|

इलाम :  झापामा जारी हाम्रो पुर्वाञ्चल गोल्डकपको उपाधिका लागि विभागिय टोली त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेड भिडदैछन्। 

  विर्तामोडको डोमलाल रंगशालामा आज यी दुई टोली पहिलो पटक उपाधिको लागि आमने सामने हुन लागेका हुन्। आफ्नो पहिलो खेलमा पाहुना टोली भारतको मोलवे एफसी असामलाई २–० गोलले पराजित गरेको आर्मीले सेमिफाइनलमा भारतकै आक्रमण एफसी सिक्किममा पराजित गरेको थियो। आर्मीले सिक्किमसँग निर्धारित समय गोलरहित बराबरी खेलेर टाइब्रेकरमा कठिन जीत निकालेर फाइनल यात्रा तय गरेको टोली हो। 

राम्रो टिमलाई पराजित गरेर आएपछि आर्मीका खेलाडीको मनोबल उच्च रहेको प्रशिक्षक नबिन न्यौपानले बताए। फाइनल खेलमा आफ्ना नयाँ खेलाडीको अनुभव नभएकाले यसअघि गरिएको गल्ती सच्याएर उपाधि रक्षा गर्ने उनको दाबी छ। स्ट्राइकरको कमी र फिनिसिङ हुन नसकेको कमजोरी स्वीकार्दै उनले भने, ‘हाम्रा मिस्टेक सुधारेर ९० मिनेटभित्रै नतिजा आफ्नो पक्षमा पार्ने दाउ छ।’ नियमित खेलाडी राष्ट्रिय टोलीको क्याम्पमा, साग र यु १९ मा रहेको बताउँदै चर्च ब्वाइजको कमजोरीको फाइदा उठाएर जीत निकाल्ने दाबी गरेका छन्। 

राम्रो टिमलाई पराजित गरेर फाइनलमा आएको चर्च ब्वाइजलाई कम आँक्न नमिल्ने बताएका उनले युवा खेलाडीले भरिएको चर्च ब्वाइजको सट पास खेल्ने कलालाई मार्क गरेको बताए।  आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले चर्च ब्वाइजको प्लानिङलाई ब्रेक गरेर सिजनको पहिलो उपाधि रक्षा गर्ने रणनीतिका साथ मैदान उत्रने सुनाए। आर्मीले यस रंगशालामा तीन पटक झापा गोल्डकपको उपाधि जितिसकेको छ भने यो चौथो पटक फाइनल भिडन्त हो।

यसैगरी चर्च ब्वाइजका प्रशिक्षक रुवेन राईले नेपालकै राम्रो टिम आर्मीसँग फाइनल खेल्न पाउनु ठुलै अवसरका रुपमा लिएको बताए। उनले भने, ‘यो संयोगमात्र होइन, दुर्लभ भेट पनि हो।’ आर्मीका नियमित तथा सिनियर खेलाडीको अभावले चर्च ब्वाइजले अवसरको रुपमा नलिने बताएका उनले आर्मीको खेलअनुसार रणनीति बनाउने सुनाए। खेलमा हार जीत स्वाभाविक ठानेका उनले ९० मिनेटभित्र जसले मिहेनत गर्छ उसैले उपाधि उचाल्ने पनि बताए।

राष्ट्रिय लीगको सी डिभिजनमा भर्खरै उक्लिएको चर्च ब्वाइज फाइनल जीतका लागि शतप्रतिशत मिहेनत गर्ने दाबी उनको छ। चर्च ब्वाइजले अर्को विभागी टोली नेपाल पुलिस क्लबलाई सेमिफाइनलमा १–० गोलले पाखा लगाउँदै फाइनल यात्रा तय गरेको थियो भने पहिलो खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटबललाई टाइब्रेकरमा पराजित गरेको थियो। जायोन स्पोर्टस् क्लब बिर्तामोडले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार र उपविजेता टोलीले ६ लाख २५ हजार पाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.