|

सोलुखुम्बु :  जिल्लाको विभिन्न महत्वपुर्ण क्षेत्रमा रहेको लाखौ रोपनी सरकारी जग्गा निजिकरण गरिएको छ। करौडौ मुल्य पर्ने सरकारी नामको जग्गा व्यक्तिको नाममा दर्ता गर्न नेपाली काग्रेसका जिल्ला स्तरका नेता तथा समाजका प्रतिष्ठीत व्यक्तिनै लागि परेको तथ्य बाहिरएको छ।

विभिन्न क्षेत्रका सार्वजानिक जग्गा निजिकरण गर्नेविरुद्ध बुधबार उजुरी समेत दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले अधिकार प्रत्यायोजन गरेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सरकारी कर्मचारीलाई समेत प्रभावीत पारी सार्वजानिक जग्गा निजिकरण गरेको प्रमाणसहित उजुरी दर्ता गरिएको हो।

साविक जुभिङ गा.वि.स वडा ५ को पर्यटकीय रुटमा पर्ने नेपाल सरकारको नाममा रहेको कित्ता नम्बर ५७९, को २ लाख ९८ हजार २ सय ३० वर्गमिटर, कित्ता नम्बर ५८१ को ३ लाख ९८ हजार ५ सय ६० वर्गमिटर जंगललाई स्थानीय बुधमाया थापामगरको नाममा कित्ताकाट गरि दर्ता गरिएको संलग्न प्रमाणमा उल्लेख गरिएको छ। २०५८ साल श्रावण ३१ गते कित्ता नम्बर ५ सय ७९ कित्ताकाट हुँदा ६ सय २० नयाँ कित्ता कायम भई ३१ सय वर्गमिटर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको जिल्ला नापी कार्यालयको फिल्डबुकमा उल्लेख गरिएको छ।

यस्तै सोही मितिमा कित्ता नम्बर ५८१ बाट कित्ताकाट भई २५ सय वर्गमिटर जग्गा बुधमाया थापामगरकै नाममा दर्ता गरिएको छ।  २०७१ साल कात्तिक ७ गतेका दिन उक्त जग्गा कित्ताकाट गरि विभिन्न व्यक्तिलाई बिक्री समेत गरिएको छ। करिब २ करोड मुल्यको उक्त जग्गा प्रकरणमा बुधमाया थापामगर, प्रेमबहादुर थापामागर र रामकृष्ण थापामगर समेतको नाम जोडिएको छ। प्रेमबहादुर थापामगर नेपाली काग्रेसका जिल्ला नेता हुन्।

यस्तै साविक चौरीखर्क गा.वि.स वडा नम्बर ८ स्थीत तेञ्जिङ हिलारी विमानस्थल नजिकैको ४१९ कित्ता नम्बरको जग्गा समेत निजिकरण गरिएको छ। निवेदनमा उल्लेख भएअनुसार ७६५७. ५ बर्गमिटरको बिरह ढडेन साविक सोताङ ३ घर भई हाल चौरीखर्क ८ बस्ने सुबोध नेपाली र मनमाया नेपालीको नाममा दर्ता गरिएको छ।

नापी कार्यालयको तथ्याङ्क अनुसार २०६९ साल मंसिर १८ गते कित्ताकाट गरि सुबोध नेपालीको नाममा कित्तानम्बर ८३३ कायम गरि १०४७.४८ वर्गमिटर जग्गा दर्ता गरिएको छ भने ८३४ कित्तानम्बर कायम गरि ६६२० वर्गमिटरको जग्गा कृष्णबहादुर नेपालीको श्रीमती मनमाया नेपालीको नाममा दर्ता गरिएको छ। सूचनाकर्ता बीरउदास श्रेष्ठले निवेदनमा उल्लेख गरेअनुसार उक्त जग्गाको मुल्य करिब ३ करोड रहेको छ।

यस्तै साविक चौरीखर्क १ स्थित नेपाल सरकारको नाममा रहेको कित्ता नम्बर ११६ को ८ लाख ३० हजार ८ सय ५० बर्गमिटरको जंगल समेत निजिकरण गरेको पाइएको छ । साविक चौरीखर्क २ बस्ने दावा नुर्वु शेर्पाले २०७० साल साउन १८ गते तीन वटा कित्ता ४५९, ४६०, र ४६१ मा क्षेत्रफल क्रमश ४ हजार १५०, १४१०० र १५५३० वर्गमिटरको जग्गा दर्ता गरेको जिल्ला नापी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। अन्दाजी ४ करोड पर्ने उक्त जग्गा सरकारी कर्मचारीले समेत पदको दुरुपयोग गरि निजिकरण गरेको भन्दै छानबीन गरि कानुन अनुसार कार्वाही गर्न सूचना कर्ता बीरउदास श्रेष्ठले अख्तियार समक्ष माग गरेका छन्।

जिल्लाका तीनै जना सांसद र सञ्चारमाध्यमलाई समेत बोधार्थ दिईएको उक्त निवेदन बुधबारनै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले जानकारी दिए। उनले निवेदन दर्ता भएको भन्दै छानबीन गरि कार्वाही प्रक्रिया अगाडी बढाउने बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भाग ४ को सुचना १ बमोजीम प्रमुख जिल्ला अधिकारीको कार्यक्षेत्रभित्र पर्ने भएकाले उक्त उजुरी दर्ता गरिएको सुचनाकर्ता श्रेष्ठले बताए। सोलुखुम्बु जिल्लासहित ४ जिल्लाको अख्तियार हेर्ने सम्पुर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.