|

काठमाडौं : नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा राखेपछि आलोचित भएको भारतले पुरानै अडान दोहोर्‍याएको छ। 

जम्मु-कश्मीर र लद्दाखलाई अलग गरेपछि जारी गरिएको नक्सामा भारतले नेपालको ३७ हजार हेक्टर भन्दा धेरै भूमि आफ्नोतर्फ राखेपछि आलोचना भएको थियो। 

भारतीय विदेश प्रवक्ता रभिस कुमारले गत कात्तिक २१ मा आफ्नो नक्सामा नेपालको भूमि नराखेको स्पष्टीकरण दिएका थिए। उनले त्यसबेला नेपालसँग जोडिएको नक्सा हेरफेर नभएको बताएका थिए।

तर, बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पनि उनले त्यही कुरा दोहो¥याएका छन्। ‘हाम्रो नयाँ नक्साबारे हामी पुरानै अडानमा यथावत छौँ’, उनले भने, ‘त्यसमा केही हेरफेर भएको छैन।’

विदेश प्रवक्ता रभिस कुमारले नेपालले उठाएको प्रश्नबारेमा वार्ता प्रयास भने भइरहेको बताएका छन्। ‘यसबारेमा हामीबीचको विदेश सचिवस्तरीय संयन्त्रले पनि काम गरिरहेकेको छ,’ उनले भने, ‘हामी वार्ताको प्रयासमा छौँ, चाँडै वार्ता हुने विश्वास हामीले लिएका छौँ।’
उनले कात्तिक २१ मा पनि भारतको नयाँ नक्साले उसको सम्प्रभुतालाई देखाउने जिकिर गरेका थिए। 

‘नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि या हेरफेर गरिएको छैन’, उनले त्यो बेला भनेका थिए, ‘नेपालसँग सिमानामा अहिलेकै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन।’

भारतले नेपालको ठूलो भूमि आफ्नो नक्सामा राखेपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना गरेका थिए। उनले मंसिर १ गते राष्ट्रिय युवा संघको कार्यक्रममा कालापानीबाट भारतीय सेना फिर्ता जानुपर्ने स्पष्ट अडान लिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.