घरमा, घर नामक जेलमा।

सुनेकी थिई, देवी पनि महिला हो, काली पनि। बिस्तारै उसको शरीरमा देवी प्रवेश गरेको अनुभव गर्न थाली। बेलाबेला अत्यन्तै विद्रोही बन्न थाली, लाग्यो, काली बन्दै छे ऊ। समाज महिषासुरहरू पालेर बसेको छ। महिषासुरहरूको पूजा गर्छ समाज। उसलाई बोध भयो, अब महिषासुरहरूको अन्त्य गर्नुपर्छ।

सम्झी, आखिर यो समाजका सबै महिषासुर हुन्, दानव हुन्। ऊ चिच्याई, 'म काली हुँ, काली।’

सिकुवामा बसिरहेका परिवारका सदस्यहरू झस्किए।

'काली हुँ म, बुझ्यौ? म काली हुँ।’, झन् झन् ठूलो स्वरमा कराउन थाली ऊ, 'म महिषासुरहरूको बध गर्न जन्मेकी हुँ।’

के भयो बुहारीलाई? किन अचानक चिच्याउँछे यसरी? सासू-ससुरा र परिवारका सदस्य चकित पर्छन्।

'यो समाजका सारा दानवहरूको अन्त्य गरिदिन्छु, मारिदिन्छु’, ऊ कराइरहन्छे।

धामीझाँक्री लगाउने सल्लाह भयो। शारदा झन् झन् उग्र हुँदै गई। चण्डी हुँ भन्छे कैले, कैले काली हुँ भन्छे।

'बहुलाइछ क्यारे!’, यसै भने परिवारका सदस्यले।

'यी सब पागल हुन्, दानव हुन्’, ऊ भन्दै थिई।

एकाएक हराई शारदा। बित्यास! कहाँ गई ऊ? के गर्दै छे? कतै बिजाइँ पो गर्छे कि! परिवारमा निकै ठूलो समस्या आइपर्‍यो, शारदा हराएपछि।

उपचारका लागि धेरै ठाउँमा लगियो, अहँ, निको भएन उसलाई। हार बन्यो परिवार।

एकाएक हराई शारदा। बित्यास! कहाँ गई ऊ? के गर्दै छे? कतै बिजाइँ पो गर्छे कि! परिवारमा निकै ठूलो समस्या आइपर्‍यो, शारदा हराएपछि।

खोजी गरियो, प्रहरीमा हुलिया दिइयो। अहँ, अत्तोपत्तो भएन। कसरी पत्ता लागोस्, हुलिया नै गलत थियो, कसरी? (बिस्तारै खुल्नेछ)

पाँच वर्ष बितिसकेछ शारदा हराएको। महिला ओसारपसार, बिक्रीका समाचार निकै आउँछन् अचेल, अखबारमा। कतै कुनै फटाहाले बम्बईका कोठीमा पो पुर्‍यायो कि! निक्कै त्रसित छ परिवार।

सुनिँदै छ, महिला हकहितका निम्तिका कार्यरत एउटा संस्था छ, राजधानीमा। यस संस्थाले समाजमा अपहेलित, पीडित र एकल महिलाका बारेमा महत्त्वपूर्ण कार्यहरू गर्दै आएको छ। एकपटक उक्त संस्थासँग सहयोग माग्ने सल्लाह दियो कसैले। परिवारका सदस्य राजी भए। संस्थाको चर्चा निकै रहेछ।

महिला हकहितका निम्ति अत्यन्तै महत्त्वपूर्ण योगदान गरेवापत सो संस्था र संस्थाका अध्यक्षलाई राज्यले पुरस्कृत गर्ने कार्यक्रम रहेछ। निकै भव्य र सभ्य कार्यक्रममा पुरस्कृत हुँदै थिई, सरस्वती। सरस्वती बम। भोलिपल्ट पत्रपत्रिकामा छापियो, 'महिलाअधिकारका लागि क्रियाशील सरस्वती बम राज्यबाट पुरस्कृत।' टीभीमा प्रसारण भयो उनको तस्वीर।

गाउँले भन्दै थिए, 'शारदा त सरस्वती भइछ।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.