|

मुगु : जिल्लाको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका ४ किम्रीका १९ घरधुरी अग्निपीडितलाई नयाँ घर हस्तान्तरण गरिएको छ। 

५३ घरधुरीमध्ये एक वर्षदेखि त्रिपालमा बस्दै आएका अग्निपीडित १९ परिवारलाई व्याक टुलाई इभिको आर्थिक सहयोगमा मानवअधिकार तथा वातवरण विकास केन्द्र (हिरेन्डेक) काे साझेदारमा घर बनाई हस्तान्तण गरिएको हो।

किम्री गाउँमा अघिल्लो वर्ष बैशाख २० गते  भएको आगलागीबाट १९ घर अन्नबाली र धनसम्पति पूर्णरुपले क्षति भएको थियो। एक वर्षसम्म खुल्ला आकासमुनि त्रिपालमा हिउँद-वर्षा कष्टकर जीवन बिताउँदै आएका १९ घरधुरी अग्निपीडतलाई नयाँ निर्मित घर हस्तान्तरण गरिएको हो।

वडाअध्यक्ष छिरिङ टासी लामाको घरबाट सल्केको आगोले १९ घरधुरीमा पूर्णरुपले क्षति पुर्‍याएकाे थियो। उनीहरूको नयाँघर निर्माण गर्ने जिम्मा हिरेन्डेकले जिम्मा लिएको थियो।

आगलागीमा परेका १९ घरधुरीका लागि प्रतिघर ६ लाखका दरले एक करोड २२ लाख ५५ हजारमा शौचालयसहित ढुंगा काठद्वारा निर्मित १९ घर हस्तान्तरण गरिएको हिरेन्डेक नेपालका अध्यक्ष राजु कार्कीले जानकारी दिए।

गएको मंसिर २६ गतेबाट घर निर्माण कार्य शुरु गरिएको थियो। ती घरहरू छ महिनामा निर्माण गरी पीडितलाई हस्तान्तरण गर्ने लक्ष्य भए पनि हिमपात र स्थानीयहरू जडिबुटी तथा यार्सा संकलनमा गएकाले घर निर्माणमा ढिलाई भएको हो। 

एक वर्षमा घर र शौचालय  निर्माण गरेर सबै पीडितले नयाँ घर पाएको मुगुम कार्मारोङ्ग गाउँपालिका ४ का वडा अध्यक्ष टासी लामाले बताए। गाउँमा अग्नि पीडितले घर पाएका भए पनि पूरै गाउँलाई खानेपानीको समस्या रहेको छ।

स्थानीयको घर हस्तान्तरणमा कार्यक्रममा पुगेका प्रदेश सांसद दानसिंह परियारलाई प्रदेश सरकारले गाउँमा खानेपानीको व्यवस्था गरिदिन आग्रह गरेका छन्।सांसद परियाले गाउँको खानेपानीको समस्या आफूले  समाधान गर्ने गाउँलेलाई प्रतिवद्धता समेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.